Shittalpati
वि.पि.को स्मरण औपचारिकमै सिमित

प्रजातान्त्रिक आन्दोलनका अग्रणी विचारक वि.पि. कोइरालाको ४३ औं स्मृति दिवस मंगलबार देशभर मनाइएको छ । नेपाली काँग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरी दिवस मनाएका छन् । नेपाली राजनीतिमा महत्वपूर्ण योगदान दिने, प्रजातन्त्र, राष्ट्रियता र समाजवादका चिन्तक बहुआयामिक व्यक्तित्व वि.पि.को विचार आजपर्यन्त उत्तिकै महत्वपूर्ण छ । कोइरालाको नामबाटै शुरु हुन्छ नेपाली राजनीतिको परिवर्तनको चरण । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन संघर्ष गरेका दूरदर्शी नेता कोइरालाको विसं २०३९ साल साउन ६ गते निधन भएको थियो । प्रत्येक वर्षको साउन ६ गतेलाई वि.पि स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन छ । उनको आदर्श, नैतिक मूल्यमान्यता र निष्ठाको राजनीति गर्दै आएको काँंग्रेसले अहिले त्यो बाटो छोड्दै गएको होकि भन्ने अनुभूति भएको छ । आफ्नो सम्पूर्ण जीवनकाल प्रजातन्त्रको लडाइँमा समर्पित गरेका वि.पि २०१५ सालको संसदीय आमनिर्वाचनमा दुईतिहाई भन्दा बढी मतले विजयी भएपछि जननिर्वाचित पहिलो प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गरेका थिए । तर विडम्बना, आफूलाई जनताको सेवक ठान्ने वि.पिको समाजवादको आदर्श चिन्तनलाई मुलुकमा प्रजातन्त्र आएको लामो समय हुँदासम्म पनि नेपाली काँग्रेसले साकार पार्न सकेको छैन ।

कोइरालाको स्मृति दिवस औपचारिकताका रुपमा मात्र मनाइँदै आइएको छ । यसो हुनु दुखद् हो ।  स्मृतिमा एकदिन हार्दिक श्रद्धाञ्जली अर्पण गर्नासाथ विचार र योगदानको सम्मान ठहर्दैन । वि.पि. विचारको अन्तिम निष्कर्ष हो– मानिस ठूलो बन्न नखोज, असल बन । ठूलो बन्ने चाहनाले हिंसा, परपीडन, युद्व, संघर्ष, विभेद, विभाजन आदिलाई मलजल गर्छ । असलपन चरित्र हो, व्यवहार हो । मोदी आइनमार्फत वि.पि.ले दिएको सन्देश जसलाई मानवीय संवेदनाको अन्तरप्रेरक तत्व मान्न सकिन्छ । यो यथार्थमा कुनै विचार होइन । यसर्थ वि.पि.ले नेपाली राजनीतिक र साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर, सम्मान गर्दै अनुशरण गर्न सके मात्र दिवस मनाउनुको सार्थकता रहन सक्छ । अन्यथा यो औपचारिकतामै सिमित बन्दै जाने छ ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update