Shittalpati
राजनीतिलाई अस्थिर बनाउने खेल नखेलौं

दलहरू जनतासँगको सम्बन्ध सुधार्नुको सट्टा सरकार फेरबदलमा व्यस्त र सत्तामा लिप्रुत छन् । नेपाली जनताको चाहना र देशको आवश्यकता यो होइन तर राजनीतिक दलहरुले जवरजस्त राजनीतिक अस्थिरताको बाटो हिडाएका छन् । देश र जनतानले अहिले राजनीतिक स्थिरता खोजेका छन् । तर त्यसो हुन सकिरहेको छैन । राजनीति स्थिरताले नै आर्थिक उन्नयन, दिगो विकास र अमनचैनको ढोका खोल्छ । तर, त्यो चाहना अधुरै रहँदै आएको छ ।

अहिले फेरी वर्तमान गठबन्धन भत्काएर सरकार ढलाउने  हल्ला राजनीति वृत्तमा सुन्न थालिएको छ । यो अत्यन्त विडम्वनाको कुरा हो । बारम्बार सरकार ढाल्ने, सत्तासीन गठबन्धन भत्काउने र विकल्पको हल्ला फैलाउने प्रवृत्तिले मुलुकमा न त स्थिरता दिन सक्छ, न विकास र सुशासन सुनिश्चित हुन्छ । त्यसैले अहिलेको मूल आवश्यकता स्थिर, जवाफदेही र परिणाममुखी सरकार हो, न कि पुनः अस्थिरताको दलदल । त्यसैले सरकार ढालेर मुलुकलाई अस्थिरतातर्फ धेकेल्ने सबै खाले खेलहरु पूर्णरुपमा बन्द हुनुपर्छ । नेकपा एमाले र नेपाली कांग्रेसबीचको सहकार्यबाट बनेको वर्तमान सरकारले एक वर्ष पूरा गरिसकेको छ । यो अवधिमा केही विकास आयोजनामा गति देखिए तापनि सुशासनको अपेक्षित मापदण्डमा भने सरकारले खासै उपलब्धि हासिल गर्न सकेको छैन । यस्तो अवस्थामा सरकार स्वयं सजग, संवेदनशील र प्रभावकारी हुन जरुरी छ । जनताको विश्वास जित्ने गरी काम गर्न सकेन भने सरकारको नैतिक धरातल कमजोर हुँदै जान्छ, जुन स्थितिको फाइदा अस्थिरता चाहने शक्तिहरूले उठाउँछन् । सबैभन्दा ठूलो कुरा सरकार स्थिर हुन सकोस् र मुलुकमा विकास र सुशासन कायम गर्न सकोस् भन्ने नै हो तर त्यसो हुन नसक्नु दुख्द हो । प्रधानमन्त्री केपी शर्मा ओली यो विषयमा गम्भीर बन्न आवश्यक छ । अन्यथा देश अहिलेको अवस्थामा अगाडि बढ्ने हो भने फेरी पनि अस्थिर राजनीतिले निरन्तरता पाउने छ ।  राजनीतिक र सरकारी अस्थिरता भनेको केवल सत्ताको फेरबदल मात्र होइन, समग्र राष्ट्रको स्थायित्व, समृद्धि र जनअपेक्षा विपरीत जाने अवस्था पनि हो । नेपालजस्तो विकासोन्मुख मुलुकका लागि घातक  हो । तसर्थ आफ्नो स्वार्थपूर्तिका लागि बारम्बार सरकार ढालेर राजनीतिलाई अस्थिर बनाउने गलत खेलमा कोही पनि लाग्नुहँुदैन ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update