Shittalpati
सचेत र सतर्क बनौँ

मौसमविद्हरुले आइतबारदेखि नेपालमा भारी वर्षा सुरु हुने पूर्वानुमान गरेका छन् । भारतको उत्तरप्रदेशतर्फ रहेको मनसुनी रेखा नेपालतिर सर्ने र त्यसको प्रभावले सोमबारसम्म देशभर नै भारी वर्षा हुने उनीहरुको प्रक्षेपण छ । शुक्रबार र शनिबार दिउँसोसम्म अवस्था सामान्य नै रहे पनि आइतबारदेखि मनसुन सक्रिय हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन भनिएको छ ।  अहिलेको नयाँ प्रणाली भने अलि शक्तिशाली हुने अनुमान मौसमविदले गरेका छन् । भारी वर्षका कारण ठाउँ ठाउँमा बाढी, पहिरो  र डुवान हुने भएकाले वर्षा अगावै सचेत र सजग हुनुपर्ने जरुरी छ । यसका लागि गत वर्षको बाढी, पहिरोले क्षत विक्षत बनाएका सडकका साथै विस्तार, मर्मत र स्तरोन्नति भइरहेका सडक, राजमार्गहरूमा बढी सचेत हुनुपर्छ । त्यसै गरी बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेका नागरिकहरूलाई वर्षा हुनु अगाडि नै सुरक्षित स्थानमा लगेर राख्ने व्यवस्था मिलाउनु पर्छ ।

राज्यका सम्बन्धित निकायले पनि मौसम पूर्वानुमान महाशाखाको सूचनालाई आधिकारिक मानी भरपर्दो ढङ्गबाट व्यवस्थापनको चाँजोपाँजो मिलाउन आवश्यक छ । जोखिमपूर्ण सडकमा यथासम्भव धेरै डोजर तयारी हालतमा राख्नु पर्छ । मौजुदा सडक बत्तीहरूलाई बल्ने अवस्थामा राख्नुपर्छ भने जहाँ सडक बत्तीहरू राखिएको छैन ती स्थानमा सडक बत्तीको व्यवस्था गरिनु पर्छ, जसले गर्दा सडक दुर्घटना हुनबाट जोगिन्छ । सम्भव भएसम्म टाइम कार्डको व्यवस्था गर्नु पर्छ । लामो दूरीमा चल्ने सवारी साधनको सन्दर्भमा जानुपर्ने वा चल्नुपर्ने सडक अन्तर्गतको कुनै भू–भागमा भारी वर्षा भइरहेछ भने ट्राफिक प्रहरीले सोको जानकारी चालकहरूलाई गराएर उक्त स्थानमा वर्षा नरोकिएसम्म सुरक्षित स्थानमा सवारीसाधनलाई रोकिदिनु पर्छ । बाढी, पहिरोको जोखिम हुने स्थानहरूमा राज्यले साइरनको व्यवस्था गरिदिनु पर्छ । त्यसै गरी नागरिकले पनि सचेत हुँदै बर्खाको समयमा सकेसम्म लामो दूरीको यात्राको योजना नबनाउनु राम्रो हुन्छ । अत्यन्तै जरुरी परेर यात्रा गर्नैपर्ने भयो भने  सडकको अवस्था बुझेर मात्र यात्रा गर्नु पर्छ । यसर्थ भारी वर्षाबाट हुने क्षतिबाट जोगिन अहिले नै सबैले आ–आफ्नो ठाउँमा सचेत र सतर्कता  अपनाऔं ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update