
पाल्पा, पाल्पाको होटल तथा पर्यटन क्षेत्रको विकासमा योगदान पु¥याउँदै आएको होटल श्रीनगर प्रा.लि.ले ५० औं वार्षिकोत्सव मनाएको छ । होटलले शनिबार विशेष कार्यक्रम गरी स्थापनाको पचासौं वाषिर्कोत्सव मनाएको हो ।
वार्षिकोत्सवको अवसरमा होटलले पर्यटकको लागि नयाँ सेवा सुविधा समेत सञ्चालनमा ल्याएको छ । तानसेनमा वि.स. २०३२ सालमा थ्रि स्टार होटलबाट सेवा सुरु गरेको होटलले अहिले स्विमिङ पुल, ज्याकुजी तथा स्पा सहित नयाँ सेवा सुविधाहरू सञ्चालनमा ल्याएको हो ।
सेवाहरुको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले शुभारम्भ गरेका छन् । नगर प्रमुख श्रेष्ठले होटल श्रीनगरले पाल्पाको पर्यटन प्रवद्र्धनमा पुर्याएको योगदानको बारेमा चर्चा गरे । पाल्पाको विकास, पर्यटन र कृषि उत्पादनबाट मात्र सम्भव रहेकाले तानसेन नगरपालिकाले दुबै क्षेत्रलाई माथि उठाउने गरी आवश्यक योजना सहित बजेट निर्माण गरी कार्यान्वयन गर्दै आएको नगर प्रमुख श्रेष्ठले बताए । पाल्पाको पर्यटन क्षेत्र माथि उठाउन तानसेनन नगरपालिकाले तानसेन पर्यटन बोर्ड नै गठन गरेर काम गर्दै आएको उनको भनाई छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, सिद्धार्थ होटल संघ भैरहवाका अध्यक्ष सिपि श्रेष्ठ, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझीले होटलहरुको विकास र विस्तार भए मात्र पर्यटन क्षेत्रको विकास हुने भएकाले होटलहरुको विकासमा तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । उनीहरुले पाल्पाको विकास नै पर्यटन प्रवद्र्धन भएकाले पाल्पाका पर्यटन व्यबसायीहरुले स्थानीय सरकारदेखी केन्द्र सरकारसम्मको सहयोग खोजिरहेको उल्लेख गरे ।
कार्यक्रममा पाल्पाको पर्यटन विकासमा होटलका संस्थापक स्वर्गीय जयप्रकाश भुसालले खेलेको योगदानको बारेमा समेत चर्चा गरिएको थियो । होटलका प्रबन्ध निर्देशक जयन्त भुसालले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका सेवा सुविधासहित पर्यटकहरुको स्वागतमा सम्पूर्ण टिमहरु लागि परेको बताए । ८ वटा रुमबाट शुरु भएको होटलमा अहिले ४० भन्दा बढी रुमहरु रहेका छन् भने दैनिक एक सय भन्दा बढी पर्यटकको क्षमता रहेको उनले उल्लेख गरे । आगामी दिनमा होटललाई फोरस्टारमा रुपान्तरण गर्ने गरी आवश्यक तयारी, पुर्वाधारका कामहरु भइरहेको भुसालको भनाई छ ।
सुरुका दिनमा सञ्चालन गर्न कठिन भए पनि अहोरात्र मेहनत र चुस्त व्यवस्थापनले गर्दा आज राष्ट्रिय ,अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाउन सफलता मिलेको उनले बताए । होटल क्षेत्रको विकास र योगदान चर्चा गर्दै उनले भने “होटल र पर्यटन क्षेत्रका लागि यो सकारात्मक विषय हो, सरकारले पनि होटल पूर्वाधार निर्माणमा जोड दिनुपर्छ ।” उनले असल व्यवस्थापन, बजारीकरण र पूर्वाधार भए होटल सफलतापूर्वक सञ्चालन गर्न सकिने अनुभव सुनाए ।
होटलकी संस्थापक सावित्रा भुसालले श्रीमानको सपना साकार पार्न सेवाको गुणस्तर, परिकारको स्वस्च्छता, पर्यटकको सुरक्षा र पारिवारिक वातावरणलाई प्राथमिकतामा राखेर सेवा सञ्चालन गर्दै आएको बताईन् । उनले पर्यटनको प्रचुर सम्भावना भएकाले त्यसतर्फ लाग्न युवाहरुलाई आग्रह समेत गरिन् । यहाँ स्विमिङ पुल सञ्चालनको लागि तानसेन खानीपानी उपभोक्ता समितिले छुट्टै धारा उपलब्ध गराएको छ । उसले अन्य होटल व्यबसायीहरुले पनि माग गरेमा स्विमिङ पुलको धारा उपलब्ध गराउने जनाएको छ । तानसेनमा एक दर्जन स्तरीय होटलहरु सञ्चालनमा रहेका छन् । होटलकी संस्थापक सावित्रा भुसालकोको अध्यक्षता, जेसी कला दाहालको सञ्चालनमा कार्यक्रम भएको थियो ।