
विश्व युवा दक्षता दिवस नेपालसहित विश्वभर आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुलाई १५ मा यो दिवस मनाउने गरिन्छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले आजकै दिन अर्थात् जुलाई १५ मा दिवस मनाउने संकल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । युवाहरुको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले यो दिन दिवस मनाइन्छ । हरेक वर्ष यो दिवस मनाइए पनि नेपालमा धेरै युवाहरु आर्थिक रुपमा कमजोर छन् । योग्यता र क्षमता अनुसार स्वदेशमै काम नपाइँदा युवाहरु बरालिनु परेको अवस्था छ । यो अत्यन्त दुखको कुरा हो । कुनै पनि देशको विकास युवा जनशक्ति विना सम्भव छैन । युवा सबैभन्दा उर्जाशील जनशक्ति हो । उनीहरु विकासका लागि दरिलो र भरिलो आधारस्तम्भ समेत हुन् । आज इञ्जिनियर, डाक्टर, शिक्षक, पाइलट, किसान, मजदुर आदि सबै क्षेत्रमा युवाको उपस्थिति बलियो छ तर राज्यको नीति बनाउने कुरामा अर्थात् राजनीतिमा अझै युवाको उपस्थिति कमजोर छ । नीतिगत तहमा युवाहरू पुगे पनि उनीहरूको न्यून संख्याले युवामैत्री, रोजगारीमैत्री काम गर्न सकेका छैनन् ।
युवाहरुमा अपार क्षमता रहेको हुन्छ । उनीहरूलाई उचित शिक्षा, दिक्षा, रोजगारको व्यवस्था गरी नेपालको शान्ति र समृद्धिमा सरिक गराउनु आजको आवश्यकता हो । मुलुकको आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक क्षेत्रमा युवाहरुको सक्रिय सहभागिता रहेको छ । कृषि तथा उत्पादनमूलक क्षेत्र र श्रम क्षेत्रमा पनि युवाहरुको उपस्थिति ठूलो छ । अध्ययन, रोजगारी, जीविकोपार्जन र अवसरको खोजीका लागि धेरै युवाहरु शहर केन्द्रित भइरहेका छन्, विदेश पलायन भइरहेका छन् । विगतमा युवा र उनीहरुका सरोकारका विषयलाई सरकारका नीति, कानुन एवं कार्यक्रमले सही रुपमा सम्बोधन गर्न नसक्दा अवसरको खोजीमा विदेश जाने र उतै पलायन हुने समस्याले मुलुक समस्यामा छ । रोजगार बजारमा उपलब्ध दक्ष र योग्य युवालाई देशभित्र अवसर सिर्जना गर्न नसक्नु, जनशक्तिको माग र शिक्षाबीच सामञ्जस्य कायम हुन नसक्नु जस्ता धेरै कारण युवाहरु बेरोजगार बस्नु परेको छ । यसो हुनु दुखद् हो । युवालाई सीपयुक्त, उत्पादशील बनाउन सकेमा मात्र हरेक वर्ष मनाइने विश्व युवा दक्षता दिवसको सान्दर्भिकता रहन्छ । अन्यथा दिवस औपचारिकतामै सिमित बन्ने छ ।