Shittalpati
समृद्ध बगनासकाली निर्माणका आधारहरु

पृष्ठभूमि : 
पाल्पा जिल्लाका दश वटा स्थानीय तहहरु मध्ये एक हो बगनासकाली गाउँपालिका । ऐतिहासिक धार्मिक धरोहर बगनास देवी को ‘बगनास’ र उत्तरी सिमानालाई घेरेको प्रसिद्ध कालीगण्डकी नदी को ‘काली’ शब्द मिलाएर बनेको बगनासकाली नामाकरण आफैमा विष्टि र अनुपम पहिचान झल्काउने शव्द हो । साविकका चिर्तुङधारा, पोखराथोक, नायरनमतलेस, खानीछाप, दर्लमडाँडा, यम्घा, खानीगाँउ, बराङ्दी र चापपानी गाविसका संयोगले बनेका ९ वडा सँगै यस पालिकाले मुर्तरुप पाएको देखिन्छ । पूर्वमा रम्भा गाँउपालिका, पश्चिममा तानसेन नगरपालिका, उत्तरमा कालिगण्डकी नदी र दक्षिणमा माथागढी गाउँपालिकाले घेरिएको यस पालिकामा ८४ दमलव १६ वर्ग किलोमिटर क्षेत्रफल समेटिएको र करीव १८ हजार ४ सय ९७ जना जनसंख्या बसोबास गर्ने गरेको पछिल्लो तथ्याक रहेको छ । भौगोलिक विविधता, प्राकृतिक स्रोत साधनले भरिपूर्ण यस गाउँपालिका क्षेत्रफलको हिसावले पाल्पाको सबै भन्दा ठूलो स्थानीय तहको रुपमा रहेको र कृषि, पर्यटन, घरेलु तथा साना उद्योगको विकास र विस्तार गर्दै यस क्षेत्रका जनताको जीवनस्तर र दैनिकीमा सुधार गर्ने प्रसस्त सम्भावना साथ समृद्धिको लक्ष्य प्राप्तिको सुनौलो ढोका खोल्न सकिने देखिन्छ ।

विषय परिचय : र्‍समृद्धिले आर्थिक पक्षसँग मात्रै जोडिएको विषय वस्तु हैन्, यसले विकास निर्माणका पूर्वाधारलाई मात्रै समेट्न सक्दैन् । यसले पालिकावासी जनताको मुहारमा हाँसोको खोजी गर्दछ र बन्ने अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन योजना, नीति तथा कार्यक्रमहरु जनताको दैनिकी सुधारमा केन्द्रीत हुने कुरामा जोड दिने गर्दछ । यसले सक्रिय, विवेकी जनता र लगनशिल राजनीतिक नेतृत्वको आवश्यकताको खोजी गर्दछ । क्षेत्रफलको करीब ९५ % ग्रामिण क्षेत्र रहेको यस पालिकाको विकासका लागि बहुआयामिक योजनाका साथ अगाडि बढ्नु अपरिहार्य देखिन्छ । पाल्पाको सदरमुकाम देखि नजिक एकातिर सिद्धार्थ राजमार्गले अधिकाश भू–भागलाई समेटेको र अर्कोतर्फ कालिगण्डकी करिडोरले घेरिएको यस पालिकाले शिक्षा, स्वास्थय, पर्यटन, कृषि, घरेलु तथा साना उद्योगको विकास र विस्तार गरि समृद्धिको आधार तय गर्ने प्रसस्त सम्भावना अगालेको देखिन्छ ।

समृद्ध बगनासकालीका आधारहरुः
भौगोलिक बनोट, प्राकृतिक स्रोत साधन र धार्मिक तथा ऐतिहासिक धरोहरले भरिपूर्ण यस गाउँपालिकामा विकास, रोजगारी तथा आर्थिक क्रियाकलापमार्फत समृद्धिको आधार तय गर्न सकिने प्रशस्त आधारहरु रहेको देखिन्छ । यहाँ केहि पक्षलाई प्रस्तुत गर्न खोजिएको छ ।
क) पर्यटन :
ऐतिहासिक रानीमहलको केहि क्षेत्र, खानीगाउँ, दैलातुङमा रहेको अन्नपूर्णश्वर ऐतिहासिक मन्दिर, बगनास देवी साथमा दृश्य अवलोकन गर्न सकिने बगनासे डाँडा, दर्लम महाकाली, रामनदी धाम राम्दी, नाचन डाँडा, बराङदीमा रहेको सिद्धबाबा मन्दिर र उक्त धार्मिक क्षेत्र, धातुको ठूलो मुर्ति रहेको शिवासन धाम, मालारानी मन्दीर र सतीका क्षेत्र, कालिगण्डकी करीडोर र कालिगण्डकी तट, जातीय, भाषिक र धार्मिक विविधता रहेको यस क्षेत्रमा आन्तरिक तथा बाÞय पर्यटकको आर्कषणको केन्द्रको रुपमा स्थापित गर्न सकिने, नयाँ पर्यटकीय क्षेत्रहरुको खोजी र विस्तार गर्न सकिने, होमस्टेको विकास र विस्तार गर्न सकिने । सम्भावना रहेकाले समृद्धिको आधार तय गर्न यस पक्षलाई प्राथमिकतामा राखि योजना तय गर्न जरुरी देखिन्छ ।

ख) कृषि :  भौगोलिक विविधता रहेको यस पालिकाले कालिगण्डकी तटका सबै भन्दा होचा र उर्वर भूमि देखि लिएर उच्च भू–भागलाई समेटेको देखिन्छ । यस भौगोलिक विविधता हेर्दा कृषिमा विविधतालाई अगालेर आत्मनिर्भर गाउँपालिका बनाउन सकिने आधार देखिन्छ । भौगोलिक रुपमा समथर भू–भाग दैलातुङ फाँट, माडिफाँटको गाउँपालिका सिमा भित्र रहेको भू–भाग, दर्पूकफाँट, चापपानीमा रहेको खहरेखोलाफाँट लगाएतलाई खाद्यन्न उत्पादनको पकेट क्षेत्र बनाई गाउँपालिकालाई खाद्यन्नमा आत्मनिर्भर बनाउन सकिने देखिन्छ । उच्च पहाडी भू–भाग रहेका गाउँपालिकाका बन नजिक रहेका क्षेत्रहरुमा मौरीपालन विस्तार गरि मौरी तथा मह निर्यात गर्न सकिने देखिन्छ भने केहि उच्च भू–भागहरुमा आधुनिक खेतीहरु किवी खेती, एभोकाडो खेती, सुन्तला प्रजाती खेती, अगुँर खेती पकेट क्षेत्र नै बनाएर कृषि उत्पादन बढाउन सकिने आधार देखिन्छ । मासुजन्य बाख्रापालन, बगुरपालन, कुखुरापालनको पनि उतिकै सम्भावना र आधार रहेको देखिन्छ । सबै क्षेत्रहरुमा तरकारी उत्पादन गर्न सकिने देखिन्छ । दुधजन्य वस्तु उत्पादन गर्न र बढाउन सकिने देखिन्छ । स्थानीय सरकारले उत्पादित वस्तुको मूल्य निर्धारण तथा बजारीकरणको ग्यारेन्टी गरिदिने र वास्तविक किसानमा निगरानी र लगानी गर्न सकेमा यसबाट समृद्धिको आधार तय गर्न सकिने देखिन्छ । 

ग) घरेलु तथा परम्परागत उद्योगः दैनिक हुने आयआर्जन तथा रोजगारीबाट समृद्धिको आधार तय हुने गर्दछ । यसका लागि पालिका भित्रका हरेक क्षेत्र र जनतालाई यसमा आवद्ध गर्नु पर्दछ भने यसका लागि हाम्रो परम्परागत उत्पादनलाई व्यवसायिकरण र आधुनिकतामा रुपान्तरण गर्नु पर्ने देखिन्छ । बगनासे साँचो, हसिँया, कुटो कोदालो, बासँबाट उत्पादन हुने सामानहरु, माटाबाट बन्ने वस्तुहरु तथा तामा फलामका ताउला ,गाग्री हाम्रा पालिकाका मौलिक उत्पादन हुन् । यीनलाई थप महत्व र प्रोत्साहन गरेर आर्थिक आय आर्जनसँग जोड्नु पर्ने देखिन्छ । गाउँपालिका भित्रका जनतालाई आवश्यक पर्ने दैनिक उपभोग्यका बस्तुहरु मसला, बेसार, सावुन, अगरबत्ती जस्ता वस्तुको उत्पादन पालिका भित्रनै गर्ने गरि योजना तय गर्ने । परम्परागत तरिकाले उत्पादन हुने घरेलु मादक पदार्थलाई आधुनिकरण गरि ब्राण्डीङ गर्ने र यसलाई रोजगारीसँग जोड्नु पर्ने देखिन्छ ।

घ) हरीयो वनलाई जडिबुटीसँग जोड्नु पर्ने : गाउँपालिकाको सिमा भित्र सरकारी तथा उपभोक्ता समितिको स्वामित्वमा प्रसस्त हरियो बन क्षेत्र रहेको र त्यसलाई आयआर्जनसँग जोड्न सकेको देखिदैन् । भएका साल लगायतका बोट बिरुवाहरु कुहिदै जाने, दाउराको रुपमा मात्रै प्रयोग गर्ने तर काठ बाहिरबाट ल्याउनु पर्ने अवस्था देखिन्छ । यस पक्षमा सुधार गरि हरियो बनलाई पालिकाको आयआर्जनको स्रोतसँग जोड्ने नीति बनाउनुपर्ने देखिन्छ भने अर्कोतर्फ बनमा औषधि जन्य जडिबुटीको खेती गर्ने गरि स्वरोजगार र आयआर्जनसँग जोड्नु पर्ने देखिन्छ ।

ङ) शिक्षा, स्वास्थ्य र सीपलाई जोड दिनुपर्ने :  शिक्षा, स्वास्थय र सीप विकास कुनै पनि स्थान विशेषको समृद्धिको आधार हो । शिक्षित, स्वस्थ र सीप, तालिम, प्राविधिक ज्ञान भएका जनशक्ति भएन भने विकास र समृद्धिका कुरा कुरामा मात्रै सिमित रहने कुरामा दुईमत रहँदैन् । यस पक्षलाई ध्यान दिएर पालिकाले हरेक नागरिकलाई शिक्षा र स्वास्थ्यमा सुलवता हुने कार्यक्रम तय तथा घोषणा गर्नु पर्ने देखिन्छ भने स्थान विशेषको आवश्यकता र औचित्य हुने गरि सीप विकास कार्यक्रम तय गरि व्यवहारिकता दिन सकेमा समृद्धिको आधार तय गर्न सकिने देखिन्छ ।

च) पूर्वाधारको विकास : गाउँपालिकाको समृद्धिको सबै भन्दा महत्वपूर्ण आधार पूर्वाधारको विस्तार हो । सडक, खानेपानी, विजुली जस्ता महत्वपूर्ण पूर्वाधारको निर्माण र विस्तारमा विशेष महत्व राख्दै समानुपातिक कार्यक्रम तय गर्नु जरुरी देखिन्छ । यस्ता पूर्वाधारको निर्माणमा लाभ– लागत विश्लेषण, जनसहभागिता जस्ता पक्षलाई जोड दिदै हामीले तयार गरेका पूर्वाधार आत्मनिर्भरता बढाउनेमा केन्द्रीत हुनुपर्ने देखिन्छ । पालिका भित्रका सडकमा घुइकिरहेका सवारी साधनले बाहिरवाट सामान भित्र्याउने मात्रै नभएर, पालिका भित्रबाट सामान बाहिर लाने वातावरण तयार गर्न सकेमा समृद्धिको आधार तय गर्न सकिने देखिन्छ ।

समृद्ध बगनासकालीका चुनौतीहरुः उल्लेखित केहि समृद्धि बगनासकालिका केहि आधारहरु भएता पनि यसलाई मुर्तरुप दिने कुरामा केहि चुनौती पनि हामी सामु रहेका छन् ।
– भोगौलिक जटिलता ।
– सिमित आन्तरिक आम्दानीको स्रोत ।
– राजनीतिक एकताको अभाव ।
– तिव्र बसाँइ सराईको प्रवृत्ती ।
– उत्पादन योग्य भूमि बाँझो हुँदै जानु ।
– बजेटलाई कनिका छराई गर्नु पर्ने बाध्यता ।
– विद्यमान ऐन/नीति बाधक ।
– दिर्घकालीन सोच र योजना निर्माणमा कमी ।
– जनसहभागिता क्रमश हराउँदै जानु ।
–जनसंख्या र प्राविधिक जनशक्तिको अभाव ।
समृद्ध बगनासकालीका लागि के गर्ने त ?
– तिब्र बसाँई सराई रोक्नका लागि आवश्यक नीतिगत व्यबस्था गर्ने ।
– अत्यावश्यक विकास पूर्वाधारको निर्माण गर्ने ।
– शिक्षा ,स्वास्थ्यका कार्यक्रमलाई थप महत्व दिने ।
– जनताको दैनिकी र जीवनस्तर सुधार गर्ने कार्यक्रम तय गर्ने ।
– स्वरोजगारका अवसरहरु सिर्जना गर्ने ।
– ‘स्थानीय स्रोत,स्थानीयबासीको अधिकार’ नाराका साथ उपयोगलाई प्राथमिकता दिने ।
– पालिका भित्रका दुर्गम मानिने क्षेत्रलाई पालिका केन्द्रसम्म जोड्ने सडक मार्गको निर्माण गर्ने ।
– स्थानीय उत्पादनको बिक्री र मूल्यको ग्यारेन्टि गर्ने ।
– एक गाउँ एक उत्पादनको नारालाई मूर्तरुप दिने ।
– स्थानीय सहभागितामा योजना तय गर्ने ।
– परम्परागत र घरेलु उद्योगलाई सञ्चालन र विस्तार गर्ने ।
– एकिकृत योजना तय गर्ने ।
– एकिकृत र सुविधा सम्पन्न आवास योजनाका लागि दीर्घकालिन सोच बनाउने ।
– सीप र तालिम प्राप्त जनशक्ति तयार गर्ने ।
– पालिका भित्रका पर्यटकीय क्षेत्रको थप पहिचान र प्रचार–प्रसार गर्ने ।
–स्थानीय संस्कृति ,जातीय पहिचानलाई प्राथमिकतामा राखी होमस्टेका माद्यमद्वारा ग्रामीण क्षेत्रलाई आर्कषणको केन्द्रको रुपमा     विकास गर्ने ।
– प्याकेजको घोषणा गरि गाउँ र्फक अभियान सञ्चालन गर्ने ।
– कृषि क्षेत्रमा सिंचाई तथा आवश्यक प्राविधिक जनशक्तिको सेवा विस्तार गर्ने ।
– खेल मैदान , पार्क ,व्यायमशाला ,योग शिक्षा ,प्रवचन , नैतिक र व्यवहारिक शिक्षाको विस्तार गर्ने ।
निष्कर्ष: समृद्धिले जनताको मुहारमा हाँसो र दैनिकीमा सुधारको संकेत गर्दछ । यसका लागि बगनासकाली गाउँपालिकाका दुई निर्वाचित सरकारहरु आफ्नो सिमित स्रोत र साधनकाबिच सक्रिय र सफल रहेको विश्लेषण गर्न सकिन्छ । पालिकाको वास्तविक अवस्थाको पहिचान विना र स–साना थोरै बजेटका कनिका छराई योजनाले समृद्धिको लक्ष्य हाँसील गर्ने कुरामा चुनौती थपिदिएता पनि जनसहभागिता, पारदर्शिता र सुशाशनलाई आत्मसाथ गर्दै, विवेकी जनता र लगनशिल राजनीतिक नेतृत्व भएमा उपयुक्त योजना, नीति तथा कार्यक्रम मार्फत “सुखी र खुशी जनता बस्ने समृद्ध बगनासकाली” एक दिन अवश्य बनाउन सकिने देखिन्छ । (लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।) 

प्रकाशित मिति: शनिबार, असार २८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update