Shittalpati
पाल्पामा सवारी दुर्घटना : एक सय २४ जनाको मृत्यु

तानसेन (पाल्पा), पाल्पामा पछिल्लो तीन  वर्षको अवधिमा एक सय २४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८/०७९ देखि चालु आर्थिक वर्षको जेठ मसान्तसम्म उक्त मानवीय क्षति भएको हो ।

सो अवधिमा दुई सय ४३ सवारी दुर्घटनामा परेका थिए । ति दुर्घटनामा परी एक सय ८३ जना गम्भीर घाइते भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रविन आचार्यले बताए । उनका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा मात्र जिल्लामा एक सय २ सवारी दुर्घटनामा भएका छन् भने, २४ जनाको मृत्यु भएको छ । जसमा २६ जना गम्भीर घाइते भएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा ५१ सवारी दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ । सोही अवधिमा ५८ जना गम्भीर घाइते भएका जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । यस्तै आर्थिक वर्ष २०७९/०८० मा ४७ सवारी दुर्घटनामा ३९ जनाको ज्यान गएको र सोही अवधिमा ५५ जना गम्भीर घाइते भएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा ४३ सवारी दुर्घटना भएका छन् ।

जसमा ३६ जनाको मृत्यु भएको छ भने ४४ जना गम्भीर घाइते छन् । सवारी दुर्घटना बढ्नुमा जीर्ण सडक, चालकको लापरवाही,तीव्र गति, सवारी साधनको अवस्था, मादक पदार्थ सेवन (मापसे) प्रमुख कारण रहेको ट्राफिक प्रहरी कार्यालयका प्रमुख आचार्य बताउन्छन् ।  “सडकमा सवारी चाप बढ्दै गएको छ तर सडकको मर्मतसम्भारका काम भने प्रभावकारी रुपमा हुन सकेको छैन । यसले सवारी दुर्घटना निम्त्याइरहेको छ,”उनले थपे, “यसबाहेक सबैजसो दुर्घटनाको अध्ययन गर्दा चालकको लापरवाही पनि मुख्य कारक देखिएको छ ।” ३ करोड २१ लाख बढी राजश्वमा संकलन यहाँ आर्थक वर्ष २०७८/०७९  देखि चालु आर्थिक वर्षको जेठ मसान्तसम्मसवारी कारवाहीबाट ३ करोड २१ लाख ९० हजार ६ सय राजश्व सकलन भएको छ । यो अवधिमा ट्राफिक नियमको उल्लंघन गर्ने ५९ हजार ७ सय ५५ सवारी साधनलाई कारवाही गरिएको छ ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा ५ हजार ३ सय ३७ सवारी कारवाहीमा  परेका छन् । जसबाट ६१ लाख ८४ हजार ६ सय ११ राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । यस्तै आर्थिक वर्ष २०७८/०७९ मा १८ हजार ४ सय ६६ सवारी कारवाहीमा परेकामा १३ लाख ७१ हजार ५ सय राजश्व संकलन भएको छ । यस्तै आर्थिक  वर्ष २०७९/०८० मा १९  हजार ८५ सवारी कारवाहीमा परेका छन् । जसबाट एक करोड ३३ लाख ७३ हजार राजश्व संकलन भएको छ । यस्तै आर्थिक वर्ष २०८०/८१ मा १६ हजार ८ सय ६७ सवारी कारवाहीमा परेकामा एक करोड १२ लाख ६१ हजार ५ सय राजश्व उठेको छ । ट्राफिक प्रहरीले राजस्व संकलनको कार्य मात्र नगरी सवारी दुर्घटना न्युनिकरण र यातायात तथा ट्राफिक नियमको पालनाको लागि सचेतनाको कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । उसले विद्यालय, कलेज, समुदाय र सवारी चालकहरुका लागि सचेतनाका कार्यक्रम गर्दै आएको पाइन्छ ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update