Shittalpati
आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै

पाल्पा, आज अन्तर्राष्ट्रिय सहकारी दिवस नेपालसहित विश्वभर मनाइँदै छ । विभिन्न देशमा जुलाई पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।

सन् १८४४ मा बेलायतका रबर्ट ओवेनले सुरुवात गरेको सहकारी आन्दोलनले सन् १९९२ मा संयुक्त राष्ट्रसंघको मान्यता प्राप्त गरेको हो । सन् १९९२ को डिसेम्बर १६ मा बसेको संयुक्त राष्ट्रसंघको साधारणसभाले हरेक वर्ष जुलाई पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने घोषणा गरेयता विश्वभर नै प्रत्येक वर्ष अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउँदै आएको छ । नेपालमा भने २०१० सालमा सहकारी सोचको संस्थागत विकास भएको हो । तर २०१३ सालमा बखान सहकारी संस्थाको स्थापनापश्चात् मात्र नेपालमा सहकारी अभियानको सुरुवात भएको मानिन्छ तर पनि अहिलेसम्म सहकारीले अपेक्षाकृत गुणात्मक फड्को मार्न भने सकेको छैन । यसका प्रमुख कारकको रुपमा सहकारी बचत तथा ऋण क्षेत्रमा बढी केन्द्रित हुनु, उत्पादन तथा स्वरोजगार क्षेत्रमा कारोबार घट्नु, सहकारी शिक्षा र चेतना वृद्धि हुन नसक्नु नै रहेको छ ।

सहकारी क्षेत्रले आफूलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको निर्विकल्प निकायको रुपमा स्थापित गर्नुपर्छ । मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि संविधानले सहकारीको महत्वलाई स्वीकार गरेको छ । सहकारी संस्थाको सञ्चालन स्थानीय तहको कार्यक्षेत्रभित्र रहेको वर्तमान अवस्थामा बढ्दो संख्याको सहकारी संस्थालाई व्यवस्थित सञ्चालनका लागि सहकारी ऐनलाई परिमार्जन गरी समयानुकूल बनाउनुपर्ने देखिन्छ । 

सहकारी क्षेत्रमा देशको ठूलो अर्थतन्त्रको हिस्सा रहेको भएपनि संघीय प्रदेश र स्थानीय सरकारबाट सहकारी क्षेत्रका सवाललाई कसरी सम्बोधन गरिने हो भन्ने हालसम्म प्रस्ट हुन सकेको छैन ।

प्रकाशित मिति: शनिबार, असार २१, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update