Shittalpati
अन्तर्राष्ट्रिय सहकारी दिवस र सार्थकता

अन्तर्राष्ट्रिय सहकारी दिवस आज नेपालसहित विश्वभर विभिन्न्न कार्यक्रम गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय सहकारी महासंघले सन् १९२३ देखि नियमितरूपमा यो दिवस मनाउँदै आएको हो । आर्थिक–सामाजिक क्षेत्रमा सहकारीले पुर्‍याएको योगदानलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले १९९२ डिसेम्बर १६ को ८९ औँ पूर्ण बैठकबाट अन्तर्राष्ट्रिय सहकारी महासंघ स्थापना भएको सय वर्ष पूरा भएको अवसर पारेर सन् १९९५ देखि यो दिवस मनाउने निर्णय गरेको हो । सहकारी व्यवसायका माध्यमबाट गरिबी निवारण, रोजगारीको सिर्जना र सामाजिक एकताका लागि बहुमूल्य योगदान गरेको तथ्यलाई स्वीकार गर्दै यो दिवस मनाउने गरिएको छ ।

नेपालमा अनौपचिारिक रुपमा प्राचीनकालदेखि नै नेपालमा गुठी, धर्मभकारी आदि नामबाट सहकार्यको शुरुवात भएको पाइन्छ तर औपचारिक रुपमा सहकारीको शुरुवात भने २०१३ सालमा भएको हो । २०१० सालमा योजना विकास तथा कृषि मन्त्रालयको मातहतमा सहकारी विभाग स्थापना भयो । सहकारी विभाग स्थापना भएपछि सहकारी खुल्न थालेको हो । २०१३ सालमा चितवनमा स्थापना भएको बखान ऋण समिति नै मुलुकको पहिलो मानिन्छ । तर पछि नेपालमा धेरै सहकारीहरु स्थापना भएका छन् । मुलुक संघीय संरचना गएपछि ती सहकारीलाई व्यवस्थित गर्ने अधिकार सम्बन्धित स्थानीय तहलाई नै दिइएको छ । सहकारी संस्थाको सञ्चालन स्थानीय तहको कार्यक्षेत्रभित्र रहेको वर्तमान अवस्थामा बढ्दो संख्याको सहकारी संस्थालाई व्यवस्थित सञ्चालनका लागि सहकारी ऐनलाई परिमार्जन गरी समयानुकूल बनाउनुपर्ने देखिन्छ । सहकारी क्षेत्रमा देशको ठूलो अर्थतन्त्रको हिस्सा रहेको भएपनि संघीय र स्थानीय निकायबाट सहकारी क्षेत्रका सवाललाई कसरी सम्बोधन गरिने हो भन्ने हालसम्म प्रस्ट हुन सकेको छैन । सञ्चारमाध्यममा केही समययता आएका समाचार हेर्दा दुई/चार जना टाठाबाठाले सयौं, हजारौंलाई गुमराहमा पार्दै ठगी गर्ने माध्यम सहकारी बनिरहेको देखिन्छ । सहकारीमार्फत सर्वसाधारण ठगिएको, सहकारी सञ्चालकले बदमासी गरेको समाचार नियमित आइरहेका छन् । यो अत्यन्त दुःखको कुरा हो । विगतमा सहकारी अभियान जुन रुपमा अगाडि बढेको थियो त्यो अहिले हुन सकेको छैन । सहकारी क्षेत्रमा अहिले अनेक समस्या देखिने गरेका छन्, जसले गर्दा पूरै सहकारी क्षेत्र नै बदनाम हुने खतरा बढेको छ । सहकारीको समग्र अभियानको मूल लक्ष्य भनेकै समाज रुपान्तरणका लागि ऐक्यबद्धता रहेको हुँदा त्यसलाई नै विशेष प्राथमिकता दिएर जनजीविकामा सहजता ल्याउँने काममा सम्बन्धित देशका सरकारले ध्यान दिनुपर्छ । यसो गर्न सकियो भने मात्र हरेक वर्ष मनाइने सहकारी  दिवसले सार्थकता प्राप्त गर्न सक्छ । अन्यथा दिवस औपचापरिकतामै सिमित बन्न पुग्दछ ।

प्रकाशित मिति: शनिबार, असार २१, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update