Shittalpati
रामपुरको मनभागका घर–घरमा खानेपानीको धारा

पाल्पा (रामपुर), जिल्लाको रामपुर नगरपालिका –१० माथिल्लो मनभागका घर–घरमा खानेपानीको धारा पुगेको छ । रामपुर नगरपालिकाको १७ लाख ५० हजार र उपभोक्ताको ४ लाख २१ हजार ६ सय रुपैयाँ नगद र जनश्रमदानमा २२ हजार लिटर क्षमताको पानी टंकी निर्माण गरि लिफ्टिङ मार्फत योजना सम्पन्न गरि घर–घरमा पानीको धारा  पुगेको हो ।

घरमै खानेपानीको धारा पुगेपछि घण्टौँ समय खर्चेर पानीको जोहो गर्नुपर्ने बाध्यता यहाँका नागरिकलाई हटेको छ । एक गाग्री पानीको लागि खोल्सा खोल्सीमा जम्मा भएका पानी संकलन गर्न ५ देखि ६ घण्टा सम्म हिडेर जानु पर्ने मनभागाबासीको यो बाध्यता खानेपानी योजना सम्पन्न भएसँगै हटेको हो ।

राती नै अगुल्ठो लिएर जानु पर्ने र खोल्सा खोल्सीमा कचौराले खोस्रेर जेनतेन पानी ल्याउनु पर्ने कष्टकर दैनिकी नै हटेपछि मनभागाकी अमिता थापाको खुसीको सिमा छैन् । विगतमा मुस्किलले पाईने खोल्साको धमिलो पानी खानु पर्ने बाध्यता रहेको र अहिले घरमै शुद्ध खानेपानी सहितको धारा आएपछि दैनिकी नै फरिएको उनको भनाई छ । “खोलामा गए पनि पर्याप्त पानी पाइदैनथ्यो, धमिलो भए पनि पिउनै पर्ने हुन्थ्यो ,नुहाउन धुन त परको कुरा” उनले भनिन्  “अहिले त घरमै धारा छ ,२४ सै घण्टा पानी आउँछ सजिलो छ ,स्वर्ग कै अनुभूति हुन्छ ।” गाउँमा खानेपानी र विजुली बत्ति आए पछि धेरै सुविधा भएको थापाले बताइन् ।

पानीको धेरै समस्या भएको र अरु काम छोडेर एक गाग्री पानीका लागि घण्टौँ समय विताउनु पर्ने बाध्यता खानेपानी योजना सञ्चालनमा आएसँगै हटेको छमबहादुर गाहाले बताए । खानेपानीको जोहो गर्नका लागि खर्चनु पर्ने समय अहिले खेतिपाती र अन्य काममा सदुपयोग गर्न पाएकोमा गाहा खुसी छन् । खानेपानीको धारा घरमै आए पछि समयको बचतसँगै धेरै सहज भएको तल्लो मनभागाका तहल सिं खाम्चाले बताए । नगरवासीको आधारभूत आवश्यकतालाई पुरा गर्न दुरदराजका जनतालाई खानेपानीको व्यवस्थाका लागि विभिन्न योजना सञ्चालन गर्दै आएको रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले बताए । जनताको आवश्यकतालाई पुरा गर्ने दायित्व जनप्रतिनिधिको भएको भन्दै आवश्यकताको आधारमा काम गर्दै आएको  उनको भनाई छ ।

नगरपालिकाको र उपभोक्ताको नगद र जनश्रमदानमा २२ हजार लिटर क्षमताको पानी टंकी निर्माण गरि लिफ्टिङ मार्फत योजना सम्पन्न गरि घर घरमा पानीको धारा वितरण गरिएको खानेपानी योजना समितिका  अध्यक्ष दिल बहादुर सिंजालीले बताए । पहिले ३६ घरले प्रयोग गर्दै आएको खानेपानी केही बसाईसराई र केही राजनीतिक प्रतिशोधका कारण उपभोग गर्ने घर संख्या घटेर १८ घरधुरीले पानी खाँदै आएको सचिव थान बहादुर गाहाले बताए ।

वडाको भौगोलिक विकटता र बजेटको अभावमा समयमा सहज रुपमा शुद्ध खानेपानी खुवाउन नसकिएको रामपुर –१० का वडा अध्यक्ष तोयानाथ सारु थापाले बताए । खानेपानी योजनाको एक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update