Shittalpati
बगनासकाली गाउँ सरकारको मध्यकालीन खर्च संरचना तयार

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकाले मध्यकालीन खर्च संरचना (एमटिइएफ) तयार पारेको छ । पालिकाले आगामी तीन आर्थिक वर्षमा हुने खर्चको प्रक्षेपणसहित यस्तो संरचना तयार पारेको हो ।

एमटिइएफलाई वार्षिक बजेट र आवधिक योजनाबीचको पुल मानिन्छ । गाउँपालिकाको, विकास योजना र वार्षिक बजेट बीच सन्तुलन र समन्वय कायम गर्न, पालिकाको सीमित स्रोतलाई दीर्घकालीन विकास लक्ष्यसँग जोडेर प्राथमिकता निर्धारण गर्न, पालिकाको आगामी तीनदेखि पाँच वर्षसम्मको अनुमानित आय र खर्चको पूर्वानुमान तयार गर्न, तथा पालिकाको अनावश्यक खर्च घटाएर, परिणाममुखी खर्च प्रणाली विकास गर्न ३ बर्षे मध्यमकालीन खर्च संचरना निर्माण गरिएको पालिकाले जनाएको छ ।

मध्यमकालीन खर्च संचरना प्रतिवेदन बारेमा छलफल गर्दै गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले गाउँपालिकाको स्रोत व्यवस्थापनलाई पारदर्शी प्रभावकारी र परिणाममुखी बनाउँदै, दीर्घकालीन विकास लक्ष्य हासिल गर्न संरचनाले स्पष्ट बाटो देखाउने बताईन् । पालिकाको बजेट  तथा कार्यान्वयन पक्षलाई पारदर्शी र उत्तरदायी बनाउनको लागि मध्यमकालीन खर्च संरचना निर्माण गरेको उनको भनाई छ ।

पालिकाले आउने आर्थिक बर्षदेखि मध्यमकालीन खर्च संचरनालाई आधार बनाएर बजेट र कार्यक्रम बनाउने अध्यक्ष दर्लामीले बताईन् । पालिकाको दिगो वित्तिय योजना, दीर्घकालीन दिगो आर्थिक अनुशासन र स्थायीत्व कायम गर्न, क्षमता आधारित बजेट निर्माण,  कार्यक्रमको नतिजा हेरेर स्रोत बाँडफाँट गर्न, सेवा प्रवाहमा स्थायित्व ल्याउन, शिक्षा, स्वास्थ्य, कृषि जस्ता सेवामा निरन्तरता र स्थायित्व प्रदान गर्न पालिकाले मध्यमकालीन खर्च संरचना निर्माण गरेको गाउँपालिका उपाध्यक्ष हरि प्रसाद पाठकले बताए । उनले नीति कार्यक्रम र बजेटबाटै कार्यान्वयन गर्ने संरचनाले पालिकालाई बाटो देखाउने बताए ।

मध्यमकालीन खर्च संरचना निर्माणबाट  सरकारका नीतिहरू र लक्ष्यहरूलाई कार्यान्वयन गर्न, विकास साझेदारहरूको विश्वास जित्न, नीति, योजना र बजेटलाई एकै ढाँचामा ल्याउने काम भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले बताए । मध्यमकालीन खर्च संरचनाको माध्यमबाट सरकारको स्रोत व्यवस्थापनलाई पारदर्शी, प्रभावकारी र परिणाममुखी बनाउँदै दीर्घकालीन विकास लक्ष्य हासिल गर्न सहयोग पुरुग्ने लेखा अधिकृत कोशलराज पौडैलले बताए । छलफलमा सहभागी वडाध्यक्षहरूले मध्यमकालीन खर्च संरचना प्रतिवेदनको अध्ययन गरेर आवश्यक सुझावहरु राख्ने बताए । आगामी दिनमा प्रतिवेदनलाई आधार बनाएर नै वडामा योजना संकलन, बजेट निर्माणमा ध्यान दिने वडाध्यक्षहरूले बताए ।

पाल्पा विकास केन्द्रको प्राविधिक सहयोगमा बगनासकाली गाउँपालिकाले ३ बर्षे मध्यमकालीन खर्च संरचना निर्माण गरेको हो । हरेक पालिकाले विकास योजना र वार्षिक बजेट बीच सन्तुलन र समन्वय कायम गर्न मध्यमकालीन खर्च संरचना निर्माण गरी बार्षिक रुपमा अध्यावधिक गर्नु पर्ने संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले नीतिगत व्यवस्था गरेको छ ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update