Shittalpati
पारिवारिक निजी वनलाई नीति तथा कार्यक्रममा समेट्न जोड

पाल्पा,पारिवारिक निजी वनलाई नीति तथा कार्यक्रममा समेट्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । पारिवारिक निजी वन संघ पाल्पा शाखाको आयोजनामा  जलवायु उत्थानशीलताको लागि तीन दिने क्षमता अभिवृद्धि कार्यशाला गोष्ठीमा बोल्ने वक्ताहरुले स्थानीय सरकारले ल्याउने नीति तथा कार्यक्रममा पारिवारिक निजी वनलाई समेट्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा पारिवारीक निजी वन संघ नेपालका केन्द्रीय अध्यक्ष जोगराज गिरीले सरकारले आफ्ना नीति तथा कार्यक्रमहरुमा पारिवारिक निजी वनलाई समेटेर लैजानु पर्नेमा जोड दिए । उनले अहिले देशभरीका पालिकाहरुले बजेट बनाईरहेको समयमा  निजी वन समेट्ने कार्यक्रमलाई समुदायमा फाईदा पुर्‍याउन स्थानीय सरकारलाई आग्रह गरे । कार्यक्रममा पारिवारीक निजी बनका संस्थापक पाल्पा अध्यक्ष एकप्रसाद भण्डारीले आफूहरुले पारिवारीक निजी बनाउन जिल्लामा खेलेको भूमिकाको बारेमा चर्चा गर्दै मानिसहरुलाई वनको बारेमा वुझाउँदा थुप्रै चुनौतीहरुको सामना गर्नुपरेको बताए । कार्यक्रममा सामुदायिक वन महासंघका(फेकोफन) लुम्बिनी प्रदेश अध्यक्ष कल्पना भण्डारीले सामुदायिक वन महासंघ र निजी वनले किसानहरुको आर्थिक आयआर्जनको लागि काम गरिरहेको बताईन् । सामुदायिक बन उपभोक्ता महासंघकी तानसेन नगर अध्यक्ष भवानी गौतमले तानसेनमा पहिलेको तुलनामा सामुदायिक वनहरुको राम्रोसँग विस्तार भैरहेको र आउँदा दिनहरुमा योजना बनाएर अघि बढने बताईन् ।

कार्यक्रममा प्रशिक्षक सुवासचन्द्र देवकोटाले सामुदायिक बन र पारीवारिक वनको फरक, वर्तमान अवस्थामा जलवायु परिवर्तनले पारेको असर, नेपालमा वनको अवस्थाको बारेमा प्रशिक्षण दिएका थिए । तालिममा जिल्लाका १० वटै स्थानीय तहका वन सम्वन्धी सरोकारवालाहरुको  सहभागिता रहेको थियो । पारिवारिक निजी वन संघ पाल्पाका अध्यक्ष प्रेम घिमिरेको अध्यक्षता, सदस्य यादवराज शर्माको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update