
अझै पनि नेपाली समाजमा एकल महिलाहरुलाई हेर्ने दृष्टिकोण नकारात्मक नै छ । समाजले विदुर र विधुवा भनेर दिएको नामकै पछाडी पनि कयौं उपनामहरु जोडिएका हुन्छन् । जब कुनै महिलाले आफ्नो एकल अवस्थामा समाजमा जिउनका लागि प्रयास गरेकी हुन्छिन् उनका पछाडी धेरै कुराहरु उब्जने अनि उनलाई धेरैले औंला उठाउने काम गरेका हुन्छन् । विभिन्न लाञ्छना लगाउँदै जसरी महिलामाथि अपमान गरिन्छ त्यो सह्य हुँदैन । पितृसत्तात्मक सोचका कारण अझै पनि महिलामाथि विभिन्न प्रकारका हिंसाहरु हुने गरेका छन् । यो अत्यन्त दुखको कुरा हो । कुनै समय श्रीमानसँग बसेर एक्लिएका (विशेष गरी सम्बन्धविच्छेद भएका र विधवा) एकल महिलाहरुको पीडा सम्बोधन नै हुन नसक्नु दुर्भाग्य हो ।
एकल महिला र उनीहरुमा आश्रितले भोगिरहेको गरीबी र अन्यायलाई सम्बोधन गर्न राष्ट्रसंघले हरेक वर्ष जुन महिनाको २३ तारिखलाई विश्व एकल महिला दिवस मनाउने गर्दछ । सोही अनुसार आज यस वर्षको दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१० को डिसेम्बरमा जुन महिनाको २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसका रुपमा घोषणा गरेपछि सन् २०११ देखि यो दिवस मनाउन लागिएको हो । नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ । यो दिवस मनाउन थालेको पनि लामो समय हुँदा समेत एकल महिलाहरुको पीडा र समस्या उस्तै हुनु विडम्वना हो । राज्यले एकल महिलाको वास्तविक तथ्याङ्क राख्नु पर्छ । एकल महिलाको रेखदेख गर्ने जिम्मेवारीको व्यवस्थामा पनि राज्यले ध्यान दिनु पर्छ । एकल महिलालाई कानुनी झमेला पर्ने गरेको छ । उनीहरूका लागि कानुनी सहायता पनि उपलब्ध गराउनु पर्छ । राज्यले निःशुल्क कानुनी सहयोगका छुट्टै निकायको स्थापना गर्नुपर्छ । उनीहरूलाई घरव्यवहारका विषयमा अलग राखिन्छ । फलस्वरूप ती महिला मानसिक रूपमा पीडित बन्न पुग्छिन् । यस्तो अवस्थामा राज्यले बलियो कानुन बनाउनु पर्छ । बेला बेलामा यस्ता परिवारको अनुगमन गर्नु आवश्यक छ । घरभित्र र घरबाहिर हुने विभिन्न प्रकारका समाजिक तथा सांस्कृतिक हिंसाबाट उनीहरूलाई सुरक्षित राख्नु पर्छ । आर्थिक रूपमा निर्भर गराउनका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्छ । मानव अधिकार संरक्षण गर्न समाजिक, आर्थिक, सांस्कृतिक न्यायका लागि विभेदपूर्ण कानुन हटाई सकारात्मक नीति र नियमको निर्माण गर्नुपर्दछ । यसो गर्न सके मात्र हरेक वर्ष मनाइँने विश्व एकल महिला दिवसले सार्थकता प्राप्त गर्दछ ।