गंगा दशहरा हिन्दू धर्मावलम्बीहरूले मनाउने एक पर्व हो । आज यो मनाइँदै छ । यो पर्व नेपाल तथा भारत सबै ठाउँमा मनाउने गरिन्छ । यस पर्वमा गंगा नदीमा स्नान गर्नाले सम्पूर्ण पापबाट मुक्त भइन्छ भन्ने धार्मिक मान्यता रहेको छ । यो पर्व ज्येष्ठ शुक्ल प्रतिपदाबाट शुरु भई दशमी सम्म १० दिन मनाउने गरिन्छ । दश योग जोडिएको दिनलाई दशहरा अर्थात् दशमी पर्व भन्ने गरिन्छ । आजको दिन गंगा नदीमा स्नान गर्दा या गंगा जलले अभिषेक गर्दा मात्र पनि दश प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ । पाप नाश हुने र सँगसँगै आज गंगा स्नान गरेर पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने र आफ्नो सबै मनको इच्छा पूरा हुने जनविश्वास पनि छ ।
नेपाल तथा भारतका हिन्दू धर्मावलम्बीहरूले श्रद्धापूर्वक मनाउने गङ्गादशहरा केवल धार्मिक पर्व मात्र होइन, सभ्यता, संस्कार र प्रकृतिप्रतिको सम्मानको प्रतिक पनि हो । ज्येष्ठ शुक्ल दशमीका दिन मनाइने यस पर्वमा स्वर्गबाट पृथ्वीमा गङ्गाको अवतरण भएको विश्वास गरिन्छ । तर आजको परिवर्तित समयले गंगा दशहरालाई केवल कर्मकाण्डमा सीमित नराखी वातावरण संरक्षणसँग जोडेर बुझ्न आवश्यक बनाएको छ । हिन्दू सभ्यतामा नदीलाई जीवनदायिनी आमाका रूपमा सम्मान गरिन्छ । गंगा नदीलाई पवित्रताको प्रतिक मानिए पनि आज विश्वभर नदीहरू प्रदूषण, अतिक्रमण र अव्यवस्थित विकासको चपेटामा परिरहेका छन् । नेपालका बागमती, विष्णुमती, नारायणी, कोशी वा कर्णालीजस्ता नदीहरूको अवस्था पनि चिन्ताजनक बन्दै गएको छ । नदीलाई पूजा गर्ने तर त्यसैमा फोहोर फाल्ने प्रवृत्तिले हाम्रो आस्था र व्यवहारबीचको विरोधाभास उजागर गरेको छ । गंगा दशहराले मानिसलाई आत्मशुद्धिको सन्देश दिन्छ । तर वास्तविक शुद्धि केवल स्नानले होइन, सोच र व्यवहारको परिवर्तनबाट सम्भव हुन्छ । यस पर्वले सामाजिक सद्भाव र मानवीय सेवाको भावना पनि अभिवृद्धि गर्दछ । दान, सहयोग र परोपकारका कार्यले समाजमा सकारात्मक ऊर्जा फैलाउँछन् । त्यसैले गंगा दशहरालाई केवल धार्मिक अनुष्ठानका रूपमा मात्र होइन, सामाजिक चेतना र वातावरणीय उत्तरदायित्वको अभियानका रूपमा मनाउन सके यसको वास्तविक महत्व अझ बढ्नेछ । गङ्गादशहराले हामीलाई प्रकृति, संस्कृति र मानव जीवनबीचको गहिरो सम्बन्ध सम्झाउँछ । आस्था तब मात्र सार्थक हुन्छ जब त्यसले समाज र वातावरण दुवैको हित गर्छ । नदी जोगाउनु भनेको सभ्यता जोगाउनु हो भन्ने चेतना फैलाउनु नै आजको गंगा दशहराको मुख्य सन्देश बन्नुपर्छ ।

