
पाल्पा, जिल्लाको रामपुरमा महिलालाई आत्मनिर्भर बनाउन खादा बनाउने तालिम दिइएको छ । रामपुर नगरपालिकाले उप–प्रमुख ग्रामीण महिला उत्थान कार्यक्रम अन्तर्गत महिलाहरुलाई तालिम दिएको हो ।
तालिम गत जेठ १६ गते देखि बुधबार सम्म सञ्चालन भएको थियो । तालिमको एक औपचारिक कार्यक्रमकाबिच समापन गरिएको छ । नगरप्रमुख रमणबहादुर थापाले तालिमको समापन गर्दै महिलालाई व्यावसायिक र आत्मनिर्भर बनाउन नगरपालिकाले सिपमुलक तालिम सञ्चालन गर्दै आएको बताए । उनले महिलाहरुलाई प्राप्त सिपको सदुपयोग गर्दै उद्यमशिल बन्न आग्रह गरे । नगरपालिकाले प्रदान गर्ने तालिमको सही सदुपयोग होस् भन्ने उद्देश्यले सहभागीलाई तालिम व्यवहारमा लागु गर्ने प्रतिवद्धता जनाएमा मात्र सहभागी गराएर तालिम प्रदान गर्दै आएको उनको भनाई छ । यस अघि सञ्चालन भएका तालिम पछि विभिन्न वडामा महिलाहरुले उद्यम व्यवसाय सञ्चालन गरिरहेको नगर प्रमुख थापाले जानकारी दिए । उद्यमीहरुलाई व्याज अनुदानको कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै उनले तालिम लिएर उद्यम सुरु गर्ने महिलाहरुलाई आवश्यक उपकरणहरु अनुदानमा प्रदानसँगै नगरपालिकाले बजारको सुनिश्चितता गर्ने बताए ।
उपप्रमुख बालकुमारी थापाले महिलाहरुलाई उद्यम बनेर अघि बढ्न आग्रह गरिन् । तालिम पश्चात उद्योग तथा व्यवसाय सञ्चालन गर्दै आएका महिलाहरुलाई आवश्यकता अनुसार उपकरणमा समेत अनुदान प्रदान गर्दै आएको उनको भनाई छ । उद्यमी महिलाहरुले उत्पादन गरेका सामान उपप्रमुख कोसेली घरबाट विक्री वितरण गर्ने वातावरण निर्माण गरिएको पनि उपप्रमुख थापाले जानकारी दिइन् । रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले तालिम लिनु मात्र नभई प्राप्त तालिम कसले कति सदुपयोग गरे भन्ने कुरा महत्वपूर्ण रहने बताए । कार्यक्रममा प्रशिक्षक बन्दना रानाले सिकेका सीप व्यवहारमा लागू गर्न आग्रह गरिन् । सहभागीकोतर्फबाट माया श्रेष्ठ र फुल माया परियारले आफ्नो अनुभव सहित तालिमलाई व्यवहारमा लागु गर्ने प्रतिवद्धता जनाइन् । तालिममा २२ जना महिलाहरुको सहभागीता रहेको थियो । तालिममा प्रशिक्षक बन्दना राना र निर्मला सारुले खादा बनाउने सिप प्रदान गरेका थिए । उपप्रमुख बालकुमारी थापाको अध्यक्षता, नगर प्रवक्ता कपिल बहादुर खाँणको स्वागत, महिला तथा बालबालिका शाखाका प्रमुख पुजा परियारको सञ्चालनमा कार्यक्रम भएको थियो ।