Shittalpati
रैनादेवी छहरा गाउँपालिकाको नीति तथा कार्यक्रम कृषिलाई प्राथमिकता

तानसेन, जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको १८ औँ गाउँसभा अधिवेशन सुरु भएको छ । अधिवेशनमा आगामी आर्थिक बर्ष २०८२/०८३ को लागि  पालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले नीति तथा कार्यक्रम पेश गरे । अध्यक्ष भट्टराईले गाउँसभामा पेश गरेको आगामी बर्षको नीति तथा कार्यक्रम गाउँसभाले सर्वसम्मतले पारित गरेको छ ।

आगामी आर्थिक बर्षको लागि गाउँपालिकाले  कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेको हो । पारित भएको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा कृषि उत्पादन बढाउने, कृषिमा  रोजगारी बढाउने, शिक्षाको गुणस्तरमा सुधार गर्ने, पालिकावासीको पहुँचमा स्वास्थ्य सेवा प्रदान गर्ने, वडा कार्यालयसम्म सडक पूर्वाधारलाई गुणस्तरीय बनाउने, वातावरण संरक्षणमा ध्यान पुर्‍याउने विषयमा प्राथमिकतामा राखेको पालिका अध्यक्ष भट्टराईले बताए । पालिकाको दिगो विकास,सुशासन, पारदर्शिता र जनउत्तरदायी सेवा प्रवाहका साथ आत्मनिर्भर, समुन्नत र सुखी गाउँपालिका निर्माण गर्ने लक्ष्यका साथ नीति तथा कार्यक्रम ल्याइएको पालिका अध्यक्ष भट्टराईले बताए । आगामी आर्थिक बर्षको नीतिमा समावेशी विकास, नवप्रवर्तन, प्राकृतिक स्रोतको सदुपयोग र स्थानीय उत्पादनमा आधारित उद्यमशीलताको प्रवद्र्धनलाई जोड दिइएको रैनादेवी छहरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एव गाउँसभाका सदस्य सचिव कृष्ण प्रसाद ज्ञवालीले जानकारी दिए । १८ औं गाउँ अधिवेशनमा शून्य समयमा सभा सदस्यहरू दान बहादुर थामी, धन बहादुर रायमाझी, अर्जुन प्रसाद ज्ञवाली र रविलाल पोखरेलले टिप्पणी गरेका थिए ।

आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रम “आर्थिक, सामाजिक, पर्यटन र पूर्वाधार : समृद्ध रैनादेवी छहराको मूल आधार” भन्ने नारामा आधारित रहेको गाउँपालिकाले जनाएको छ ।  नीति तथा कार्यक्रममाथि सभा सदस्यहरू दानबहादुर थामी, रविलाल पोखरेल, धन बहादुर रायमाझी, अर्जुन प्रसाद ज्ञवाली र सूर्य बहादुर कार्कीले विभिन्न सुझावहरू दिएका थिए । गाउँसभाको १८ औँ अधिवेशन अन्तर्गत दोस्रो बैठक असार ९ गते दिउँसो १  बजे बस्ने पालिकाले जनाएको छ । गाउँसभामा उपाध्यक्ष युवाराज थापाले स्वागत गरेका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update