Shittalpati
होमस्टेबाट आयआर्जनमा जोडिदै तिनाउका महिला

पाल्पा, पर्यटन र होमस्टेमार्फत यहाँका महिलाहरु आयआर्जनमा जोडिदै गएका छन् । जिल्लाको तिनाउ गाउँपालिकाको वडा नंं. ६ मस्याम, वडा नंं. ५ मरामकोट, वडा नंं. ४ को सत्यवतीमा होमस्टेको शुुरुवात भएको छ भने वडा नंं १ कचल, वडा नंं २ दोभान, वडा नंं ३ झुम्साका विभिन्न भागमा होमस्टे सञ्चालनको तयारीमा महिलाहरु जुटेका छन् ।

होमस्टे सञ्चालनमा जुटेका महिलाहरुलाई थप उत्साह, ज्ञान सीप प्रदान गर्न अभिमुुखीकरण कार्यक्रम समेत सञ्चालन गरिएको छ । पाल्पा विकास केन्द्रको आयोजना, तिनाउ गाउँपालिकाको समन्वय र सामाजिक विकास डिभिजन कार्यालय तानसेन पाल्पाको आर्थिक सहयोगमा पालिकाका महिलाहरुलाई केन्द्रित गरेर पर्यटन तथा होमस्टे प्रवद्र्धन अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । गाउँपालिकाको ६ वटै वडामा होमस्टेमार्फत आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने, गाउँ गाउँमा आर्यआर्जन बढाउने,महिलाहरुको उद्यमशिलता बढाउने र महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउन अभिमुखीकरण कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

गाउँपालिकालाई  पर्यटन तथा कृषिको माध्यमबाट सम्बृद्ध बनाउने, महिलाहरुको आयआर्जन बढाउने काममा समुदाय स्तरमा जस्तो सुकै सहयोग गर्न पालिका तयार रहेको गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए । उनले भने “अहिले बजेट बनाउने समय भएको छ, महिला दिदि बहिनीहरुले होमस्टे सञ्चालनको लागि योजना लिएर आउनुस्, आउने बर्षबाटै काम शुरु हुन्छन् ।” पैसा कमाउन तिनाउवासीलाई कुनै दु:ख नरहेको पालिका उपाध्यक्ष लालबहादुर थापाले बताए । “अलिकती मिहेनत गर्नुस् घरमै बसीबसी महिनाको ४०/५० हजार सजिलै कमाउन सकिन्छ त्यसको लागि पालिकाले वातावरण तथा पुर्वाधार तालिम कला संस्कृति लगायतका समुदायलाई आवश्यक सहयोग  गर्ने छ ।

आफ्नो कार्यकालमा मस्यामको जन्तिलुङमा शुरु गरेको होमस्टे अहिले व्यस्थित हुँदै गएको गाउँपालिकाका संस्थापक अध्यक्ष ओम बहादुर घर्तिमगरले बताए । उनले दिनहुँ पर्यटकहरु बढ्दै गएको,स्थानीयहरुको रोजगारी बढेकाले तिनाउका अन्य ५ वट वडामा पनि सञ्चालनको लागि तालिमले मद्दत मिलेको बताए । पालिकाका सबै वडाहरुका पर्यटकीय पुुर्वाधारहरु निर्माण हुँदै गएको, बाटा घाटाहरु सहज हुँदै गएको, अधिकाश घरहरुमा एक घर एक धारा पुगेकाले बुटवलबाट सबै वडाहरुमा एक डेढ घण्टामा पुगिने भएकाले होमस्टेको माध्यमबाट राम्रो आम्दानी गर्न सकिने २ का वडा अध्यक्ष यादव अर्यालले बताए । अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय  होमस्टे महासंघका उपाध्यक्ष धनिश्वर बस्याल, नेपाल रेडक्रस सोसाईटी पाल्पाका कार्यालय प्रमुख विनोद भारती, सामाजिक अभियान्ता राजेश श्रेष्ठ लगायतले सहजीकरण गरेका थिए । 

होमस्टेमा पाहुनालाई स्वागत गर्ने तरीका, खानपानको व्यबस्थापन, सरसफाई, स्थानीय कृषि उत्पादनको खानपान, स्थानीयकला संस्कृति, भेषभुषाको प्रयोग गर्ने विषयमा प्रशिक्षकहरुले जानकारी गराएका थिए । होमस्टेमार्फत सिंङो गाउँ तथा वडाको विकाससँगै गाउँको सबै किसिमका उत्पादनहरु होमस्टेमार्फत नै विक्रि वितरण गर्ने तरिकाका बारेमा प्रशिक्षकले जानकारी गराएका थिए । होमस्टे सञ्चालन गर्नको लागि सरसफाई, आतिथ्यता, स्थानीय परिकार, बोली व्यबहार, सौन्दर्यकरण, सुत्ने विस्तरादेखी शौचालय अवस्था सम्मको व्यवस्था लगायतका विषयमा विशेष ध्यान पुर्‍याएमा होमस्टे पूर्णरुपमा सञ्चालन हुने प्रशिक्षकहरुले जोड दिए । पाल्पा विकास केन्द्रका कार्यक्रम संयोजक किरण कौशलले यहाँ वडा वडामा होमस्टे सञ्चालन गरी गाउँ–गाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्उदै महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनको लागि अभिमुखीकरण कार्यक्रम गरिएको जानकारी दिए । कार्यक्रममा पालिकाबाट ८० जना महिलाहरुको सहभागिता रहेको थियो । गाउँपालिकाका प्रवक्ता यादव अर्यालको अध्यक्षता, पाल्पा विकास केन्द्रका निवर्तमान अध्यक्ष कृष्ण पोखरेलको स्वागत र कार्यक्रम संयोजक किरण कौशलको सञ्चालनमा कार्यक्रम चलेको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ ३२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update