
विश्व रक्तदाता दिवस आज नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यवाद दिन पनि यो दिवस मनाइन्छ । यो दिवसकै कारण रगत अभावको समस्यालाई केही हदसम्म भए पनि समाधान गर्ने प्रयास भने भएको छ । यो आफैमा राम्रो कुरा हो ।
नेपालमा स्वयंसेवी रक्तदाताहरूको संख्य बढ्दै जानुलाई सकारात्मक मान्नुपर्छ । तर रक्तदाता बढ्दै गए पनि सरकार र सम्बन्धित निकायले भने यथेष्ट व्यवस्थापनमा ध्यान दिन सकेका छैनन् । यो अत्यन्त दुखको कुरा हो । स्वयंसेवी रक्तदाताको संख्या क्रमिक वृद्धि भइरहेको यो समयमा यसको सदुपयोग सही तवरले गर्न सकेमा रगत र रक्ततत्वको आवश्यकतालाई सहज प्रकारले निवारण गर्न सकिने छ । संसारको कुनै पनि देशमा रगत र रक्तत्वहरूको आवश्यकतालाई पूरा गर्ने एउटै मात्र स्रोत स्वयंसेवी रक्तदाताहरू हुन् । यिनै स्वयंसेवी रक्तदाताको संख्यामा क्रमिक सुधार ल्याउन सकिएन भने यसको दीर्घकालीन असर रक्तसञ्चार क्षेत्रमा पर्न सक्छ । जबसम्म स्वयंसेवी रक्तदाताको सही व्यवस्था हुँदैन, तबसम्म कुनै पनि देशका रक्तसञ्चार केन्द्रको औचित्य पुष्टि हुने छैन । यी स्वयंसेवी रक्तदाता नै एक मात्र औचित्य पुष्टि गर्न सक्ने प्रमुख स्रोत हो ।
स्वयंसेवी रक्तदातालाई रक्तदानका क्षेत्रमा हरदम समाहित हुनेखालका क्रियाकलापको आवश्यकता पर्छ । मानवरगत र रगतबाट तयार पारिएका रक्ततत्वहरू पूर्ण रूपमा निःशुल्क वितरण गर्ने र गराउने राज्यको नीति छ । तर अझै पनि यो निःशुल्क बन्न सकेको छैन । केही संघसंस्थाहरुले खुलेआम बिलबीजक काटी बिक्री–वितरण गरिरहेका छन् । तर पनि सम्बन्धित निकायको ध्यान पुगेको छैन । रगत र रगतबाट तयार पारिएका रक्ततत्व जनताले चाहेको बेला सहजै निः शुल्क पाउन सके हरेक वर्ष मनाइने विश्व रक्तदाता दिवसले सार्थकता प्राप्त गर्दछ । अन्यथा दिवस औपचारिकतामै सिमित बन्ने निश्चित छ ।