
आज विश्व बालश्रम विरुद्धको दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन १२ लाई विश्वभर बालश्रम विरुद्धको दिवसका रुपमा मनाउने गरिन्छ । बालश्रमविरुद्ध आइएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्यूनतम उमेरसम्बन्धी महासन्धि १३८ कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ देखि १२ जुनलाई विश्व बालश्रमविरुद्धको दिवसका रूपमा मनाउन थालिएको हो । सन् २०२५ सम्ममा बालश्रमका सबै स्वरूपको अन्त्य गर्न निर्णायक कदम चाल्नुपर्नेमा आइएलओले जोड दिएको छ । बालश्रमविरुद्ध सरकार र निजी क्षेत्रबाट बालबालिकाका क्षेत्रमा थुप्रै काम भएका छन् । तर, अपेक्षितरुपमा बालश्रम न्यूनीकरण हुन सकिरहेको छैन । सडक बालबालिका, बाल मजदुर, होटल तथा रेस्टुरेन्टका बालश्रमिक र सवारी साधनमा काम गर्ने बालबालिकाका दुःख, पीडा र यातनामा कमी आउन सकेको छैन् । बालबालिकालाई शारीरिक र मानसिक असर पर्नेगरी दवाबमा कुनै पनि काम लगाउनु हुँदैन भनिए पनि व्यावहारिक रुपमा त्यो लागू हुन सकिरहेको छैन । बालअधिकारको क्षेत्रमा समर्पित भएर लागेका संस्था हुँदै नभएका भने होइन तर, लक्ष्यअनुरूप कार्यान्वयन अवस्था भने शून्य देखिएको छ ।
बालबालिकाको अधिकारमा कयौं वकालत, सभा सम्मेलन गरिए । तर बालअधिकार र उनीहरुको अवस्था जहाँ थियो त्यहि नै छ । बालबालिकाले आफुले पाउनुपर्ने अधिकार पाउन सकेका छैनन् । उनीहरु सडकमा छन् । कन्टेनरमा फालिएका फोहोरमा भविष्य खोज्दै छन् । तर बालअधिकारका बारेमा चर्का नारा दिनेहरु नै घरमा कलिला बालबच्चाहरुलाई काममा लगाएका छन् । जसका कारण बालश्रम बढ्दै गएको हो । बालश्रमलाई समयमै उचित समाधान गर्न सकिएन भने यसले लामो समय देशको जनसांख्यिक लाभांशको उपयोगलाई परिणाममुखी हुन दिँदैन । बालकलाई जोखिमपूर्ण व्यवसाय वा काममा लगाएमा वा बालकको इच्छा विरुद्धमा कसैले काममा लगाएमा एक वर्षसम्म कैद वा पचास हजार रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था भए पनि त्यसको उचित कार्यान्वयन हुन सकेको छैन । तसर्थ बालश्रम अन्त्य गर्नका लागि कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरी बालअधिकारको सुनिश्चित गर्न सके मात्र हरेक वर्ष मनाईने दिवसले सार्थकता प्राप्त गर्दछ ।