Shittalpati
जन्तीलुङ्ग र मरामकोट होमस्टे : व्यस्थित गर्दै तिनाउ गाउँपालिका 

पाल्पा,  जिल्लाको तिनाउ गाउँपालिका–६ जन्तीलुङ्ग र वडा नं. ५ मरामकोटमा घरवास ( होमस्टे )कार्यक्रम शुरु भएको छ । लुम्बिनी प्रदेश सरकार र तिनाउ गाउँपालिकाको आर्थिक सहयोगमा  सशक्तिकरण विकास नेपाल पाल्पाको आयोजनामा मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्र्तगत दुवै वडाका होमस्टे सञ्चालक तथा भविष्यमा पाहुना राख्ने घरधनीहरुलाई एक हप्ते होमस्टे सञ्चालन, व्यबस्थापन तथा कुक तालिम शुरु भएको छ । 

तालिमको गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले उद्घाटन गरे । तालिम कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले  स्वर्गको टुक्राको रुपमा रहेको जन्तीलुङ्ग र मरामकोटलाई अबका दिनमा पैसा कमाउने युरोप र अमेरीका बनाउन सकिने बताए । अहिले बुटवल भैरहवामा गर्मी भएर बस्न सकिने अवस्था छैन् तर  मस्यामको जन्तीलुङ्ग र मरामकोटमा जाडो भएर जेठ असारमा ज्याकेट लगाउनु पर्ने अवस्था छ ।  प्रकृतिले दिएको स्वर्गको टुक्रामा पाहुना बोलाएर मनग्गे आम्दानीको स्रोत बढाउन सकिने पालिका अध्यक्ष श्रेष्ठले बताए । “स्वर्गको टुक्रामा हामीले पाहुनाहरुलाई व्यस्थित रुपमा राख्न, स्थानीय परिकार खुवाएर खुसी बनाउन, यहाँको प्राकृतिक वातावरणमा रमाउने गराउन स्थानीयवासीहरुलाई होमस्टे प्रवद्र्धन कार्यक्रम सञ्चालनमा ल्याएका हौं ।”

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाले  पछिल्लो समयमा होमस्टे व्यवसाय फष्टाउदै गएको, पाहुनाहरुले पैसा भन्दा पनि खाना पिनाको साथै बासको राम्रो व्यबस्था, उचित सरसफाई, स्थानीय मौलिक खानपान, कलासंस्कृति खोजेको बताए ।  “जन्तीलुङ्ग र मरामकोटको वातावरण निकै राम्रो छ, अब स्थानीयवासीले पाहुनलाहरुको मन जित्ने गरी काम गर्नु पर्याे त्यसको लागि पालिकाले होम स्टे प्रवद्र्धन कार्यक्रम ल्याएको हो ” उनले भने ।  अहिले जन्तीलुङ्गमा आउने बाटो घाटो राम्रो रहेको, झुम्सा, चर्चरे र डुम्रेबाट आधा घण्टामै आउन सकिने भएकाले गाउँको आम्दानी र प्रचार–प्रसार गर्न होमस्टे व्यवसाय उत्तम रहेको पालिका उपाध्यक्ष थापाले बताए । 
    कार्यक्रममा होमस्टे नेपालका केन्द्रीय उपाध्यक्ष धनीश्वर बस्यालले होमस्टे व्यवसायबाट नै गाउँलाई आर्थिक रुपमा बलियो बनाउन सकिने बताए । होमस्टेबाट गाउँको कृषि उत्पादन, पशुपालन, अन्य किसिमका रोजगारीहरु समेत बढ्ने, विदेशमा कमाउने रकम स्वदेशमै कमाउन सकिने अवस्था रहेको होमस्टे नेपालका केन्द्रिय उपाध्यक्ष बस्यालले जोड दिए । 
    कार्यक्रममा सशक्तिकरण विकास नेपाल तानसेन पाल्पाका सचिव सागर पोखरेलले विगतको जन्तीलुङ्ग र हालको जन्तीलुङ्गको फरक अवस्था चर्चा गरेका थिए । सचिव पोखरेलले संस्थाले एक हप्ता सम्म गर्ने कार्यक्रमको उद्देश्य, प्रभाव  तथा महत्वको चर्चा गर्दै  होमस्टे सञ्चालन, व्यवस्थापन तथा कुक तालिमको बारेमा जानकारी गराएका थिए । 

तिनाउ गाउँपालिकाले  होमस्टेमा आउने पाहुनाहरुको लागि  जन्तीलुङ्गमा ७ वटा र मरामकोट २ वटा नयाँ घर निर्माण गरिरहेको छ । दुबै वडावासीलाई मौरीपालन तालिम, बंगुर पालन तालिम सञ्चालन गरिसकेको छ भने अबका केही दिनमा तरकारी खेती, बाख्रापालन तालिम, खाना पकाउने कुकु तालिम, अतिथी सत्कार तालिम, पाहुना कोठा सुत्ने कोठाको सजावट तथा अवलोकन भ्रमण जस्ता कार्यक्रमहरु सञ्चालन गरिने सशक्तिकरण  विकास नेपाल पाल्पाकी अध्यक्ष एन्जिना खनालले बताईन । जन्तीलुङ्ग र मरामकोट अहिले पनि स्थानीयहरुले होमस्टे कार्यक्रम सञ्चालन गरी पाहुनाहरुलाई राख्दै आएका छन् ।  जन्तीलुङ्ग सामुदायिक होमस्टेमा प्रतिव्यक्ति १ हजार २ सय रुपैयामा स्वागत, साझको खाजा, खाना, लोकल कुखुराको मासु, र विहानको खाजाको प्याकेज रहेको छ । प्राकृतिक रुपमा अति सुन्दर ठाउँ रहेको जन्तीलुङ्ग र मरामकोटबाट हिमालदेखी तराईसम्मका दृश्यहरु अवलोकन गर्न सकिन्छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ २६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update