
प्राकतिक, सांस्कृतिक र सामाजिक प्रणाली, आर्थिक तथा मानवीय क्रियाकलाप, यिनका अवयवहरु तथा ती अवयवहरुको बीचको अन्तरक्रिया तथा अन्तरसम्बन्धलाई वातावरण भन्ने गरिन्छ । पछिल्लो समय वातावरणीय समस्या एउटा गम्भीर चुनौतीका रूपमा देखिएको छ । मानव जीवनसँग प्रत्यक्ष वा परोक्ष सम्बन्ध राख्ने वातावरण दिनहुँ बिग्रदै जानुले मानवको अस्तित्व नै संकटमा पर्ने सम्भावना बढेको छ । बढ्दो जनसंख्याको कारण भएको अव्यवस्थित सहरीकरण, विभिन्न पूर्वाधारहरूको निर्माण, बढ्दो मात्रामा यातायातका साधनहरूको प्रयोग, विभिन्न रासायनिक पदार्थहरूको प्रयोगले गर्दा वातावरण दिन प्रतिदिन प्रदुषण हुने गरेको छ ।
नेपालमा जल, वायु, भूमि प्रदूषणको साथै दृश्य प्रदुषण पनि बढेको छ । मानवीय क्रियाकलापबाट सिर्जित बढ्दो सहरीकरण, फोहोरमैला, आणविक भट्टीबाट निस्कने विषालु ग्याँस, जनसंख्याको तीव्र वृद्धि, प्राकृतिक सम्पदाको तीव्र दोहन आदि नै वातावरणीय विनाशका प्रमुख कारणहरू हुन् । वातावरण तथा पर्यावरणका अवयहरुलाई संरक्षण, व्यवस्थापन र प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष विश्व वातावरण दिवस मनाउने गरिन्छ । सन् १९७३ देखि विश्वभर प्रत्येक वर्ष जुन ५ तारिखका दिन यो दिवस मनाउने गरिएको हो । आज पनि नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ । हरेक वर्ष दिवस मनाइने गरिए पनि यसले सार्थकता भने पाउन सकेको छैन । दिवसले चेतना जागृत गराउने उद्देश्य राखे पनि मानिसमा चेतना अवभावकै कारण वातावरण कुरुप बन्दै गएको छ । प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकको व्यवस्था संविधानले गरेको छ । वातावरण संरक्षण तीनवटै तहका सरकारको कार्य जिम्मेवारीभित्र पर्छ । वातावरण व्यवस्थापनका लागि नीतिगत तथा अन्य विद्यमान व्यवस्थाहरूले आफैं केही गर्न सक्दैनन् । वातावरण जोगाउन, वातावरणको उचित व्यवस्थापनका लागि त हरेक नागरिक सचेत बन्दै एकढिक्का भएर काम गर्न सक्नुपर्छ । सबैले आफ्नो काम हो भन्ने सोच र जिम्मेवारी बोध गर्नुपर्छ । वातावरण राम्रो बनाउनु हरेक नेपालीको कर्तव्य हो । मानिस स्वस्थ भएर बाँच्न वातावरण स्वस्छ हुनुपर्छ । वातावरण स्वच्छ हुन् जल, जमिन, ध्वनि, दृश्य, वायुलगायत सबै प्रकारका प्रदूषण रोकथाम र नियन्त्रणका लागि सरोकारवाला सबैले ध्यान दिन जरुरी छ ।