Shittalpati
विवाह नगरी बसेका महिला, पुरुषलाई सम्मान

पाल्पा, नेपाली समाजमा विवाह नगरी बस्ने महिला हुन् वा पुरुष दुवैलाई भिन्दै दृष्टि राखिन्छ । विवाह नै नगरी बसेका र कुनै समय श्रीमान वा श्रमितिसँग बसेर एक्लिएका (विशेष गरी सम्बन्धविच्छेद भएका र विधवा) एकल महिला, पुरुषप्रति समाजले हेर्ने नजर फरक छ । उमेर ढल्दै जाँदा एक्लै हुनुको पीडा एकातिर हुन्छ, त्यसमाथि परिवार र समाजबाट सान्त्वना, सहयोग, मायाको बदला दुव्र्यवहार खेप्नुपर्ने वातावरणले एकल महिला र पुरुषहरूको जीवन नारकीय बन्न पुग्छ । समाज र परिवारमा उनीहरूले स्वावलम्बी भई शिर ठाडो पारेर बाँच्न पाउने अधिकार निस्तेज पार्न अनेकौं प्रपञ्च रचिन्छ । तर जिल्लाको रिब्दीकोट गाउँपालिका –१ ख्याहाले भने खोजी – खोजी त्यस्ता व्यक्तिहरुलाई सम्मान गर्ने गरेको छ । वडा कार्यालयले समाजमा त्यस्ता व्यक्तिहरुलाई सम्मानजनक रुपमा बस्ने वातावरण सिर्जना गर्ने उद्देश्यले विवाह नगरी बसेका एकल महिला, पुरुषलाई सम्मान गर्ने गरेको हो ।

उसले वडा भित्रका एकल रुपमा बस्दै आएका १५ जना महिला तथा पुरुषलाई नगद ५ हजारसहित सम्मान गरेको छ  । विवाह नगरी बसेका ३५ बर्ष भन्दा बढी उमेरका महिला र ४० बर्ष भन्दा माथिका पुरुषहरुको साथै विवाह भई श्रीमान गुमाएका ६० बर्ष भन्दा कम उमेरका एकल महिला र श्रीमती गुमाएका ७० बर्ष भन्दा कम उमेरका एकल पुरुषहरुलाई पुरस्कृत गरिएको वडा अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । परिवारमा दाजु–भाई नभएका तर विवाह नगरी बाबा आमासँग बस्दै आएका एकल महिला, विवाह नगरेका पुरुष, श्रीमान तथा श्रीमती गुमाएका हामी जस्ता महिला तथा पुरुषहरुलाई सम्मान गर्नुले नेपालमै नयाँ अभ्यासको सुरुवात भएको सम्मानित एकल महिला–पुरुष बताउँछन् । “श्रीमतिको १४ बर्ष अघि मृत्यु भयो, छोरा छोरीको हेरचाहको लागि दोस्रो विवाह गरिन, अहिले नत छोरा छोरीले हेरे, नत आफन्त र सरकारले नै, आज वडा कार्यालयबाट हामी जस्ता दुःख पाएका व्यक्तिहरुलाई नगद सहित सम्मान गरेकोमा खुसी लागेको छ” जोगीथुमका केशव कुमालले भने ।

वडाले आफुहरुलाई सम्मान गरेकोमा मन खुसीको भएको बन्दना सुनाले बताईन् । उनले भनिन् “मेरा कुनै दाजुभाई छैनन्, म बाबा आमालाई पालेर बसेकी थिए, बाबा आमाको मृत्यु पछी म एकल जीवन विताउदै आएकी छु । एकल रुपमा भए पनि समाजमा आफ्नो काम गरेर जिविकोपार्जन गरेकी छु ।” उनले सम्मान स्वरुप पाएको रकमले औषधी उपचार तथा आपत विपद्मा खर्च गर्ने बताइन् । वडा कार्यालयबाट गाउँमा बसेका जनतासँग जोडिने काम भएको एकल महिला शारदा सुनारले बताईन् । उनले राज्यबाट कहि कतैबाट सम्बोधनमा नपरेका हामी जस्ता एकल महिला पुरुषलाई वडाले सम्मान गरेर हौसल्ला बढाएको भन्दै एकल महिला तथा पुरुषको विषयमा संघीय सरकारले समेत नीति परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको औल्याइन् ।

सम्मान कार्यक्रममा निवर्तमान वडा अध्यक्ष विष्णु प्रसाद गैरे, वडा सदस्य पवित्रा सुनार, नेकपा एमाले ख्याहाका अध्यक्ष तुल्सी प्रसाद न्यौपाने, नेपाली काँग्रेस ख्याहाका सचिव सन्तबहादुर विक, नेकपा माओवादीका ख्याहा अध्यक्ष पूर्णबहादुर वि.क. ख्याहाका पूर्व गाविस उपाध्यक्ष रामजी भट्टराई, समाजसेवी भिमलाल पाण्डे र दिवाकर पराजुली लगायतले वडा कार्यालयले जनताको हित हुने जनमुखी काम गरेको बताए । वडा अध्यक्ष चिरञ्जीवी पोखरेलको अध्यक्षता, सचिव हरिकला आचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो । वडा कार्यालयले विगतमा पनि गाउँबाट गोरु पालन हराउदै गएको समयमा “गाउँ–गाउँमा गोरु पालन अभियान, घर–घरमा सालको टपरी निर्माण”, एक सन्तानमा सिमित भएका दम्पत्तीहरुलाई “३ वटा सन्तान जन्माऔं, पुरस्कार पाऔ, घर बनाईदिन्छौ” , “जन्मघर फर्किआऊ” जस्ता अभियान चलाउँदै आएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update