Shittalpati
रुरु क्षेत्र धाममा शालिग्राम महोत्सव

पाल्पा, पाल्पा र गुल्मीको सङ्गमस्थल रुरुक्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव सञ्चालन भएको छ । पाल्पाको तानसेन नगरपालिका, गुल्मीको रुरुक्षेत्र गाउँपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका, रुपन्देहीको पर्यटन डिभिजन कार्यालयको आयोजना तथा ऋषिकेश मन्दिर व्यवस्थापन समितिको व्यवस्थानमा शुक्रबारदेखि महोत्सव सञ्चालन भएको हो ।

कालीगण्डकीमा पाइने शालिग्रामको प्रचार–प्रसार गर्ने उद्देश्य महोत्सवको रहेको छ । महोत्सवको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका हुन् । महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले रुरु क्षेत्र नेपालकै चारधाममध्ये एक रहेको बताउँदै ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलहरूको संरक्षण, प्रवद्र्धन तथा प्रचारप्रसारलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए । उनले लुम्बिनी प्रदेशलाई तपोभूमिका रूपमा उल्लेख गर्दै यस्ता महोत्सवहरूबाट धार्मिक पर्यटन प्रवद्र्धन भई प्रदेशको समृद्धिको आधार बन्न सक्ने विश्वास व्यक्त गरे ।

महोत्सवमा १ हजार ८ शालिग्रामको पुजन, बिक्री वितरण, ऋषिकेशवको रथयात्रा, झाँकी र्‍यालीलगायत भजनकिर्तन, कालीगण्डकीमा सन्ध्याकालीन आरती गर्ने कार्यक्रम छ । महोत्सवमा शालिग्रामका विषयमा प्रचार–प्रसार, प्रवद्र्धन, महत्व लगायतका विषयमा जानकारी दिइने ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टराईले जानकारी दिए । महोत्सव दुई दिनसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update