Shittalpati
रिब्दीकोट पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका एवं पूर्ण खोप दिगोपन सुनिश्चितता पालिका घोषणा भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचक पूरा गरेपछि पालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएको हो ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगर, जिल्ला समन्वय समिति प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष टंकनाथ खनाल, सदस्य सचिव तथा स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले एक समारोहबिच पालिकालाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त एवं पूर्ण खोप दिगोपन सुनिश्चितता पालिका घोषणा गरेका हुन् । उनीहरुले गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की, उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनाल, स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीलाई घोषणाको प्रमाणपत्र प्रदान गरे । 

घोषणा सभामा बोल्दै सभामुख घर्तीले घोषणापछि नवजात शिशु र आमाको स्वास्थ्यमा सुधार ल्याउने बताए । प्रसुतिको समयमा आमाको मृत्यु भएपछि जिन्दगीभर आमा देख्न नपाउनेको पीडा हामीले अनुभव गर्न नसकिने भन्दै त्यस्तो कुनै पनि नागरिकले भोग्न नपर्ने गरी स्वास्थ्यको पहुँच बढाउन पालिकाले जोड दिनपर्ने उनले बताए । जिल्ला खोप समन्वय समितिका प्रमुख टंकनाथ खनालले घोषणासँगै दिगोपनाका कार्यक्रमहरुलाई नीतिगत रुपमै सम्बोधन गरेर प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

पूर्ण संस्थागत प्रसुति स्थानीय तह घोषणा गर्न प्रदेश स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड निर्देशिकाले चार पटक गर्भजाँच कम्तीमा ९० प्रतिशत हुनुपर्ने, सुत्केरी भएका मध्ये ९५ प्रतिशत महिलाले दक्ष प्रसुतिकर्मीहरुको उपस्थितिमा स्वास्थ्य संस्थामै प्रसुति हुनुपर्ने, घरमा हुने प्रसुति शुन्य हुनुपर्ने र प्रसुति पछि पनि ९० प्रतिशतले जाँच हुनुपर्ने प्रावधान रहेको छ । सो प्रावधान अनुसार पालिका भित्र एक बर्ष अवधिमा १९३ जना गर्भवती भएकोमा १९२ जनाले ४ पटक गर्भजाँच गराएको र १९३ जना नै स्वास्थ्य संस्थामा प्रसुती भएको, विगत तीन वर्षदेखि कुनै पनि महिलाले घरमा, बाटोमा नभई स्वास्थ्य संस्थामै सुत्केरी भएको स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताए ।

पूर्ण खोप दिगोपन सुनिश्चितता पालिका घोषणा हुनको लागि पालिकामा जन्मिएका १५ महिना मुनिका सबै वालवालिकाले १३ वटा सरुवा रोगहरुको खोप अनिवार्य रुपमा लगाएको हुनु पर्दछ । जसमा ४४ जना दलित, ९२ जना जनजाती, २८ जना ब्राहमण क्षेत्री र १ जना मुस्लिम गरी १६५ जनाले खोप लगाएका छन । १६ महिना देखी ५९ महिना सम्मका १७२ जना दलित, २९८ जना जनजाती, १२६ जना ब्राहमण क्षेत्री गरी ५९६ जना वालवालिकाले पूर्ण खोप लगाएका छन । भारतमा बस्दै आएका वडा नंं ८ का दुई वालवालिकाहरुको छुटेको खोप लगाएर २०८१ चैत्र मसान्त सम्म ५ बर्ष मुनिका ७६१ जना वालवालिकाहरुले खोप प्राप्त गरी, कहि कतै बाट पनि कुनै पनि वालवालिका नछुटेको खोप समन्वय समितीबाट प्रमाणित भएपछि पालिकालाई पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा गरिएको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणीप्रसाद खनाल, गाउँपालिकाका पूर्वअध्यक्ष नारायण बहादुर जीसी, उपाध्यक्ष लक्ष्मी खनाल, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेललगायतले घोषणा कार्यक्रमबाट बालवालिकाको मृत्यु दर पूर्ण रुपमा घटाएको, भविष्यमा सरुवा रोगको जोखिम हटाएको, स्वस्थ्य समाज निर्माणमा सहयोग पुगेको धारणा राखेका थिए । पालिकाका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पालिकाका प्रशासन प्रमुख रुकलाल भट्टराईले गरेका थिए । पाल्पाका १० वटा पालिकामध्ये ५ वटा पालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा भएका छन् । जसमा पुर्वखोला, बगनासकाली र रम्भा केही बर्ष पहिले नै घोषणा भएका थिए भने गत बर्ष माथागढी पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा भए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update