
बराह पुराण अनुसार भृगुवंशमा देवदत्त नाम गरेका एक तपस्वी ऋषि थिए । उनी कालीगण्डकीको तटमा तपस्यारत थिए । उनको तपस्या भङ्ग गर्न भनेर स्वर्गका राजा इन्द्रले प्रम्लोचना नामकी अप्सरालाई पठाए । अप्सरादेखि मोहित भई ऋषिले धेरै समयसम्म सहवास गरे । अप्सरामा गर्भ रहेको थाहा पाएपछि ऋषिलाई महापश्चाताप भयो । कालीगण्डकीवारीको “गलफुल” गुफा छाडी गण्डकी पारीको वनमा गई साधानारत भई सिद्धि प्राप्त गरे । उनको त्यो सिद्धि प्राप्तिस्थल भृगुतुङ्गेश्वर नामले प्रख्यात रहन गयो । यो दर्शनीय स्थल अद्यावधि छदैछ ।
यता अप्सराले एउटा बालिकालाई जन्म दिइन् । सुन्दरता र यौन सुखलाई मात्र महत्व दिने, ममतामयी हृदय नभएकी प्रम्लोचना अप्सराले बालिकालाई जन्म दिई अलपत्रै वनमा छाडेर गईन् । बनमा एक्लै रोइरहेकी मानवी कन्यालाई देखेर दया लागि रूरू जातिका मृगहरूले स्तनपान गराएर हुर्काए, वढाए । यसपछि ती कन्यालाई ‘रूरूकन्या’ भन्न थालियो । उनी सदा सर्वदा कल्याणकारी भगवान श्रीविष्णुको अटल आराधनामा तपस्यारत भईन् । एकदिन श्रीविष्णु खुशी भई वरदान माग भन्ने आज्ञा भयो । रूरू कन्याले हात जोड्दै भनिन् “भगवान् ! हजूरको दर्शनले म धन्य भए । हजुरको भक्ति बाहेक मलाई अरू केही चाहिदैन । मैले यसै ठाउँमा सदैव हजुुरको दर्शन पाईरहुँ ।” “रूरू ¤ तिम्रो तपस्याबाट म प्रशन्न भए । कालीगण्डकीको यो भूमि तिम्रो तपःस्थल अब देखि रूरू क्षेत्रको नामले परम पवित्र प्रसिद्ध रहिरहनेछ, तथास्तु“भनी चर्तुबाहु विष्णु भगवान शालिकग्राम शिलामय भई “ऋषीकेश” मूर्तिको रुपमा रहनु भयो । ऋषीकेशको अर्थ इन्द्रियहरूका स्वामी मानिएका भगवान विष्णुको स्वरुप हो ।
कालान्तरमा यो मूर्ति रुरुक्षेत्र कालीगण्डकीकै जलमा डुविरहेको अवस्था थियो । आजभन्दा करीव पाँचसय वर्ष अघिको कुरा हो । त्यतिवेला विशाल पाल्पा राज्यका राजा मणिमुकुन्द सेन (प्रथम) थिए । पाल्पा राज्यको सीमाना पूर्वमा वराह क्षेत्र, पश्चिममा रूरू क्षेत्र, उत्तरमा मुक्ति क्षेत्र र दक्षिणमा हरिहर क्षेत्रसम्म फैलिएको थियो । मुकुन्द सेन अत्यन्त वीर पराक्रमी प्रतापी हुनुका साथै अत्यन्तै धार्मिक स्वभावका राजा थिए । मुकुन्द सेनको दरवार त्यतिबेला अहिलेको भैरवस्थान नजिकैको पूरनकोट (पूर्णकोट) डाँडामा थियो ।
उनी सधै विहान सबेरै उठेर कालीगण्डकीमा स्नान गर्न जान्थे । एकरात राजाले एउटा अपूर्व सपना देखे । सपनामा शंख, चक, गदा, र पद्मले सुशोभित चर्तुबाहु विष्णु भगवान प्रकट भई भने, “हे राजन ! भोलि विहान तिमी कालीगण्डकीको स्नान गर्न जाँदा जलभित्र एउटा शिलामूर्ति भेटाउने छौं । शिलालाई जलबाहिर निकाली मन्दिर बनाई यही रूरू क्षेत्रमा स्थापित गर्नु, यस पुनित कार्यबाट तिमी, तिम्रो राज्य र समस्त प्रजाहरूको हित र कल्याण हुनेछ ।” भोलिपल्ट विहान सबेरै राजा सैनिक, गुरु, पुरोहित सहित कालीगण्डकी तटमा गएर नित्य स्नान गर्न डुबुल्की लाउँदा उनको टाउकोले एउटा शिलामा छोयो र राजाले उक्त शिलालाई जलबाट बाहिर निकाल्न सैनिकहरूलाई भने तर उनीहरुले अनेक प्रयत्न गर्दा पनि शिला उठाउन सकेनन् । राजालाई चिन्ता भयो र आश्चर्य सहित धैर्य गर्दै विष्णु भगवानको स्मरण गर्दै जलभित्र स्वयम् प्रवेश गरेर दुवै हात फिजाई शिलालाई उठाउन खोज्दा शिला फूलको थुङ्गाझै सजिलै राजाको करकमलमा उठ्यो । शिला लिएर राजा जलबाहिर आए । शिला शालिग्रामले बनेको चर्तुबाहु कालो श्रीनारायणको सुन्दर मूर्ति थियो । सबैले श्रीनारायणको अपूर्व दर्शन गरे ।
त्यो दिन कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीको दिन थियो । राजाले कालीगण्डकीको तीर रूरू क्षेत्रको पाल्पा खण्डमै श्री नारायणको मूर्ति प्रतिष्ठापित गरे । यो मूर्ति ‘ऋषीकेश’ को नामले प्रख्यात छ । ‘ऋषीकेश’ लाई ‘ऋषीकेशव’ पनि भनिन्छ । यहाँ हरिबोधनी एकादशी, वैशाखे सक्रान्ति र माघे सक्रान्तिको दिन ठूलो मेला लाग्दछ । पितृमोक्षका लागि अन्तिम संस्कार, पितृतर्पण श्राद्ध कार्य, विवाह, व्रतबन्ध, चौरासी पूजा, सप्ताह लगायतका धार्मिक कार्य समेत हुने गर्दछ । कार्तिक शुक्ल हरिबोधनी एकादशीका दिन वडो धुमधामका साथ “ऋषीकेशव” भगवानको रथयात्रा निकाली रूरू क्षेत्रमा परिक्रमा गराइन्छ । तीर्थराज प्रयाग,कुरूक्षेत्र र नैमिषारण्यमा सय पटक स्नान गर्नाले जुन फल पाउँछ त्योभन्दा सयौं गुणा बढी फल कालीगण्डकीको रूरू क्षेत्रमा एकपटक स्नान गर्दा मिल्छ । रूरू क्षेत्रलाई रिडी पनि भनिन्छ । कालीगण्डकीको तीरमा अवस्थित रूरू क्षेत्र, रिडी पाल्पा, गुल्मी र स्याङ्जाको स·मस्थलको रुपमा रहेको छ । पाल्पाको सदरमुकाम तानसेनबाट तीस किलोमिटरको उत्तर पश्चिममा रहेको रूरू क्षेत्र धामको कालीगण्डकीमा स्नान गरी ऋषीकेशको दर्शन गर्नाले सम्पूर्ण पाप र दुःख नाश भई ठूलो पुण्य प्राप्ति हुन्छ । यस लोकमा सुख शान्ति र समृद्धि पाई परलोकमा मोक्ष मिल्दछ भन्ने फलस्तुति रहेको छ । पौराणिक धार्मिक किवंदन्ती र सेनकालीन इतिहाससँग जोडिएको कालीगण्डकी, रूरूकन्या र ऋषीकेशको अलौकिक महिमारुपी रूरू क्षेत्र नेपालको अपूर्व दर्शनीय भू–स्वर्ग हो । (रेग्मी स्थापित साहित्यकारका साथै ऐतिहासिक पौराणिक कथनमा कलम चलाउदै आएका लेखक हुन्)