Shittalpati
रेडक्रस दिवसको सान्दर्भिकता

विश्व रेडक्रस दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । यो हरेक वर्षको मे ८ मा मनाउने गरिन्छ । रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै आजको दिनलाई विश्वभर रेडक्रस दिवसका रुपमा मनाइने गरिन्छ । विशुद्ध मानविय सेवालाई ध्यानमा राख्दै हेनरीले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना गरेका थिए । उनको विचारलाई आदर सम्मान गर्दै सन् १८६४ मा जेनेभा सम्मेलनबाट आधिकारीक मान्यता प्राप्त ग¥यो । तर नेपालमा भने वि.स. २०२० सालमा मात्र रेडक्रसको स्थापना भएको हो ।

रेडक्रसले मानवीय सेवाका विविध आयामहरुमा काम गर्दै आए पनि यसको मुख्य लक्ष्य चाहिँ मानव उद्धार नै हो । मानव तथा प्रकृतिबाट घटित हरेक विपत्तिमा पीडितको उद्धार तथा जीवन रक्षा गर्नु रेडक्रसको मूल धर्म हो । रेडक्रसका निकाय र यसमा आवद्ध लाखौं रेडक्रसकर्मीहरुका लागि आजको दिन एउटा विशेष पर्व हो । यो मानवीय गतिविधि, यसका आदर्श सिद्धान्त र समृद्ध इतिहासलाई प्रचार–प्रसार गर्ने एउटा महत्वपूर्ण अवसर पनि हो । रेडक्रस अभियानले हरेक वर्ष विश्वभरी सशस्त्र संघर्ष, प्राकृतिक प्रकोप र अन्य आकस्मिक परिस्थितिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

रेडक्रसको जन्म पछाडी मानव पीडाको कथा जोडिएको छ । यो मानवतावादी संस्था स्थापनाकालदेखि नै हरेक प्रकारका मानवीय पीडा कम एकाग्र चिन्तनका साथ समर्पित रहँदै आएको छ । मानवता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, ऐच्छिक सेवा एकता र विश्वव्यापकता जस्ता मुख्य सात सिद्धान्तमा अडिग यो पवित्र संस्था हो । तर पछिल्लो समय यो संस्था विवादमा छ । नियमित रुपमा नवीकरण र साधारणसभा नगर्नुले रेडक्रसमाथि शंकाको दृष्टिकोणले हेर्न थालिएको छ । भ्रष्टाचारले चुर्लुम्म डुबेको र राजनीतिक हस्तक्षेप पनि उस्तै भएकाले सेवामूलक संस्थाको रुपमा दर्जा पाएको रेडक्रसले अहिले बदनाम खेप्नु परेको छ । यो अत्यन्त दुखको कुरा हो । रेडक्रस अभियानको लक्ष्य जुनसुकै समय र स्थानमा हुन सक्ने मानवीय पीडा हटाउनु वा कम गर्नु पनि हो । सोही लक्ष्य अनुसार मानवीय सेवाका विषयमा आवश्यक पर्दा सरकारलाई सहयोग गर्दै रेडक्रस जनचेतना फैलाउँदै घर–घरमा पुग्न पनि रेडक्रस सक्नुपर्छ । सामाजिक सद्भाव अभिवृद्धि गराउने दिशामा रेडक्रसले आफुलाई सक्रिय बनाउनुपर्छ । यसो गर्न सके मात्र रेडक्रस दिवसको सान्दर्भिकता रहन्छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update