
पाल्पा, पाल्पा र गुल्मीका पत्रकारहरुको लागि दुई दिने डिजिटल क्षमता विकास तालिम तानसेनमा भएको सुरु भएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजना, लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग र पत्रकार महासंघ पाल्पा शखाको व्यवस्थापनमा तालिम सञ्चालन भएको हो ।
दुई दिनसम्म चल्ने तालिमको मंगलबार एक औपचारिक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ । तालिमको नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा पाल्पा शाखाका संस्थापक अध्यक्ष मेघराज शर्माले उद्घाटन गरेका हुन् । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि शर्माले पत्रकारिता गरिरहेका पुस्ता र नव उदाउदा पत्रकारहरुलाई प्रविधिमा आधारित रहेर सञ्चालन भएको तालिम प्रभावकारी हुने बताए । विगतका दिनमा परम्परागत रुपमा भएको पत्रकारिता अबका दिनमा डिजिटल प्रविधिमा आधारित रहेर गर्नुपर्ने भएकोले तालिम उपयोगी हुने कुरामा बरिष्ठ पत्रकार शर्माले जोड दिए ।
कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष मिना ढकालले डिजिटल पत्रकारिताको प्रभाव, महत्व तथा बर्तमान अवस्थाको चर्चा गरेकी थिईन । पत्रकारिता गर्ने व्यक्तिले अबका दिनमा डिजिटल प्रविधिको बारेमा पुर्ण ज्ञान हुनुपर्ने भएकोले लुम्बिनी प्रदेशभरीका पत्रकारहरुको लागि तालिम सञ्चालन भएको प्रदेश उपाध्यक्ष ढकालले जोड दिईन । महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले पछिल्लो समयमा नयाँ पुस्तामा पत्रकारिताको रुची र चाहाना घट्दै गएको समयमा प्रदेश समितिले दुई जिल्लालाई समेटर गरेको डिजिटल पत्रकारिता तालिमले समाचार लेखनमा सहयोग पुग्ने बताए । तालिममा नेपाल प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष चेतन अधिकारीले पत्रकारितामा तथ्याङ्कको प्रयोग, लुम्बिनी प्रदेश संसदिय मामिला पत्रकार समाजका अध्यक्ष घनश्याम गौतमले ३ वटै क्षेत्रको संसदीय पत्रकारीता, बरिष्ठ पत्रकार माधव नेपालले डिजिटल पत्रकारिकाताको बारेमा सहजीकरण गरेका छन् । दोस्रो दिनको तालिममा प्रदेश समिति अध्यक्ष शुक्रऋषि चौलागाई, बरिष्ठ पत्रकार शंकर प्रसाद खनाल लगायतले सहजीकरण गर्ने महासंघ पाल्पा शाखाका सचिव रामचन्द्र रायमाझीले जानकारी दिए । उनका अनुसार तालिममा पाल्पा र गुल्मीका ५० जना पत्रकारहरुको सहभागिता रहेको छ । उनीहरुलाई डिजिटल मिडियामा समाचार लेखन सम्बन्धी ज्ञान प्रदान गरिने सचिव रायमाझीले बताए । महासंघ लुम्बिनी प्रदेश समिति उपाध्यक्ष राम प्रसाद आचार्यको अध्यक्षता, सचिव गोविन्द शर्माको सञ्चालनमा उद्घाटन कार्यक्रम भएको थियो ।