Shittalpati
हाँसेर नै रोगलाई जितिन्छ

हाँसोले मानिसको स्वास्थ्य ठीक राख्न पनि मद्दत गर्छ । हाँस्नु शारीरिक तथा मानसिक स्वास्थ्य दुवै हिसावले फाइदाजनक हुने चिकित्सकहरु बताउँछन् । यदि कोही मानिस दिल खोलेर हाँस्छ भने उसको तनाव हट्नुका साथै शरीरलाई पनि राम्रो कसरत हुन्छ । दैनिकजसो नियमितरूपमा मानिस मुस्कुराइरहन्छ भने उसमा मुटुसम्बन्धी रोग लाग्ने सम्भावना कम हुन्छ । धेरै मानिस खुलेर हाँस्दा अनुहारको छालामा चाँडै चाउरीपन देखिन्छ भन्ने धारणा छ तर त्यो गलत हो । खुलेर हाँस्नाले छाला चाउरिने होइन, बरु हाँस्दा उत्तपन्न हुने विभिन्न खालका हर्मोनहरुले छालालाई झन् चम्किलो बनाउने गर्छन् ।

हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भ्रातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउनका लागि हरेक वर्ष विश्व हाँसो दिवस मनाइने गरिन्छ । आजविश्वभर यो दिवस मनाइँदै छ । अहिलेको अवस्थामा हाँसो दिवसको महत्व अत्यन्त ठूलो रहेको छ । हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्द गर्नुका साथै रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्न सहयोग पुर्‍याउँछ । हाँसोले तनावका हार्मोनलाई घटाई स्वस्थ रहने रसायन बढाउँछ । साथै मुटुको चाल घटबढ हुने समस्यासमेत कम गर्छ । मोटोपन भएकाहरुले दैनिकरुपमा १० देखि १५ मिनेटसम्म खुलेर हाँस्नाले मोटोपनको समस्याबाट जोगिन सक्छन् । मानसिक तनाव, रिस, घमण्ड, भोक, पीर तथा चिन्ता कम गर्ने तथा नकार्न प्रयोग गरिने अचुक औजार मुस्कान वा हाँसो सामाजिक जीवन तथा स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ । खुसीले मानिसलाई सफलता र सुख दिन्छ । जीवनमा सफलता र सुख मिल्यो भने मात्र स्वास्थ्य जीवन जिउन सकिन्छ । 

तपाईंको व्यवहारिक समस्याहरु छ । पारिवारिक समस्या छ । तैपनि तपाईं धेरैजसो समय उन्मुक्त हाँस्नुहुन्छ भने घरमा उक्त समस्याको कुनै संकेत देखिदैन । घरको वातावरण उमङ्गमय हुन्छ । तपाईं जति उदास, चिन्तित, तनावग्रस्त देखिनुहुन्छ, घरको माहौल उत्तिनै खराब देखिन्छ । आफ्ना श्रीमान/श्रीमतीका अगाडि, बालबच्चाका अगाडि, आफन्तका अगाडि तपाईं मात्र प्रफुल्ल देखिनुहोस् । सानोतिनो कुरामा पनि खुलेर हाँस्नुहोस् । घरको माहौल सुन्दर बन्छ । हाँस्नले शान्ति मात्रै मिल्दैन रोगलाई समेत जित्न सकिन्छ । तसर्थ सधैँ हासौं र सधैँ खुसी रहुँ ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update