
आन्दोलनको झण्डै एक महिनापछि शिक्षकका माग सम्बोधन गर्न सरकार तयार भएको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा दुई पक्षबीच नौ बुँदे सहमति भएको छ । नौ बुँदे सहमति मन्त्रिपरिषद्ले समेत अनुमोदन गरेको छ । ढिलाई भए पनि सरकारले शिक्षकहरुका माग सम्बोधन गर्ने सहमति गर्नुलाई सकरात्मक रुपमा लिनुपर्छ ।
शिक्षकहरुको लगातारको आन्दोलनले देशको शिक्षाक्षेत्र नै गम्भीर संकटमा पर्ने स्थिति सिर्जना भएको थियो । लाखौँ विद्यार्थीको पढाइ बन्धक बन्न पुग्यो । कक्षा १२ का करिब साढे ५ लाख विद्यार्थीहरुले समेत समयमा परीक्षा दिनबाट बञ्चित भए । शैक्षिक सन्तुलन भाँडिँदै गएको र सार्वजनिक शिक्षाको जग नै हल्लाउने खतरा बढेर गएको अवस्थामा सरकारले शिक्षकहरुका माग सम्बोधन गर्ने जुन प्रतिवद्धता जनाएको छ त्यो स्वागतयोग्य छ । सरकारले असार १५ गतेभित्र विद्यालय शिक्षा ऐन जारी गर्नेसहित शिक्षक, विद्यालय कर्मचारीलाई निजामती अस्पतालमा सहुलियतमा उपचारको व्यवस्था मिलाउने, राहतलगायत अस्थायी शिक्षकलाई बिरामी बिदा सञ्चित गर्ने, सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने, ग्रेड समायोजन गर्ने, बालविकास शिक्षकलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउने र शिक्षकको मर्यादाक्रम निर्धारण गर्नेलगायत सहमति गरेको छ । सहमतिसँगै शिक्षकले आन्दोलन फिर्ता गरेका छन् ।
शिक्षकहरूले सरकारद्वारा प्रस्तावित शिक्षा विधेयकप्रति असहमति जनाउँदै आन्दोलन चर्काएका थिए । उनीहरुले स्थायित्व, सम्मानजनक पेसागत हैसियत र नीति निर्माण प्रक्रियामा निष्पक्षताको जुन माग गरे ति जायज थिए । शिक्षाको स्तर सुधार गर्न स्वयं शिक्षक नै लाग्नु पथ्यो । त्यसमा शिक्षकहरुको संघर्षलाई समेत राम्रै मान्न सकिन्छ । विषय जे सुकै भए पनि सरकारले जनतालाई समस्या परेका बेला अभिभावकीय जिम्मेवारी निर्वाह गर्नुपर्छ । यो जिम्मेवारीलाई सरकारले ढिलाई भए पनि सम्बोधन गर्ने दिशामा छ । यद्यपी सहमति गर्नु मात्र ठूलो कुरा हैन, त्यसको कार्यान्वय पक्ष पक्ष महत्वपूर्ण रहन्छ । विगतमा पनि शिक्षकहरुसँग सरकारले थुप्रै सहमति नगरेको हैन तर ति सहमतिहरु कार्यान्वयन नगर्दा समस्या उत्पन्न भएको हो । अब पनि सरकारले आन्दोलन रोक्ने नाममा सहमति गरेको हो भने त्यो सरकारका लागि नै बाधक हुने छ । यसर्थ सरकारले शिक्षकहरुसँग जुन सहमति गरेको छ, ति सहमतिहरुलाई अक्षरांस कार्यान्वयन गर्ने दिशामा ध्यान दिन जरुरी छ ।