
सुशिल बस्याल
लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । यो फूललाई भारतको उत्तराखण्ड राज्यको पनि राष्ट्रिय फूलको रूपमा राखिएको छ । यो फूल पहाडी भेगमा पाईने गुराँसको फूल हो । यो सामान्यतया माघ, फागुन तिर फूलेको देखिन्छ । तर छिटो फूल्ने ठाउँमा यो फूल पुषको महिनामा पनि फूलेको देखिन्छ । फूलको रंग रातो हुन्छ । फूलको आकार औसत अरु फूलहरू भन्दा केही ठूलो हुन्छ । यसको पात लामो हुन्छ । पातको लम्बाइ लगभग ५ देखि १० से.मी. सम्म हुन्छ । यसको रुखको उँचाई र आकार ठाउँ अनुसार फरक हुन्छ । निम्न पहाडी भू–भागमा यसको रुख मध्यम खालको हुन्छ भने उच्च पहाडी भागमा यसको रुख धेरै ठूलो र झ्याम्म परेको हुन्छ ।
रोयल बोटानिक गार्डेन्स क्यु लन्डनका अनुसार संसारभर गुराँसको १ हजार ७३ प्रजाति छन् । तीमध्ये एक प्रजाति लालीगुराँसको वैज्ञानिक नाम रोडोडेन्ड्रन अर्बोरियम हो । गुराँस जातिअन्तर्गत लालीगुँरास सबैभन्दा अग्लो रुख हुने प्रजाति हो । यो प्रजाति नेपाल पाकिस्तान, भारत, नेपाल, श्रीलंका, तिब्बत, भुटान, म्यान्मार, भियतनामसहित म्यान्मार र भियतनामसँग जोडिएको चीनको दक्षिणपूर्वी क्षेत्र युनानमा प्रचुरतम मात्रामा पाइन्छ । विभिन्न अभिलेखबाट नेपालमा अहिलेसम्म गुराँसको ३४ प्रजाति छन् भन्न सक्ने अवस्था छ । तीमध्ये सबैभन्दा प्रचुर मात्रामा पाइने लालीगुँरास हो । यो समद्री सतहबाट १२ सयदेखि ३५ सय मिटर भौगोलिक उचाइसम्म पाइन्छ । नेपाल सरकार वन तथा भू–संरक्षण मन्त्रालयले २०७५ सालमा जारी गरेको गुराँस संरक्षण कार्ययोजना (२०७५–२०८०) अनुसार गुराँस ४३ जिल्लामा पाइन्छ । लालीगुँरासको पुष्प पत्रको भित्री आवरणमा अक्सर काला थोप्लाथोप्ली हुन्छ । यस्ता थोप्लाथोप्ली कुनैमा बढी र कुनैमा कम हुन्छ । यही थोप्लाथोप्लीबाट यो प्रजाति सजिलै पहिचान गर्न सकिन्छ । यो प्रजातिको फूल रातो मात्र नभई सेतो, खरानी, हल्का पहेँलो आदि रङमा फुल्छ । भौगोलिक सतह कम उचाइ र पारिलो घाम भएको ठाउँमा पुस महिनाबाटै फुल्न सुरु हुन्छ । ३४÷३५ सय मिटर उचाइमा भने असारसम्म फुल्छ । त्यो उचाइमा यसको बोट पोथ्रा जत्रो हुन्छ । लालीगुराँसले वातावरणलाई नै सौन्दर्य बनाउने गर्दछ । एक पटक कल्पना गरेर हेरौं त हरेक घरको आँगनमा राताम्य लालीगुँरास फुलिरहेको छ । बिहानको घामसँगै गन्ध र रङ फैलिरहेको छ, र ती फूलले केवल वातावरण मात्र होइन, हाम्रो मन, मुटु र जीवनशैलीलाई पनि सजाइरहेको छ । तर पछिल्लो समय यही लालीगुराँस मानविय अतिक्रमणले गर्दा नासिदैै गएको पाइन्छ । यसको सरंक्षण अहिलेको आवश्यकता हो । यही आवश्यकतालाई महसुस गरे “एक घर एक लालीगुँरास” अभियान चलाइएको छ । जहाँ प्रकृति, संस्कृति र नागरिकको सहकार्य मिसिन्छ । लालीगुँरास केवल फूल होइन, यो हाम्रो राष्ट्रिय पहिचान हो । हिमालदेखि पहाडसम्म फक्रने यस फूलले नेपाली स्वाभिमान र प्राकृतिक विविधताको प्रतिनिधित्व गर्छ । तर आज, आधुनिक जीवनशैली र शहरीकरणको दौडमा हराउँदै गएको यो सौन्दर्य पुनः घर–घरमा फर्काउने प्रयास यो अभियानको हो ।
के हो अभियानको सार ?
“एक घर एक लालीगुँरास” भन्ने सरल भनाइमा ठूलो दृष्टि लुकेको छ—हरेक नागरिकलाई वृक्षारोपण, संरक्षण र हरियालीको अभियन्ता बनाउने । यो केवल बिरुवा रोप्ने काम होइन, आफ्नो जग्गामा सकारात्मक ऊर्जा रोप्ने काम हो ।
वास्तुशास्त्रले के भन्छ ?
वास्तुशास्त्रका अनुसार, घर वरिपरि हरियाली हुनु स्वास्थ्य, समृद्धि र सन्तुलनको प्रतीक हो । लालीगुँरास जस्तो रातो फूलले घरमा आत्मबल, प्रेरणा र उत्साह ल्याउँछ । विशेष गरी पूर्व र उत्तर दिशामा बिरुवा राख्नाले घरमा सकारात्मक ऊर्जा बढ्छ ।
नागरिकलाई के फाइदा ?
–शुद्ध वायु र हरियालीको लाभले स्वास्थ्यमा सुधार
–घरको सौन्दर्यता र सकारात्मक माहोल
–बालबालिका र जेष्ठ नागरिकमा प्रकृतिप्रति झुकाव
–सामाजिक सन्देश: “मेरो रुख, मेरो जिम्मेवारी”
–भविष्यमा हरित पर्यटन र आर्थिक सम्भावना
सामूहिक प्रयास, दीगो विकास
यो अभियान व्यक्तिगत प्रयासबाट सुरु भए पनि सामुदायिक रूप लिँदैछ । विद्यालयमा लालीगुँरास क्लब, सामूहिक वृक्षारोपण, तालिम, अवलोकन भ्रमण—यी सबैले स्थानीय तहमा हरित नेतृत्व र वातावरणीय चेतना फैलाइरहेका छन् । प्राकृतिक सौन्दर्यसँगै यस फूलमा लुकेको औषधीय गुणले गुराँसलाई विशेष बनाउँछ । यसको रसले कलेजो, मिर्गौला, मुटु तथा हड्डीका समस्यामा राहत दिन्छ, र उच्च रक्तचाप नियन्त्रणमा उपयोगी मानिन्छ । गाउँघरमा माछाको काँडा अड्किएको बेलामा गुराँसको जुस प्रयोग गरिन्छ ।
यदि तपाईंको ठाउँमा हुन्न भने–हुने ठाउँमा रोप्नुहोस् हो,सबै ठाउँमा लालीगुँरास हुन्न । यो प्राकृतिक रूपमा खास उचाइ, चिसो वातावरण र माटो चाहिन्छ । तर त्यसले रोक्दैन तपाईंलाई । यदि तपाईंको घरमा हुन्न भने–छिमेकीको बारी, विद्यालयको कम्पाउन्ड, सामुदायिक वन, मन्दिरको आँगन, वा गाउँको खुला ठाउँमा एउटा बिरुवा रोप्नुहोस् । एक बिरुवा तपाईंको तर्फबाट । तपाईंको नाममा । तपाईंको सपना बोकेर ।
अन्ततः लालीगुँरासको देशमा हरियालीको क्रान्ति जब हरेक घरको आँगनमा लालीगुँरास फुल्छ, त्यो केवल फूल होइन—त्यो एक सोचको फुलावट हो । यो अभियान भविष्यका पुस्तालाई हरियाली सुम्पने संकल्प हो । गुराँसले हामीलाई स्मरण गराउँछ । प्रकृति हाम्रो जीवनको मूल हो । यसको संरक्षण गर्नु, यसको उपयोगितालाई सम्मान गर्नु र यसको सांस्कृतिक मूल्य बुझ्नु आजको आवश्यकता हो । गुराँस मात्र फूल होइन, यो हाम्रो जीवनशैली, स्वास्थ्य र संस्कृतिसँग जोडिएको एक अमूल्य सम्पदा हो । आउनुहोस्, लालीगुँरास रोपौं—प्रकृतिमा प्रेम रोपौं । (लेखक बस्याल राष्ट्रप्रेमी तथा लालीगुराँस अभियान्ता समेत हुन् ।)