गुल्मी,जिल्लाको सुदुरपूर्वमा पर्ने स्थानीयतहहरुले आफ्नो पायक पर्ने स्थानमा इलाका प्रसाशन कार्यालय स्थापनाका लागि पहल कदमी गर्ने अभियानलाई अगाडि बढाएका छन् । जिल्ला सद्रमुकाम तम्घासदेखि ८० किलोमिटर टाढा सम्म पर्ने कतिपय गाउँका जनतालाई इलाका प्रसाशन कार्यालय पायक पर्ने स्थानमा नभएका कारण दुख पाएको सेवाग्राहीको गुनासो आएपछि यहाँका स्थानीय सरकारले पहल थालेका हुन् ।
विहान घरबाट चार घण्टादेखि सात घण्टा लामो समय पछि मात्र सदरमुकाम पुगिने र त्यहाँ पुग्दा सेवा दिने कार्यालयहरु बन्द हुँदा समस्या उत्पन्न हुने गरेको स्थानीयको गुनासो छ । कतिपय सेवाग्राहीले सुदुरपुर्वबाट सदरमुकाम तम्घास पुग्दा पुग्दै टोकन सकिने र राहदानी, परिचयपत्र र अरु सेवा लिनका लागि अर्को दिनसम्म कुर्नै पर्ने बाध्यता रहेको बताउँछन् ।
संघीयताको मर्मर भावना अनुरुप राज्यले जनताका समस्याहरु समाधान गर्ने र सेवाग्राही कार्यालयहरुको स्थापना र सेवाका विषयमा सोच्ने हो भने इलाका प्रशासन कार्यालय स्थापना अनिवार्य भएको सुदुरपूर्वको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदवहादुर थापाले बताए । आफ्नो गाउँपालिको तर्फबाट रुरु क्षेत्रको रिडी बजारमा राख्न उपयुक्त हुने गरी शिफारिस समेत गरेको उनको भनाई छ । ‘यो काम छिट्नै हुनुपर्छ, अन्यथा संघीयताको मर्म र भावनाको कदर भएको मानिने छैन’ अध्यक्ष थापाले भने ।
मुसिकोट,चन्द्रकोट,सत्यवती,कालीगण्डकीलाई पायक पर्ने गरी प्रशासनिक कार्यालय स्थापना हुनुपर्ने चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले बताए । चन्द्रकोट कार्यापालिकाले वडा नं.८ को तुरांगमा यी सबै कार्यालय स्थापना हुनुपर्छ भन्ने आसयको शिफारिश पठाएको उनको भनाई छ । ‘यो विषय बहसमा आएको छ, जे भए पनि यस क्षेत्रलाई पायक पर्ने र पानीढालको प्राकृतिक न्यायको सिद्धान्तका आधारमा यो काम हुनुपर्छ, संविधानका भावना र मर्मलाई हेर्ने हो भने र यी सबै पञ्जिकरण गर्ने अधिकार स्थानीय सरकारलाई नै दिनुपर्छ,, यदि त्यो हुँदैन भने, यो भेकका जनताको आवश्यकतालाई हेरेर यी कामहरु अगाडि बढाउनुको विकल्प छैन ।’
रुरु गाउँपालिकाकाले पनि वडा नं –१ को रिडी बजारमा रहेको पिएससि भएको भवनमा इलाका प्रशासन कार्यालय स्थापनाका पहल गरेको जनाएको छ । इलाका कार्यालय स्थापनाका लागि कार्यपालिकाबाट निर्णय गरी माग गरि सकेको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताए । त्यहाँ इलाका प्रशासन राख्ने विषयमा यस क्षेत्रका धेरै जसो पालिकाले सिफारिस समेत पठाई सकेका छन् र बाँकी केहीले पठाउने तयारी गरेको उनले बताए । भूगोल, सेवा सुविधा र जनघनत्वका हिसावले यो अत्यान्तै महत्वपूूर्ण कार्य हुने अध्यक्ष ज्ञवालीले विश्वास व्यक्त गरे । उनी भन्छन् ‘यस क्षेत्रका चारवटा पालिकाको केन्द्र र पायक पर्ने स्थान भनेकै रिडी बजार नै हो । सरकारले संघीयताको मर्म भावना अनुकुल काम गर्ने हो भने इलाका प्रशासन कार्यालय स्थापनाको विषयलाई जिल्ला सुरक्षा समिति र सबै मिलेर अगाडी बढाउँनु पर्ने अवस्था छ । किन कि भवन लगायतका संरचनाहरु सबै यही बनेका छन् । त्यो खर्च लाग्दैन् ।’ अर्थमन्त्रालय र गृहमन्त्रालयले समन्वय गरे अगामी बजेटमै यो व्यवस्था गर्ने सुनिच्तिताका लागि आफु लागि परेको अध्यक्ष ज्ञवालीले प्रतिवद्धता व्यक्त गरे ।


