Shittalpati
निस्दीमा फौजी किराको प्रकोप, उत्पादन घट्ने भएपछि किसान चिन्तित

इमान सिं राना

पाल्पा(रामपुर) । निस्दी गाउँपालिकाका किसानले लगाएको मकै बालीमा फौजी किराको प्रकोप देखिएको छ । वडा ३, ४ को बारी र वडा ५ को खेतमा लगाएको मकैमा प्रकोप देखिएको हो । वडा ३ को खादर, डाबरा, क्याङ्गरुङ्ग, खलबारी, झिरुवास, वडा ४ को खोप्लाक, घ्याङसीङ्ग बास, भोर्मा र वडा ५ को ढुङ्गनाबेसी, गल्धा फाँटमा फौजी किराको प्रकोप देखिएको निस्दी गाउँपालिका कृषि शाखाले जनाएको छ । गत वर्ष वडा ५ को ढुङ्गनाबेसीको धानबाली पहिलो पटक फौजी किराले क्षति गरेको थियो । अहिले मकैबालीमा गुभा काट्न समस्या देखिएको छ ।

सुरुवातमा केही स्थानमा देखिए पनि अहिले तिव्ररुपमा बढ्दै गएकाले उत्पादन घट्ने भए पछि किसानहरु चिन्तित बनेका छन् ।  वडा ३ खादरका कृषक ओमलाल थापाले सुरुवातमा बारीको केही स्थानमा देखिए पनि अहिले अधिकांश भागमा देखिएको बताए । दिउँसोभन्दा राति यो किराले धेरै बाली नष्ट गरेको उनले बताए । यसअघि यस्तो किराको प्रकोप नदेखिएको उनी बताउँछन् । ‘यस्तो किरा देखिएको थिएन, बारीमा जाँदा मकै ठीकै देखिन्छ, भोलिपल्ट भाँचिएको र किराले खाएर ढलेको देखिन्छ ।’ उनले बताए । सोही स्थानका कृषक दुर्गा बहादुर ढेंगाले मुख्य अन्नको रुपमा रहेको मकै बालीमा प्रकोप देखिए पछि बाली स्याहार्न नपाईने हो की भन्ने चिन्ता बढेको बताए ।  उनले भने ‘मकै रातारात नष्ट भएको छ, किरा नियन्त्रणमा आएको छैन, मकै भित्र्याउन नपाइने होकी भन्ने चिन्ता बढेको छ ।’ निस्दी ३ का कृषि प्राविधिक त्रिमला पाटाले सुरुवातमा एकाधले मात्र किरा लागेको गुनासो गरे पनि अहिले बढ्दै गएर गाउँका सबैको बारीमा फैलिएको बताईन् । उनले भनिन्, ‘सुरुवातमा केही भागमा देखिए पनि नियन्त्रणका उपाय बारे कृषकलाई जानकारी दियौं । अहिले त अधिकांश बारीमा महामारीको रुपमा फैलिएको छ ।’ पाटाले धेरै क्षेत्रफलमा फैलिदै गएकाले जैविक विषाधीले मात्र सम्भव नभएको र किटनाशक औषधीको लागि लकडाउनका कारण बजारसम्म कृषकहरु जान नसकिरहेको बताईन् ।

निस्दी गाउँपालिका कृषि शाखाका अनुसार वडा ३, ४ र ५ को झण्डै ८ दशमलव १ हेक्टर बढीमा प्रकोप फैलिएको जनाएको छ । अहिले नियन्त्रणमा लिन सके पनि झण्डै २० प्रतिशत उत्पादन घट्ने अवस्था रहेको र नसकिएमा थप क्षति हुन सक्ने कृषि शाखाका प्रमुख खिमराज कोईरालाले बताए । उनले वडा ५ को ढुङ्गनाबेसी र गल्धाफाँट क्षेत्रका केही हदसम्म नियन्त्रणमा आएको बताए । नियन्त्रणको लागि कृषकहरुलाई फिल्ड मै पुगेर उपायहरुका बारेमा जानकारी दिने काम भैरहेको कोईरालाले जानकारी दिए । उनले भने, ‘कम क्षेत्रफलमा फैलिएको छ भने संकलन गरेर नष्ट गर्न आग्रह गरिएको छ । सके सम्म नियन्त्रणको लागि स्थानीय जैविक विषादी बनाएर प्रयोग गर्न सुझाव दिएका छौं । कुनै उपाय नलागेमा मात्र किटनाशक औषधीका लागि सिफारिस गरेका छौं ।’ कोईरालाले पानीमा घोलेर छर्ने एमामेक्टीन बेन्जोएट, स्पिनोसाड र क्लोरान्ट्रानिलिप्रोल नामका विषादी सिफारिस गरेको बताए । यी विषादी फौजी किराको लार्भा मार्नका लागि प्रयोग गरिन्छ । तर लकडाउनका कारण यी विषादी किसानको पहुँचसम्म पुग्न सकेको छैन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update