Shittalpati
आज साँझदेखि हिमपात र वर्षाको सम्भावना
pancha kanya steel

पाल्पा, आज शुक्रबार साँझदेखि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने भएको छ ।  मौसम पूर्वानुमान महाशाखाले विहिबार हिउँदे मौसमको विशेष बुलेटिन २ जारी गर्दै देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने जानकारी दिएको हो ।
पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार साँझदेखि मुलुकका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जनाएको हो । विभागले उक्त प्रणालीका कारण शुक्रबार अपरान्हदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ । साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै उक्त मौसम प्रणालीको असरले तापक्रम समेत घट्न गई चिसो बढ्न सक्ने सम्भावना रहेको छ । महाशाखाले वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई÷यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सबैमा अनुरोध गरेको छ ।
“वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ”, विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update