Shittalpati
काफल बेचेर आम्दानी गर्ने नागरिक लकडाउनका कारण समस्यामा

भुवन रायमाझी
पाल्पा । जिल्लाको रैनादेवी छहरा गाउँपालिका बल्ढेङ्गढी लक्ष्मण सापकोटा विगतमा काफल पाक्ने समयमा जंगलबाट काफल ल्याई बजारमा लगेर विक्री गर्ने गर्थे । काफल विक्रीबाट प्राप्त भएको पैसाले नुन, तेल, चिनी जस्ता दैनिक उपभोग्य सामान लिएर साझा घर फर्कन्थे । यस वर्ष जंगल भरी काफल फलेर लटरम्म भएपनि सापकोटा लकडाउनकका कारण बिक्रीका लागि बजार जान सकेका छैनन् । बन्दाबन्दीले काफल टिपेर विक्री गर्न नपाउदा उनी अहिले निराश छन् । आर्थिक अवस्था कमजोर भएका सापकोटाले भने ‘यसपाली त वनको काफल वनकै चरीलाई हुने अवस्था आयो ।’ काफल बेचेरै किताब, कापी, कलम किन्दै आएकी विद्यार्थी सञ्जय थापा पनि काफल विक्री नहुँदा समस्यामा छन् ।

उनी भन्छन् ‘काफल पाकेको बेला जंगलबाट ल्याई बजारमा लगेर विक्री गरी वर्षभरीलाई कापी कलम किन्न पैसा पुर्‍याउँथे, अहिले लकडाउनले गर्दा जंगलमा जान पनि पाएकी छैन ।’ सापकोटा र थापा मात्र होइन मौसम अनुसार काफल बेच्ने परिवारको गर्जो टार्ने जिल्लाका सयौं परिवार अहिले समस्यामा परेका छन् । जंगलैभरि काफल पाकेको छ, तर काफल विक्रीबाट वर्षायामका लागि नुन, तेल, मसला, चामल, कापी, कलम खरिद गर्ने विपन्न परिवारको यस वर्षको सपना लकडाउनका कारण विफल भएको छ । जिल्लाका अधिकांश वनहरुमा यतिबेला काफल लटरमै पाकेर वनै रमणीय भएका छन् । तर बन्दाबन्दीका कारण काफल बेचेर परिवारको समस्या टार्ने परिवार भने समस्यामा परेको छ ।

मौसम अनुसार नगदेवाली जस्तै बनेको काफल यस वर्ष कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी राखेको लकडाउनले विक्री गर्न नपाएपछि विपन्न समुदायलाई गर्जो टार्नै समस्या भएको हो । वैशाखदेखि जेठको अन्तिमसम्म काफल पाक्र्ने गर्छ । तर लकडाउनका कारण जिल्लाको माथागढी गाउँपालिका, रिब्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका लगायतका स्थानीय तहमा रहेका जंगलहरुमा प्रशस्त मात्रमा काफल पाके पनि टिपेर विक्रीका लागि बजारसम्म पुर्‍याउन नसक्दा यस क्षेत्रका विपन्न परिवार समस्यामा परेको छ । विगतका वर्षहरुमा तानसेनमा गाउँ–गाउँबाट काफल विक्रीका लागि ल्याउने गरे पनि यसवर्ष भने त्यस्तो देखिदैन ।

यसवर्ष लकडाउनका कारण बजारमा मानिसको चहलपहल घटेको र यातायातको सहज पहुँच नहुँदा गाउँमा उत्पादन भएका काफल लगायतका मौसमी बालीको बजार व्यवस्थापनमा समेत समस्या भएको छ । कृषकहरुले आफुले उत्पादन गरेको कृषी वस्तु बजारसम्म पुर्‍याउन नपाउँदा त्यत्तिकै खेर गएको भन्दै बजारको व्यवस्थापन गरिदिन स्थानीय सरकारसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update