रामचन्द्र रायमाझी
पाल्पा, प्रदेश पाँच भित्रपर्ने तराईदेखि पहाडलाई जोड्ने एक मात्र सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबा सडक खण्डमा यात्रा गर्ने यात्रुहरु मध्ये हालसम्म हजारौं व्यक्तिले सयौं आफन्तलाई गुमाउनु परेको छ । भारत सरकारको सहयोगमा झण्डै ४९ वर्ष अगाडि निर्माणकार्य पूरा भएको पाल्पा जिल्ला भित्रपर्ने बुटवलको चिडिया खोलादेखि दोभानसम्म सात किलोमिटर अत्यन्त जोखिम युक्त सडकभित्र पर्दछ । सडकको विकल्प नखोजिएको पनि होइन । तर कुनै बेला ठूला दुर्घटना या सडक बन्द हुन्छ, तव यो बेला मात्र विभिन्न विकल्पका बहस बाहिर आउने गर्दछन् ।
धेरै विकल्प अगाडि सारे पनि काम भने हुन सकिरहेको छैन । विगतदेखि नै यस क्षेत्रबाट निर्वाचित सांसद तथा मन्त्रीहरुले वैकपिल्क सडकका विषयमा कुराहरु उठाए पनि कार्यान्वयन हुन सकेन । नेताहरुले सिद्धबाबा सडकलाई चुनावी नाराका रुपमा मात्र प्रयोग गर्ने गरेको पाल्पालीले गुनासो गर्ने गरेका छन् । केही वर्ष यता सिद्धबाबामा सुरुङ मार्ग बनाउने विषयले पनि चर्चा पायो । अन्ततःलुम्बिनी–पोखरा जोड्ने महत्वपूर्ण सडक भएकाले पनि सुरुङ नै समस्याको समाधान भएकाले निर्माण प्रक्रिया अगाडि बढ्यो । मंसिर १ को अर्थमन्त्रीस्तरीय बैठकले सुरुङका लागि बहुवर्षीय योजनामा काम गर्ने गरी बजेट स्वीकृति दिएको छ । जसले सुरुङमार्ग बन्ने सुनिश्चित जस्तै भएको छ । हुन त विगतमा बजेट विनियोजन भएपनि काम नहुँदा निरास बनेका यस क्षेत्रका जनतामा भने कतै सुरुङ मार्ग नबन्ने त होइन भन्ने चिन्ता पनि छ । सडक निर्माणका लागि बेला बेलामा सरकारबाट बजेट समेत विनियोज भयो, तर काम हुन नसकेपछि बजेट फ्रिज हुने गरेको स्वतन्त्र पत्रकार संघका राष्ट्रिय महासचिव जीवलाल सुवेदीले बताए । उनले भने ‘सरकारले सुरुङमार्गका लागि प्रक्रिया अगाडि बढाउनु आफैमा राम्रो पक्ष भएपनि काठमाडौंको मेलञ्ची खानेपानीको योजना जस्तै अलपत्र छाड्न हुँदैन ।’ जोखिमयुक्त क्षेत्रमा सुरुङ मार्ग बनाउन संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रक्रिया थालेको हो । सुरुङ मार्ग निर्माण गर्न अर्थ मन्त्रालयले १० अर्ब १५ करोड बजेटको सुनिश्चितता दिएको छ । बजेटको सुनिश्चिततासँगै केही दिनभित्रै निर्माण कम्पनी छनोटका लागि टेन्डर आÞवानको तयारी भइरहेको सडक विभागले जनाएको छ । नेपाल सरकारले सुरुङ मार्गको सम्पूर्ण डिजाईन स्वीजरल्याण्ड सरकार समक्ष पठाएको र त्यहाँबाट स्वीकृत हुन साथ टेन्डर प्रक्रिया अगाडि बढ्ने पूर्वउद्योग मन्त्री तथा पाल्पा क्षेत्र क्षेत्र नम्वर २ का सांसद सोमप्रसाद पाण्डेले बताए । उनले भने ‘सरकारले एकाध महिनाभित्र ग्लोबल टेन्डर आÞवान गरी, आर्थिक वर्षभित्रै निर्माण कार्य सुरु हुनेछ, त्यसका लागि हामी सबै लागेका छौं ।’ सुरुङमार्ग ३८ महिना भित्र बनाइसक्ने योजना छ । सुरुङमार्गका लागि अन्तिम प्रक्रिया अगाडि बढेकाले ढुक्क हुन सांसद पाण्डेले सबैलाई आग्रह गरेका छन् । नेपाल सरकारको आग्रहमा स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सिद्धबाबाको सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारेको हो । स्वीसले तयार पारेको विस्तृत सम्भाव्यता प्रतिवेदन सडक विभागलाई असारमै हस्तान्तरण गरिएको थियो । सोही प्रतिवेदनको आधारमा भौतिक मन्त्रालयले अर्थ मन्त्रालयसँग वजेट माग गरेको हो । डीपीरआर तोके अनुसार नै अर्थ मन्त्रालयले १० अर्ब १५ करोडको सिमा तोकेको छ । सुरुङमार्ग निर्माण गर्न आठ अर्ब ७६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । तर वातावरणीय प्रभावको मूल्यांकन नेपाली पक्षले गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।


                                        
                                        
                                        
                                        
                    
                    
                    