दानु हिस्की
पाल्पा (रामपुर), जिल्लाको रामपुर नगरपालिकाले बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगपालिकाले नगरसभाको १५ औं अधिवेशनमार्फत आव २०८/०८२ को लागि ७३ करोड ८५ लाख ४ हजारको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
नगरसभामा नगर प्रमुख रमणबहादुर थापाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रम प्रस्तुत गर्दै उनले नगर सरकारले उत्पादन वृद्धिलाई प्राथमिकतामा राखेको बताए । खाद्यान्न, बीउ विजनमा आत्मनिर्भरता, नगदे र रैथाने खाद्यान्न बालीको खेती विस्तार गर्दै व्यवसायिकरण गर्ने, कृषि तथा पशुपन्छी फर्म विस्तार, मागमा आधारित कार्यक्रमको पहिचान, स्थानीय उत्पादनलाई प्रोत्साहन, हाटबजार सञ्चालन, निस्दीखोलको केही क्षेत्रमा माछा पकेट क्षेत्र बनाइने नीति अनुरुप विदेशबाट फर्किएका युवाहरुलाई रोजगारी, पर्यटन प्रवद्र्धनका लागि राम कथा सँंग सम्बन्धित क्षेत्र, मठ मन्दिर, कुण्ड, नदी, ताल तलैया जोड्ने गरी रामायण सर्किटको अवधारणा अघि बढाउने, होटल व्यवसायी, उद्योग वाणिज्य संघ र छिमेकी स्थानीयतहसँग सहकार्य गरी यस वर्ष पर्यटन महोत्सव सञ्चालन गर्ने कार्यक्रम रहेको बताए ।
नगरसभा उपप्रमुख बालकुमारी थापाले बजेटसँगै आर्थिक विद्येयक र विनियोजन विद्येयक प्रस्तुत गरेकी हुन् । उनले आगामी वर्षको लागि ७३ करोड ८५ लाख ४ हजारको बजेट सार्वजनिक गरेकी हुन् । चालुतर्फ ५६ करोड ३१ लाख ४४ हजार र पूँजिगततर्फ १७ करोड ५३ लाख ६० हजार गरी ७३ करोड ८५ लाख ४ हजार विनियोजन गरिएको उपप्रमुख थापाले जानकारी दिइन् । आर्थिक विकासतर्फ ३ करोड १५ लाख ५२ हजार, सामाजिक विकासमा ४० करोड २६ लाख ९३ हजार, पूर्वाधार विकासमा ११ करोड ८० लाख ६० हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र २ करोड ६१ लाख ९९ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ १६ करोड विनियोजन गरिएको छ । आय तर्फ संघीय समानिकरण अनुदान १२ करोड ६ लाख, संघीय राजस्व बाँडफाँड बाट ११ करोड ६ लाख, संघीय समपुरक पूँजिगत १ करोड ३५ लाख, सशर्त चालु तर्फ ३४ करोड ५३ लाख ४ हजार, संघीय सशर्त पूँजिगत १ करोड २० लाख, प्रदेश समानिकरण अनुदान ८२ लाख ६५ हजार, प्रदेश राजस्व बाँडफाँड ८१ लाख ४० हजार, प्रदेश समपुरक १ करोड ५ लाख, प्रदेश सशर्त १ करोड र आन्तरिक स्रोत बाट ९ करोड ९५ लाख ९५ हजार जुटाउने अनुमान गरिएको छ ।
सभामा मीनबहादुर सिंजाली, तेजबहादुर राना, मोहनबहादुर राना, दुर्गाप्रसाद पोखरेल, दिवाकर देवकोटा, दिनेश आचार्य, तोयानाथ सारु थापा लगायतले आ–आफ्ना सुझाव राखेका थिए । सभामा उत्कृष्ट कर्मचारीहरु शाखा अधिकृत युवराज पन्थी, योजना शाखा प्रमुख विक्रम बस्नेत, वडासचिव रजनी भण्डारी, वरिष्ठ प्रहरी हवल्दार तारबहादुर सेन, सवारी चालक केशवराज गैरे, कार्यालय सहयोगी शारदा आचार्य, उत्कृष्ट करदाता चन्द्र सूर्य हार्डवयरका व्यवस्थापक दिपक आचार्य, पन्थे बरादी गैरा टोल विकास संस्था र पत्रकार इमान सिं रानालाई नगद र सम्मान पत्रले सम्मान गरिएको थियो । नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षता, नगर प्रवक्ता कपिल बहादुर खाँणको स्वागत, प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितको सञ्चालनमा कार्यक्रम भएको थियो ।


 
                                         
                                         
                                         
                                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    