Shittalpati
बगनासकालीले तोड्यो असारे विकासको प्रवृत्ति

पाल्पा, समय छँदा काम नगर्ने र आर्थिक वर्षको अन्त्यमा स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई भ्याइ नभ्याई हुन्छ । आयोजना/योजनामा उपयोग नभएको रकम फ्रिज हुने वा फिर्ता गर्नेभन्दा जथाभावी खर्च गर्ने प्रवृत्ति बर्सेनि असारमा दोहोरिने गर्छ । झमझम वर्षे झरीमा सडक पिच गर्नेदेखि ढल खन्नेसम्मका ‘विकासे बिजोग’ दृश्यहरू यत्रतत्र देखिन्छन् ।

समयमै योजनाका कामहरु नगरी अन्तिममा आएर गर्ने प्रवृत्ति अधिकांस स्थानीय तहमा छ । जसका कारण जेठको अन्त्यतिरबाट स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरुलाई भ्याइ नभ्याई हुने गरेको हो । अधिकांस स्थानीय तहमा यति बेला भिडभाग बढ्दै गएको र कर्मचारी र जनप्रतिनिधिहरुलाई समेत फुर्सत नभइरहेका बेला पाल्पाको बगनासकाली गाउँपालिकामा सुनशान जस्तै देखिन्छ । यहाँ जनप्रतिनिधी तथा कर्मचारीहरु नभएर सुनसान भएको भने होइन । 

गाउँपालिकाले तर्जुमा गरेका आन्तरिक, प्रदेश तथा संघीय सरकारका साझेदारी योजनाको काम बैशाख १५ सम्म सक्काएर जेठ १५ सम्म रकम प्राप्त भएका सबै भुक्तानी दिइसकेकाले पालिकाका कर्मचारी यति बेला कामविहिन भएका हुन । योजनाका कामहरु सकिएकोले जनप्रतिनिधी, कर्मचारीहरु आगामी बर्षको बार्षिक बजेट, नीति, कार्यक्रम तथा योजना निर्माणमा जुटेका छन् । विषयगत शाखाका कर्मचारीहरु अहिले बार्षिक प्रतिवेदन निर्माणमा व्यस्त छन् । गाउँपालिकाले ९ वटै वडाहरुमा एक वडा एक प्राविधिक परिचालन, वडा वडामै पुगेर योजनाहरु सम्झौता, वडाकै प्राविधिकहरुबाट योजनाहरुको अनुगमन, मूल्याङ्कन जस्ता कामहरुले बैशाख भित्रै सबै योजनाहरुको काम सम्पन्न भएका हुन । सम्पन्न योजनाहरुको सम्पूर्ण विवरण वडा कार्यालयबाटै तयार पारेर गाउँपालिकामा भुक्तानीको लागि मात्र पेश गर्ने व्यवस्था मिलाइएकोले उपभोक्ताहरुलाई पालिकाबाट भुक्तानीको लागि सहज भएको छ । जसले परम्परागत  असारे विकासको प्रवृत्तिलाई तोडेको मान्न सकिन्छ ।

गाउँपालिकाले चालु आर्थिक बर्षमा उपभोक्तासँग करिव ४ सय वटा योजना र ठेक्का पट्टाका १६ वटा योजना सञ्चालन गरेको जनाएको छ । उपभोक्तासँग सम्झौता भएका योजना चैत्र मसान्त भित्र सक्ने गरी सम्झौता गरिएको र ठेक्का पट्टाकाका योजना बैशाख १५ भित्र सक्ने गरी सम्झौता भएकाले सोही अनुसार निर्धारित मितिमा सबै काम सकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले बताए । उनले भने ‘अहिले हामीलाई कुनै योजना समयमा सम्पन्न भएन भनेर चिन्ता छैन, योजनाका सबै काम सम्पन्न भएका छन् । विकासलाई दीर्घकालीन बनाउन असारे विकास सबै पक्षबाट रोकिनु पर्छ भन्ने कुरामा हामी सचेत छौं ।’

जनप्रतिनिधि र कर्मचारीको तालमेल सँगै समयवाधि तोकेर काम गर्दा बगनासकाली गाउँपालिका जेठ १५ मा अधिकाश योजनाहरुको रकम भुक्तानी गर्ने देशभरीमा नमुना पालिका बनेको पालिका अध्यक्ष सरसस्वती चिदीले बताईन् । उनले भनिन् ‘गाउँपालिकाबाट असारे विकास रोकिएको छ, बर्षे भेलसँगै विकास बगाउने क्रम तोड्न सफल भएका छौ, पालिकाको सुशासन तथा मुल्याङ्कन प्रद्धतिमा हामी पाल्पामै उत्कृष्ट भएका छौं ।’

पालिकाले वडा वडाबाट केन्द्रसम्म जोड्ने मुख्य सडक, वडा कार्यालय पुग्ने सडक, स्वास्थ्यचौकी, विद्यालय पुग्ने मुख्य सडकहरु कालोपत्रे गर्ने, ग्रावेल गर्ने, सडक फराकिलो बनाउने, सडकको घुम्ती, मोडहरुमा ढलान गर्ने जस्ता कामहरुलाई प्राथमिकता दिएर काम गरेको पालिका उपाध्यक्ष हरी प्रसाद पाठकले बताए ।

चालु आर्थिक बर्षमा गाउँपालिका भित्र ४ किलोमिटर सडक कालोपत्रे गरेको, ४ किलोमिटर ग्रामीण क्षेत्रका अफ्ठ्रा सडकहरुमा ढलान गरेको, करीव ६ किलोमिटर पक्की नाली निर्माण गरेको ईन्जिनियर प्रमोद कुवँरले जानकारी दिए । पालिका भित्रका योजनाहरुको सबै भुक्तानी उपभोक्ताहरुको खाता खातामा पुगिसकेको, प्रदेश र संघबाट आउने रकम समयमा नआएकाले केही योजनाको रकम मात्र उपभोक्तालाई दिन बाँकी रहेको लेखा प्रमुख कोशल प्रसाद पौडेलले बताए । गाउँपालिकाको केन्द्रसँगै वडा नंं. १, वडा नंं २, वडा नं ३  वडा नंं ७, र वडा नंं ९ गरी ५ वटा वडासम्म पक्की सडक पुगेको छ भने वडा नंं ४, वडा नंं ५, वडा नंं ६ र वडा नंं ८ केन्द्रसम्म जाने सडकको स्तरउन्नती गरी १२ महिना सहज यातायात सञ्चालन हुँदै आएको पालिकाका प्रवक्ता टिकाबहादुर थापाले बताए ।

पालिकाको सेवाप्रवाहलाई चुस्त दुस्त बनाउन, पालिका भित्र सुशासन कायम राख्न पालिका भित्र देखिएका कमिकमजोरीहरु, सुधार गर्नुपर्ने कुराहरु भेटेर, सामाजिक सञ्जाल तथा, पालिकाको वेभसाईटमा राख्ने गरिएको  प्रवक्ता थापाले बताए । बगनासकाली गाउँपालिकाले देश भरीमा चालु आर्थिक बर्षमा योजनाका कामहरु बैशाख भित्रै सक्काउने र जेठ १५ सम्म भुक्तानी गर्ने ७५३ पालिका मध्ये आफु पहिलोमा पर्ने दावी गरेको छ । यसै गरी देशका सबै पालिकाहरुले काम गरेमा असारे विकास, बर्षाको भेलसँगै बगेर जाने क्रम रोकिने छ । प्रदेश तथा संघिय कार्यालयहरुले भने अझै पनि असारे विकासको लागि टेण्डर आह्वान गर्ने कागजी प्रगती देखाउन रकमान्तर गरेर मातहतका कार्यालय पठाउने क्रम तिव्ररुपमा चलेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update