भरत शर्मा 
पाल्पा,राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुलीले  घरपरिवार र आफ्न्तबाटै बालहिंसा बढ्दो रहेको बताएकी छन् । विहीबार राष्ट्रिय महिला आयोगको आयोजनामा तानसेनमा भएको  विद्यालयमा हुने लैङ्गिक हिंसा निवारणका सम्बन्धमा शिक्षक, विद्यार्थी र ब्यवस्थापन समितिका पदाधिकारीबिचको अभिमुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष पराजुलीले घरपरिवार र आफ्न्तबाटै बालबालिकाहरु हिंसामा पर्ने गरेका घटना बढ्दो रहेको बताएकी हुन् ।
उनले पछिल्लो समयमा नेपालमा बालबालिकाविरुद्ध हुने हिंसाका घटना बढ्दै जानुु दुखद् रहेको बताईन् । अध्यक्ष पराजुलीले भनिन् ‘उमेर नपुगी विवाह गर्नु/गराउनुदेखि जबरजस्तीकरणीमा पर्नु तथा घरपरिवारमै बालबालिकाको शारीरिक र मानसिक विकासका लागि अवरोध पुग्नु जस्ता गतिविधिले बालहिंसा बढ्दो छ ।’ घरपरिवार, नातेदार,चिनाजानी सम्बन्धबाटै बालबालिकाहरु यौनजन्य हिंसामा फस्ने गरेको उनको भनाई छ । हिंसा पीडितहरु मनोवैज्ञानिक असरका साथै आत्मग्लानिका कारण हिंसा लुकाउन बाध्य भएको समेत अध्यक्ष पराजुलीले बनाइन् । अझै पनि बावुआमाले छोरा र छोरीलाई गर्ने भेदभाव पूर्ण ब्यवहारले पनि कतिपय हिंसा बढ्ने गरेको उनको भनाई छ । पराजुलीले भनिन् ‘बावुबाट छोरी र शिक्षकबाट विद्यार्थी बलात्कृत भएका घटना समाजमा प्रसस्त भेटिन्छन् ।’ बालबालिकाहरु सुरक्षित ढंगले बाच्न पाउने अधिकारका प्रमुख आधार भनेकै घर र पाठशाला भएकाले परिवार, शिक्षक र व्यवस्थापन समिति बालबालिकाको अधिकार संरक्षणमा सचेत हुनुपर्नेमा उनले जोड दिइन । ‘बालबालिकाहरु स्वाभिमान र आत्मसम्मानका साथ बाच्ने वातावरण सिर्जनाका लागि महिला आयोग क्रियाशिल छ’ अध्यक्ष पराजुलीले भनिन् । उनले ७० प्रतिशत घरेलु हिंसाका उजुरी प्रहरीमा पर्ने गरेको, १८ वर्ष मुनी र ६० वर्ष माथिका नाबालिका र वृद्धाहरु हिंसा पिडित भए पनि सामाजिक परिवेशका कारण हिंसा सहेर बस्नु परेको धारणा व्यक्त गरिन् ।
कार्यक्रममा सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता डा.सूर्य प्रसाद पौडेलले बालबालिका र महिलाहरु हिसा पीडित भएर पनि नाम सार्वजनिक भएमा समाजबाट अपहेलित हुने हुँदा हिंसा लुकाउनुका साथै नैराश्यता बढ्दै गएर आत्महत्या गर्नेसम्मको बाटोमा पुग्नु परेको बताए । उनले पाल्पामा महिला हिंसाका मुद्दा बढी भएको उल्लेख गरे । डा. पौडेलले हिंसाका घटनाहरु न्युनिकरण गर्न प्रहरी प्रशासनबाट मात्र सम्भव नहने हुँदा समाजसेवी, राजनैतिक दल, जनप्रतिनिधि र स्थानीय निकाय समेत लाग्नु पर्ने बताए ।
 कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख काशिका गैरे, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, जिल्ला प्रहरी कार्यालय पाल्पा प्रमुख प्रहरी उपरिक्षक नरेन्द्र चन्द लगायतले महिला तथा बालबालिकाबिच हुने हिंसा कम गर्न समाजका सबै सचेत वर्ग लाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीहरुले बालबालिका र महिलाहरुको हितमा राष्ट्रिय  महिला आयोगको भूमिका माथि जिज्ञासा राख्दै सबैको सकारात्मक सोच र कामले मात्र सबै प्रकारका हिंसा अन्त्य हुने बताएका थिए । 
 


 
                                         
                                         
                                         
                                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    