Shittalpati
बाबुआमा दिवस र हाम्रो संस्कार

आफ्ना आमाबुबा प्रति सम्मान जनाउँदै आज विश्वभर आमाबुबा दिवस मनाइँदै छ । यस दिन विश्वभर रहेका सन्ततीहरुले आफुलाई जन्म दिने आमाबुबालाई विशेष सम्झने गर्छन् । आमाबुबा हुनेहरुलेसँगै बसेर आदर सम्मान प्रकट गर्छन भने नहुनेहरुले मठमन्दिरमा पुगेर पूजा आजा गरी सम्झने गर्दछन् । आमाबुबा जन्म दिने मात्र नभएर कर्म दिने महान व्यक्तित्व पनि हुन् । त्यसैले छोराछोरी आमाबुबाका लागि जिम्मेवारी र कर्तव्य हुन् । अनौठो लाग्छ कि आफ्ना आमाबुबालाई सम्झने पनि कुनै खास दिन हुनुपर्छ । तर यो कुनै काल्पनिक कुरा होइन, आज पाश्चात्य संस्कृतिलाई मानव सभ्यताको उच्चतम शिखर भनेर सगौरव वर्णन गरिरहँदा त्यही संस्कृतिले यस्तो अनौठो परम्पराको सुरुवात मात्र गरेको छैन संस्कृतिको अभिन्न अङ्ग बनाइसकेको छ । हाम्रो पूर्वीय दर्शन या हामीले मान्ने संस्कृति र परम्पराले हामीलाई आफ्ना जन्मदाताहरुप्रति सदा उत्तरदायी हुँदै उनीहरुको सेवामा लीन हुन सिकाएको छ । यसलाई सकरात्मक मान्नुपर्छ । आमाबुबाबाट विछुट्टेका सन्तानले कम्तिमा वर्षमा एकदिन सम्झिउन भनेर मातातीर्थ औँसीलाई आमालाई भेट्ने दिन अनि कुसेऔंसीलाई बुबालाई भेट्ने दिन भनेर मनाउन थालिएको छ । यसको अर्थ बाँकी दिनहरुमा आमाबुबाको वास्ता नै गर्न जरुरी छैन भनेको पक्कै पनि होइन । अहिलेको अवस्थामा मानिस पेशा व्यवसायको सिलसिलामा आमाबुवादेखि टाढा रहनुपर्ने बाध्यता रहेको छ । परिवारसँग समय बिताउन कुनै खास दिनको पर्खाईमा हुन्छन्, त्यस्ता अर्थ सामाजिक परिवेश निर्माण भएका कारण यसरी वर्षमा एकदिन आफ्ना जन्मदातालाई भेटेर उनीहरुलाई आफ्नो उन्नति, प्रगतिबारे जानकारी गराउँदै उपहार दिने र उनीहरुबाट आर्शिवाद ग्रहण गर्ने दिन नै यस दिनको सान्दर्भिकता ठहर्छ ।

ताते ताते गरेर हिँड्न सिकाउने, हाम्रो जीवन सजाउन दिनरात अहोरात्र खटेर हामीलाई जन्म, कर्म दिने अनि सुरक्षा दिने आमाबुवालाई शायद शब्दले व्याख्या गर्न सकिन्न । पिताको सेवा र सम्मान गर्दा जतिको पुण्य कुनै यज्ञबाट सम्भव छैन । बाबु आमाको सम्मान र सेवा गर्दा आफू पनि लोकबाटै सम्मानित भइने र भविष्यमा आफूले पनि आफ्ना सन्तानबाट त्यस्तै सेवा–सम्मान पाइन्छ भन्ने कुरा कुनै पनि सन्तानले विर्सनु हुँदैन । सनातन संस्कृति अवलम्बन गर्ने हो भने मातापिता वर्ष दिनभरि नै पुजनीय हुन्छन् । दर्शनीय हुन्छन् । धर्तीमा ल्याउने, लालनपालन गर्ने, शिक्षा–संस्कार दिने मातापितालाई अपमानित गर्नेको कहिल्यै भलो हुँदैन् । यसर्थ आमाबुवाको सम्मान गर्ने संस्कारको विकास गर्दै जानु अहिलेको आवश्यकता हो ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update