Shittalpati
फेरि कोरोनाप्रति सतर्क रहौं

केही समय शून्य जस्तै बनेको कोरोना महामारी फेरी देखा पर्न थालेको छ । शुक्रबार कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी’ संक्रमण देखिएको छ । यसले थप त्रास पैदा गराएको छ । यस अघि ठूलो संख्यामा मानवीय क्षति पुर्‍याउनुका साथै विश्वकै अर्थतन्त्र तहसनहस बनाएको कोरोनाले अहिले विभिन्न स्वरुप परिवर्तन गर्दै देखा परेको छ । अहिले देखा परेको भेरियन्टले पनि थप महामारीको समस्या निम्त्याउने हो कि भन्ने त्रास पैदा गराएको छ । यसबाट बच्न सबैले सर्तकता भने अपनाउनु पर्छ ।

अनेक प्रकारका खोपको विकासले मुख्य संक्रमण नियन्त्रणमा आएको भए पनि पूर्ण रूपमा निर्मूल हुन भने सकिरहेको छैन । बेला मौकामा नयाँ प्रजातिका रूपमा देखा पर्ने संक्रमणका कारण पुनः ठूलै संक्रमण त फैलिने होइन भन्ने त्रास कायमै छ । जसले गर्दा स्वास्थ्य सावधानी अपनाइरहन छोड्न नहुने भएको हो । अहिले देखा परेको सबभेरियन्ट त्यति हानिकारक नभएको बताइएको छ । तर संक्रमणका रूपमा देखिएका भेरियन्ट र सबभेरियन्टहरू जतिसुकै हानिकारक छैनन् भनिए पनि हेलचेक्र्याइँ गर्न नहुने विज्ञहरूको सुझाव छ । गर्मी महिना छ, यो समयमा रोगको त्रास जाडोमा भन्दा बढी हुन्छ । त्यसै पनि यसबाट बच्न सर्तकता अपनाउनु आवश्यक छ ।

संक्रमणको फैलावट रोकथाम गर्नका लागि स्वास्थ्य मन्त्रालयले सर्वसाधारणलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्दै भिडभाडमा नजान, भौतिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न र साबुनपानीले हात धुन अपिल गरेको छ । यो आग्रहलाई सामान्य रूपमा लिईनु हुँदैन । खोप लगाउन बाँकी भए खोप लगाई हाल्नुपर्छ । रोग लाग्नु भन्दा लाग्नै नदिनु राम्रो हो । यसलाई सामान्य रुपमा लिई हेलचेक्य्राइँ गरिँदा परिवारहुँदै समुदायमै फैलिन सक्ने खतरा रहन्छ । यसर्थ महामारीबाट बच्न सबैले पुनः सर्तकता अपनाउन जरुरी छ ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update