Shittalpati
कर्म अन्तै, सेवा जन्मथलो

पाल्पा, जन्मथलो र कर्मथलो एउटै प्रायः कमैको हुने गर्छ । धेरै जसो व्यक्ति जन्मथलो छोडेर अन्यत्रलाई कर्मथलो बनाउने गरेका छन् । कर्म क्षेत्रमै रमाएका धेरैले जन्मथलोलाई विर्सर्ने गर्छन् । केही अपवाद बाहेक धेरैले जन्मथलोलाई चटक्कै विर्सेर कर्मथलोमा रमाइरहेका बेला केही व्यक्तिहरु भने जन्मथलोमा पुगेर सेवा र विकासमा जोडिएका छन् । 

यस्तै मध्येका हुन पाल्पाको रैनादेवी छहरा  गाउँपालिका भुवनपोखरीका केही व्यक्तिहरु । जो भुवनपोखरीबाट रुपन्देहीलाई कर्मथलो बनाउँदै आएका छन् । उनीहरुले रुपन्देहीमा रहेर कर्म गर्दै आए पनि बेला बेलामा जन्मथलो पुगेर सामाजिक सेवा र विकास निर्माणका कार्यमा सक्रिय हुने गरेका छन् । पछिल्लो समय उनीहरुले जन्मथलो भुवनपोखरीमा  वृहत्त निःशुल्क स्वास्थ्य सेवा दिएका छन् । उनीहरुले एक दर्जन भन्दा बढी विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोलीमार्फत त्यहाँका नागरिकहरुलाई निःशुल्क सेवा दिएका हुन् ।

आफ्नो जन्मथलो, आफ्नै गाउँ–ठाउँमा केही गरौं भन्ने हुट्हुटी जागेकाले विभिन्न संघसंस्था र साथीहरुसँगको समन्वयमा  शिविर सञ्चालन गरिएको शिविरका संयोजक तथा सुगर, प्रेसर थाईराइड, दम, पेट, छाती रोग विषेशज्ञ लुम्बिनी प्रादेशिक अस्पतालका डा. प्रकाश भट्टराईले बताए । आफ्नो जन्मथलोप्रतिको माया र ममताकै कारण दुर्गम गाउँमा पनि जनताले निःशुल्क रुपमा विशेषज्ञ सेवासहितको स्वास्थ्य उपचार पाएका छन् । भुवनपोखरी रुपन्देही सम्पर्क समाजले जन्मथलोमा केही सेवा गरौं भन्ने हुटहुटिका कारण लुम्बिनी प्रादेशिक अस्पताल, निरोग स्वास्थ्य क्लिनिक बुटवल, अस्मित फाउण्डेसन काठमाडौको सहयोग, पालिका र वडासँगको समन्वयमा विशेषज्ञ सहितको स्वास्थ्य सेवा प्रदान गरेको हो । शिविरकै कारण भुवनपोखरी क्षेत्रमा पैसाको अभावमा रोगहरु लुकाएर बसेका व्यक्तिहरुदेखी नियमित औषधी खाईरहेका व्यक्तिहरुले घरदैलोमै रोग अनुसारको उपचार गर्न पाए ।  लुकेर रहेका विरामीहरुलाई औषधी उपचारको पहुँचमा ल्याउन, रोग लागिसकेपछी समयमै उपचार गर्नुपर्छ, पैसाकै कारण रोकिनु पर्दैन भनेर जनचेतना फैलाउने उद्देश्यले विशेषज्ञ सहितको स्वास्थ्य शिविर आयोजना गरिएको समाजका अध्यक्ष सिताराम भट्टराईले बताए । शिविरमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका विषेशज्ञ डा. नन्दु पाठक, प्रकाश भट्टराई , नाक, कान घाटी रोग विशेषज्ञ विवश पराजुली, रेडियोलोजिष्ट डा. सुरेन्द्र रायमाझी, प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. ज्योती श्रेष्ठ, मेडिकल अफिसर डा. कल्पना न्यौपाने र डा. गोकुल पौडेलले प्रत्यक्ष रुपमा विरामीको चेकजाँच गरेका थिए । यसैगरी किर्तिपुर अस्पताल काठमाडौका बालरोग विशेषज्ञ श्रीधर खनाल, लुम्बिनी नसिंङ होम, हाड जोर्नी, नशा, बाथ रोग विशेषज्ञ डा. हिरामणी पौडेल, आम्दा अस्पताल बुटवलका बाल रोग विशेषज्ञ डा. अनिल खनाल, नवजिवन फिजियो रिहावका फिजियो थेरापिष्ट डा. मिलन केसीले आवश्यकता अनुसारको उपचार सेवा प्रदान गरेका थिए ।  

गाउँमै निःशुल्क सेवा पाएपछि नागरिक उत्साहित भएका थिए । ‘लामो समयदेखी खुट्टाको घुँडा दुखेको थियो, डाक्टरले राम्रोसँंग चेकजाँच गरिदिनुभयो, पैसा पनि तिर्न परेन, दवाई पनि निःशुल्क दिनुभयो अब सन्चो हुन्छ होला भन्ने विश्वास लागेको छ’ । शिविरमा चेकजाँच गरेर फर्किएका वीरबहादुर नेपालीले भने । शिविरमा १ हजार भन्दा बढी विरामीले निःशुल्क रुपमा उपचार तथा औषधी पाएका छन् । पछाडी परेका बर्ग, आर्थिक अवस्था कमजोर भएका पक्ष, विशेषज्ञ सेवासम्म नपुगेका व्यक्तिहरुलाई लक्षित गरेर घरदैलोमै उपचार सेवा प्रदान गरिएको वडा अध्यक्ष प्रदिप पौडेलले बताए । जन्मथलोप्रति समाजले देखाएको माया, सद्भाव प्रशंसनिय रहेको गाउँपालिका अध्यक्ष रुक्मा·त भट्टराईले बताए । पालिकाले यस्तो खालको शिविर बजेट विनियोजन गरेर सञ्चालन गरेको भए ५० लाख रुपैयाँ खर्च हुने थियो, तर आज सबैको सहयोगबाट विना लगानीमा पनि बृहत स्वास्थ्य शिविर सञ्चालन गर्न सकिएको उनको भनाई छ । जन्मभूमि प्रतिको माया, सदभाव अभियान हरेक पालिका, वडा वडामा समेत सञ्चालन गर्न जरुरी देखिन्छ ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update