Shittalpati

पाल्पा, नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा प्रभावशाली नेता गुरुराज घिमिरेले राजनीतिको मूल लक्ष्य भनेको जनताको सुख भएको बताएका छन् । शनिबार नेपाली काँग्रेस पाल्पा क्षेत्र नं. २ ले तानसेनको श्रीनगरडाँडामा आयोजना गरेको प्रशिक्षण तथा वनभोज कार्यक्रममा बोल्दै नेता घिमिरेले राजनीतिको मूख्य उद्देश्य जनताको सु:ख रहेको बताएका हुन् ।

 उनले राजनीति बुझ्न धेरै ठूला ग्रन्थहरु पढ्न नपर्ने उल्लेख गर्दै जनताको सु:ख नै राजनीतिक भएको धारणा व्यक्त गरे । नेता घिमिरेले जननायक विपी काईरालाले भनेको प्रसंग उल्लेख गर्दै भने ‘ महाराजले विपी काईराललाई तिमी प्रधानमन्त्री भएर के गर्ने योजना छ ? भनेर सोध्दा विपीले महाराज म १५ वर्ष प्रधानमन्त्री भए भने हरेक परिवारलाई मेरो परिवार सरह बनाउँछु । जसको बस्ने एउटा घर हुन्छ, एउटा दुनो गाई हुन्छ, एक हल गोरु हुन्छ, आफुलाई आवश्यक पर्ने जमिन हुन्छ, छोराछोरी पठाउन सक्ने आर्थिक सामथ्र्य हुन्छ, विरामी हुँदा उपचार गर्न सक्ने आर्थिक हैसियत हुन्छ । म यो स्थानमा मेरो परिवारलाई पुर्याउन चाहन्छु भनेर विपी कोइरालले भन्नुभयो ।’ आखिर राजनीतिको मुख्य उद्देश्य भनेको नै विपीले भने जस्तै रहेको उनले बताए ।

 लोकतान्त्रिक शासन व्यवस्थाबाट मात्र जनताको सु:ख र देशको समृद्धि हुने नेता घिमिरेले उल्लेख गरे । उनले जनताको सु:ख र देशको समृद्धि प्रजातान्त्रिक, लोकतान्त्रिक शासन प्राणालीबाट मात्र सम्भव हुन्छ भन्ने काँग्रेसको विश्वास रहेको समेत बताए । नेता घिमिरेले पार्टी संगठनका बारेमा प्रशिक्षण समेत दिएका थिए । पार्टीलाई बलियो बनाउने र तल्लो तहदेखि माथिल्लो तहका नेता तथा कार्यकर्ताहरुबिचको सम्बन्धलाई थप  प्रगाढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको काँग्रेसका क्षेत्रीय सभापति मुक्तिक्तराम जिसीले बताए । प्रशिक्षण तथा वनभोज कार्यक्रममा भाग लिन वडातहदेखि जिल्लास्तरसम्मका नेता तथा कार्यकताहरु श्रीनगर पुगेका थिए । कार्यक्रम सभापति जिसीको अध्यक्षता, सचिव कृष्णबहादुर आलेको सञ्चालनमा भएको थियो । 

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update