Shittalpati
दमकडामा माण्डव्य ऋषिको रथ यात्रा निकालियो

पाल्पा, जिल्लाको तानसेन नगरपालिका –९ दमकडामा माण्डव्य ऋषिको रथ यात्रा निकालिएको छ । वैशाख पूर्णिमाका दिन माण्डव्य ऋषिको दोस्रो रथ यात्रा निकालिएको हो ।

 रथयात्रा तिन्टीआप, दमकडा र अम्लेयान क्षेत्रमा घुमाईएको थियो । रथ यात्राको क्रममा स्थानीय भजन, किर्तन, पञ्चेबाजा, ब्याण्ड बाजा सहित संघ संस्था, टोल विकास संस्था,स्थानीय आमा समूहको सहभागिता रहेको थियो । माण्डव्य ऋषिको योगदानलाई जनमासमा पुर्‍याउन र बैदिक परम्परागत कला संस्कृति जोगाउन रथयात्रा कार्यक्रम गत वर्ष देखी शुरु गरिएको हो । मन्दिर स्थापना भएको ३ सय ७७ वर्ष पुरा भएको अवसरमा पहिलो पटक रथयात्रा निकालिएको थियो ।

छ हजार वर्ष अगाडि माण्डव्य ऋषिले तपस्या गरेको तपोभूमि भएकाले यसको धार्मिक तथा ऐतिहासिक महत्व रहेको पूर्व मन्त्री तथा स्थानीय सोमप्रसाद पाण्डेले बताए । यसको संरक्षणमा स्थानीय, प्रदेश, संघीय सरकारले ध्यानदिनुपर्नेमा उनले जोड दिए । ऋषि कै नामबाट नामाकरण गरिएको माडीफाँटको किनार दमकडामा मन्दिर स्थापना गरिएको छ । तपस्या र साधनायुक्त ठानिने माण्डव्य ऋषिको यहाँ मन्दिर स्थापना गरिएको स्थानीय पत्रकार प्रकाश नेपालले बताए । धार्मिक शास्त्रमा ऋषिको व्यख्या अनुरुप महत्व र महिमा ठूलो भए पनि प्रचार–प्रसारको कमीले गर्दा ओझेलमा परेको उनको भनाई छ । माण्डव्य ऋषिको मात्र नभई माण्डव्य तपोभूमीको प्रचार–प्रसार गर्ने उद्देश्यले  रथ यात्राको निकालिएको वडा अध्यक्ष राजेश कुमार अर्यालले बताए । उनले भने ‘आगामी दिनमा समेत रथयात्रालाई निरन्तरता दिने छौं धार्मिक, सांस्कृतिक संरक्षणमा हाम्रो चासो रहने छ ।’ माण्डव्य सरोवरको विकास गरी धार्मिक पर्यटनलाई प्रर्वद्धन गर्ने दिशामा स्थानीय सरकार लाग्ने वडा अध्यक्ष अर्यालले बताए ।

पद्य पुराणमा उल्लेख भए अनुरुप माडीफाँट आसपासदेखि सत्यवतीसम्म माण्डव्य ऋषिको प्रसंग जोडिने गर्दछ । माण्डव्य ऋषिले साधनाको क्षेत्रमा मात्र नभई आर्युर्वेदीक चिकित्सा क्षेत्रमा समेत उत्तिकै दख्खल राखेको पाइन्छ । माण्डव्य ऋषिको नेपाल सरकारले केही समय अगाडि हुलाक टिकट प्रकाशनमा ल्याएको थियो । यसको महत्व र महिमा धेरै भए पनि प्रचार–प्रसारको कमीले गर्दा ओझेलमा परेको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update