Shittalpati
योजनामा बेथिति: व्यर्थमै ३८ लाख बजेटमा ह्युम पाइप विछ्याउँदै

भरत शर्मा/रामचन्द्र रायमाझी
पाल्पा, जिल्लाको तानसेन नगरपालिका–६ लहरेपिपलस्थित सडकमा ह्युम पाइप विछ्याउने काम भइरहेको छ । संघीय सरकारको योजना अन्तर्गत त्रिभुुवन बहुुमुखी क्याम्पस नजिकै रहेको मुख्य सडकको ९० मिटर लम्बाईमा ह्युम पाइप विछ्याउन लागिएको हो ।

करिब ३८ लाखको लागतमा सडकको बिच भागमा जेठ ४ गतेदेखि सडक नै बन्द गरेर पाइप विछ्याउने काम धमाधम भइरहेको छ । यद्यपी ढललाई व्यवस्थापन गर्न पाइप राख्न लागिएको भनिए पनि उक्त ठाउँ कुनै पनि हिसावले उपयुक्त देखिदैन । जहाँ पाइप विछ्याउन थालिएको हो उक्त क्षेत्रमा ३/४ घर छन् । त्यहाँ यस अघि नै ढलको व्यवस्थापन गरिएका थियो । आवश्यकता नै नभएको ठाउँमा जथाभवी संघीय योजना खर्चेको भन्दै स्थानीय नै असन्तुष्ट बनेका छन् । उक्त ठाउँमा केही व्यक्तिको स्वार्थका कारण केन्द्रीय बजेट परेको स्रोतले जनाएको छ । केन्द्रमा पहुँज भएका व्यक्तिले आफ्नो स्वार्थका लागि उक्त ठाउँमा ह्युम पाइप राख्न बजेट पारे पनि अन्ततः उनैले चाहे अनुसारको ठाउँसम्म ह्युम पाइप नपुग्ने निश्चित भएको छ । 

ठेक्का सम्झौता अनुसार ९० मिटर सडकमा मात्र पाइप विछ्याउने भनिएकाले ति व्यक्तिले चाहेको ठाउँसम्म नै नपुग्ने भएको हो । उक्त योजनाले नत त्यहाँका स्थानीयलाई समेटन सक्यो न त लक्षित व्यक्तिको चाहान नै पुरा हुने भयो । जसले गर्दा उक्त योजनामा व्यर्थमै बजेट खर्च हुने भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना अन्तर्गत  सिभिल कन्ट्रक्सन प्रालि विदुर नुवाकोटले निर्माण कार्यको जिम्मा पाएको छ ।  उसले ९० मिटर लम्बाईको ह्युम पाइप राखि ढलान गर्नका लागि ३७ लाख ९१ हजार ५ सय ८१ भ्याट (बाहेक) लागतमा काम गरिरहेको हो । पाइप विछ्याइ ढलान गर्ने मात्र स्टमेट भएकाले यसको निकासको काम आफुहरुले नगर्ने निर्माण व्यवसायी सचिन्द्र लामिछाने बताए । ढल व्यवस्थापनको काम स्थानीय सरकारले नै गर्न सक्ने भए पनि समस्याको पहिचान नै नगरी व्यर्थमै केन्द्रीय योजना ल्याएर जनतालाई अनावश्यक दुख दिने काम भएको स्थानीयको आरोप छ । तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले भने यस विषयमा आफुलाई केही जानकारी नभएको बताए । उनले भने ‘केन्द्रीय योजना भएकाले यस विषयमा मैले केही भनिन्, हामीसँग योजना बाहेक बाँकी काम गर्न यसवर्ष बजेट नभएकाले यस्ता काम गर्न सकिएको छैन ।’ सम्झौता अनुसार उक्त काम आषाढ १६ गतेसम्म सक्ने गरी निर्माण कार्य अगाडि बढे पनि त्यसको औचित्यको बारेमा स्थानीयले आपत्ति जनाएका छन् । उनीहरुले आवश्यकता नै नभएको ठाउँमा अनावश्यक बजेट खर्च गरेको बताएका छन् । उक्त पाइप विछ्याउनको लागि भन्दै जेठ २० सम्म सडक बन्द गराएर सर्वसाधारणलाई व्यर्थमै दुःख दिएको स्थानीय रामलाल श्रेष्ठले बताए । 

सडक भत्काएर बिचबाटै ह्युम पाइप राख्ने काम भएकाले दैनिक सयौं यात्रुहरु समस्यामा पर्ने गरेका छन् । आर्थिक वर्षको अन्तमा बजेट सक्नकै लागि गरिएको कामले यात्रुले सास्ती खेप्नु परेको छ । यही सडक हुँदै तानसेन, गुल्मी, अर्घाखाँची, बाग्लुङ जाने सयौं सवारी साधन  प्रभावित बनेका छन् । स्कूल बस, खानेपानीको ट्याङकर र फोहर फाल्ने जस्ता अत्यावश्यकका सवारी साधनहरु समेत समस्यामा परेको स्थानीय शोभाकर ढुङगनाले बताए । आफ्नो घर अगाडि माटोको थुप्रो राखेका कारण काम नै बन्द गर्नु परेको ग्यारेज सञ्चालन गर्दै आएका अनिल खातिले बताए । उनले भने ‘जथाभावी रुपमा भएको निर्माणले काम नै बन्द हुँदा सयौं मजदुरको रोजीरोटीमा असर परेको छ ।’

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update