Shittalpati
नेपाल रेडक्रस : मूल्यमान्यता कायम राख

नेपाल रेडक्रस : मूल्यमान्यता कायम राखमानवीय कल्याणको पवित्र उद्देश्यले नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको हो । मानवता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, ऐच्छिक सेवा एकता र विश्वव्यापकता जस्ता मुख्य सात सिद्धान्तमा अडिग यो पवित्र संस्था हाल विश्वका १ सय ८५ भन्दा बढी मुलुकमा क्रियाशील छ । प्राकृतिक विपद्लगायतका आपत्कालीन अवस्थामा मानवीय सहायताका लागि रेडक्रसले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । मानवलाई पर्न आउने पीडाको रोकथाम, दैवी प्रकोप, महामारी लगायतबाट पीडितहरुलाई सहयोग पुर्‍याउँदै सेवा कार्यहरु सञ्चालन गर्न आवश्यक आर्थिक, भौतिक, विशेषज्ञहरुको सल्लाह र सहयोगको व्यवस्था रेडक्रसले गरेको छ । तर पछिल्लो समय नेतृत्व विवाद, आर्थिक अनियमितता, राजनीतिक हस्तक्षेपजस्ता समस्यामा रेडक्रस गुज्रिँएको छ । विशुद्ध मानवीय सेवाको उद्देश्य बोकेको यस्तो संस्था राजनीतिक हस्तक्षेप र स्वार्थ समूहले वैधानिकतामै प्रश्न गर्नुपर्ने अवस्था आउनु दुःखद हो ।  

पवित्र संस्थामा अपवित्रता घुस्नुु भनेको रेडक्रसले दातृ निकाय गुमाउनुु पनि हो । यो संस्था दातृ निकायबाटै चलेको छ । तर संस्थामै अविश्वासको खाडल खनिनुुले सहयोग समेत बन्द हुने अवस्था सिर्जना भएको छ । पछिल्लो समय त केन्द्रमा कार्यरत कर्मचारीलाई तलब नै खुवाउन नसक्ने अवस्थामा रेडक्रस पुगेका समाचारहरु पनि नआएका हैनन् । यस्ता विषयले समग्रमा मुलुककै अन्तर्राष्ट्रिय छविमा असर पु¥याएको छ । यद्यपी रेडक्रस अभियानले मानवीय कल्याणका गतिविधिलाई मात्र नियाल्ने हो भने पनि अहिलेको तनावग्रस्त विश्वमा रेडक्रसको अपरिहार्यता र आवश्यकतालाई बुझ्न सकिन्छ । नेपाल लगायत विश्वका विभिन्न भागका सशस्त्र संघर्षबाट पीडितहरुलाई आइसीआरसीले पु¥याएको मानवीय सहायता विश्वकासामु छर्लङ्ग छ । रेडक्रस र स्वयंसेवकले प्रदान गर्ने अत्यावश्य मानवीय सहायता नै रेडक्रसकर्मीहरुको अमूल्य सम्पत्ति हो । संस्थालाई राजनीतिक प्रभावबाट मुक्त गरी मूल्यमान्यताभन्दा बाहिर नेपाल रेडक्रस जानु हुँदैन । यसर्थ रेडक्रसलाई अन्तर्राष्ट्रिय रेडक्रसको मूल्यमान्यताअनुरूप चल्ने संस्थाका रूपमा उभ्याउन तत्काल रेडक्रसकर्मीहरुले अग्रसरता लिनै पर्छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update