Shittalpati
मातृशक्तिप्रति सधैँ सम्मान गरौं

आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरेर बुधबार मातार्थि औसी मनाइएको छ । मातातिर्थ औसीलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औंशीका दिन मनाइने गरिन्छ ।

आमाको उज्यालो मुहार एक दिन मात्र हैन सधैँ देख्न र हेर्न सक्नेहरू साँच्चै भाग्यमानी हुन् । तर थोरैलाई मात्र यस्तो मौका जुर्छ । कतिले यस्तो अवसरको जानीजानी बेवास्ता गर्छन् । मानिस आखिर मानिस त हो । बाबुआमाको मन छोराछोरीमाथि छोराछोरीको मन ढुङ्गामुढामाथि भन्ने उखान पनि हाम्रो सन्दर्भमा जीवितै नभएको होइन । तथापि सन्तानका लागि आमा माया, ममता, करुणा र स्नेहकी प्रतिमूर्ति हुन् । आमाले अनेक दुःख कष्ट बेहोर्दै नौ महिना शिशुलाई गर्भमा राखेर माया, ममता र संस्कारले सिँचन गर्छिन्, कठोर प्रसवपीडा सहेर सन्तानलाई जन्म दिन्छिन्, आफूले खाइनखाई सन्तानको पालनपोषण गर्छिन्, आफ्नो ज्यानको पर्वाह नगरी सन्तानको सुरक्षा गर्छिन् । यही कारण आमाको यति महत्व भएको हो । मातातिर्थ औंशीका दिन श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी तिनै आमालाई मनपर्ने खानेकुरा तथा उपहार दिई छोराछोरीहरूले आमाबाट शुभ आर्शिवाद ग्रहण गर्ने चलन छ । आमाप्रति विशेष भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई मातातीर्थ औंसी भन्ने गरिको हो । आमाबाट टाढा रहेका सन्तानहरू आमालाई भेट्न पुग्छन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरूले भने सञ्चारका साधन र सामाजिक सञ्जालमार्फत सम्झने गर्छन् भने आमा नभएकाहरूले पनि आमाको आत्माको शान्तिको कामना गर्दै श्राद्ध–तर्पण गरी मातृत्वको स्मरण गर्छन् । यसलाई केही हदसम्म सकारात्मक रुपमा लिन सकिन्छ । तर वर्षको एक पटक मात्र आमालाई सामाजिक सञ्जालका भित्ताहरूमा मात्रै सजाएर आमा सम्झिने प्रवृत्तिको विकासलाई भने सकारात्मक मान्न सकिदैन । हिजोआज बढ्दो पश्चिमीकरण र तिनका मूल्य–मान्यता अँगाल्ने होडमा धेरै आमाहरू अवहेलनामा परिरहेका छन् । आफू सक्षम नबनुञ्जेल काखमा लुटपुटिने र सक्षम बनिसकेपछि तिनै आमालाई साहारा विहीन बनाउने सन्तानहरू अहिले बढिरहेका छन् । यो अत्यन्त दुःखको कुरा हो ।

वास्तवमा हामीले वर्षमा एक दिन मात्र होइन, हरेक दिन आमाको सम्मान गर्नु पर्छ । जति सकिन्छ उहाँलाई समय दिनु पर्छ । तसर्थ परिवारलाई खुसी राख्ने, सन्तानलाई सत्कर्म सिकाउने ममताकी खानी आमालाई हामीले सधैं सम्मान र माया गरौं । 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update