Shittalpati
आज विश्व हाँसो दिवस: नहाँस्ने भन्दा हाँस्ने मान्छे बढी दीर्घायु

पाल्पा, आज विश्व हाँसो दिवस मनाइँदै छ । हरेक वर्षको मे महिनाको पहिलो आइतबार यो दिवस मनाइन्छ । हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन १९९८ देखि यो दिवस मनाउन थालिएको हो ।

अहिले यो दिवस  नेपाल सहित विश्वव्यापी रुपमा मनाइन्छ । हाँसोमा आधारित योगा अभियान ‘वल्र्डवाइड लाफ्टर योगा मूभमेन्ट’ चलाइरहेका मुम्बईका चिकित्सक डा. मदन कटारियाको पहलमा दिवस मनाउन  थालिएको हो । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन हाँसोले प्रोत्साहित गर्दछ । हाँसोले व्यक्तिको व्यक्तित्वलाई आकर्षकसँगै सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गर्छ । यसले स्वास्थ्यलाई समेत महत्वपूर्ण फाइदा गर्छ । मानिस सामाजिक प्राणी भएकाले सधैँ समाजमा बस्न रुचाउँछ । सही सम्बन्धको अभावमा थुप्रै खालका मानसिक विकारको अवस्थामा पुग्ने अवस्था हुन्छ । त्यस्तो अवस्थामा हाँस्दा वा खुुसी हुँदा सामाजिक सम्बन्ध र सहयोगमा वृद्धि गर्छ । जब सामाजिक सहयोग बढ्छ त्यहाँ सम्बन्धहरू सुन्छिन् । तब व्यक्तिको तनाब कम हुन्छ, तनाब कम भएपछि सुखी बढ्छ र आनन्द बढ्छ । आनन्द बढ्नु भनेको नै मानसिक स्वास्थ्य स्वस्थ हुनु हो । हाँसोले आत्मविश्वास बढाउँछ । हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ । हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्धत गर्नुका साथै प्रतिरोधी क्षमतामा वृद्धि गर्न पनि सहयोग पुर्‍याउँछ । यसले तनावका हार्मोनलाई घटाई स्वस्थ रहने रसायन बढाउनुको साथै मुटुको रक्षा पनि  गर्छ । दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले ४० क्यालोरीसम्म घटाउन सकिन्छ । यसको अर्थ वर्षभरि निरन्तरता दिने हो भने तीनदेखि ४ पाउण्डसम्म तौल घट्ने मनोविद्हरु बताउँछन्  । हाँस्ने बानीले विना तनाव कुनै पनि प्रकारका अप्ठेरोसँग जुध्ने क्षमतामा वृद्धि गर्छ । जो मानिसमा हाँसोको भावना हुन्छ, ऊ नहाँस्ने मानिसभन्दा बढी समयसम्म बाच्ने गरेको विभिन्न अध्ययनहरुले समेत देखाएका छन् । कतिपय व्यक्तिलाई मुस्कुराउन नै नसक्ने समस्या हुने गरेको पाइन्छ । यस्तो अवस्थामा मुस्कुराउने अभ्यास गर्नुपर्ने मनोविद्हरुको सुझाव छ । उनीहरुले हाँसो नउठे पनि जबर्जस्ती भए पनि मांशपेशी तन्काउनुपर्ने बताउँछन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update