Shittalpati
बढ्दो तापमानको असर

केही दिनयता लुम्बिनी प्रदेशसहित देशभरका अधिकांश क्षेत्रमा तापक्रम वृद्धि हुँदा गर्मी बढेको छ । विशेषगरी लुम्बिनी प्रदेशका तराईका केही जिल्लाहरुमा तापक्रमले सीमा नाघेको छ । ती स्थानहरुमा अहिले ४० डिग्री सेल्सियस तापक्रम पुगेको छ । उच्चरुपमा वृद्धि हुँदै गएको तापमानले ‘लू’को खतरालाई समेत बढाउन पुगेको देखिन्छ । यसवर्षको उच्च तापमान भने ४३.६ डिग्री सेल्सियससमेत पुगेको छ, जुन बैशाख ८ गते भैरहवामा मापन भएको थियो । अबका दिनमा त्यसकै हाराहारी र अझ त्योभन्दा पनि बढी तापमानको जोखिम रहन सक्ने औँल्याइएको छ, जुन स्वास्थ्यका लागिसमेत निकै घातक हुन सक्छ । तापक्रम ४० डिग्री नाघ्नु भनेको धेरै हो । यो थ्रेसहोल्ड नाघ्यो भने मानिसलाई धेरै नै असर गर्छ । तापक्रम बढ्दै जाँदा शरीरलाई समेत असर गर्ने हुँदा स्वास्थ्यलाई ख्याल गर्नु आवश्यक छ । धेरै गर्मी हुँदा थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने भएकाले बेलैमा सचेत हुन अपरिहार्य छ । 

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउनु पर्ने चिकित्सकहरुको सुझाव छ । अर्कोतर्फ तातो हावा लगातारजसो चलिरहँदा आगलागी तथा हावाहुरीको खतरा अत्यधिक रहन्छ, जुन पछिल्लो केही दिनयता देखिँदै पनि आएको छ । अहिले निरन्तररुपमा तातो हावा चल्ने र वायु प्रदूषणको मात्रासमेत उच्च रहने अवस्था देखापरेको छ । मौसम परिवर्तनको समेत प्रभाव यस्तो समयमा प्रत्यक्ष देखिने हुनाले त्यसका लागि तयारीको अवस्थासमेत मजबुत हुन आवश्यक छ । कुनै पनि हेलचेक्र्याइँले ज्यान नै जान सक्ने खतरासमेत विद्यमान रहेको हुँदा आवश्यक तयारीस्वरुप उच्च सावधानी अपनाउन जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update