Shittalpati
ग्वाघा स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा प्रारम्भ

गुल्मी, जिल्लाको चन्द्रकोट गाउँपालिका–५ मा ग्वाघा स्वास्थ्य चौकीमा प्रयोगशाला (ल्याव) सेवा एक कार्यक्रमका बीच प्रारम्भ भएको छ । ग्वाघा स्वास्थ्य चौकी पश्चात गाउँपालिकामा ल्याव सेवा सञ्चालन भएका वडाहरुको संख्या पाँच पुगेको हो । 

पालिकाको शान्तिपुर स्वास्थ्य चौकी, तुराङ्ग स्वास्थ्य चौकी मजुवा, विशुखर्क स्वास्थ्य चौकीमा सञ्चालन भएको ल्याव सेवा गत आर्थिक वर्षमा वडा १ को दिब्रुङ्ग स्वास्थ्य चौकीमा स्थापना गरिएको थियो । चालू आव २०८०/८१ को बजेट कार्यक्रम अन्तर्गत वडा ५ को वडागत बजेट सिलिङ्गबाट रु ५ लाख बजेट विनियोजन गरी स्थापना गरिएको स्वास्थ्य प्रयोगशाला ल्यावमा गाउँपालिकाले ल्याव असिस्टेन्टको करार नियुक्ति गरी सेवा सञ्चालनमा ल्याएको हो । 

कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीले ल्याव सेवाको उद्घाटन गरेका हुन् । नागरिकहरुको सहज गुणस्तरीय स्वास्थ्यमा पहुँचको सुनिश्चितता गर्न गाउँपालिका सधैँ लागिपरेको र छिट्टै पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणाको तयारीमा रहेको र पालिकालाई शून्य होम डेलिभरी घोषणा गर्न तयारी भइरहेको समेत पालिका अध्यक्ष क्षत्रीले जानकारी दिए ।

स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष पृथबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रकाशचन्द्र शर्मा, वडा ७ का वडाध्यक्ष अनन्तराम भण्डारी लगायतका अतिथिहरुको सहभागिता रहेको थियो । स्वास्थ्य चौकीबाट वडा भित्रका मात्र नभएर कालिगण्डकी र सत्यवतीका नागरिकहरुले समेत सेवा लिन सक्ने निवर्तमान वडाध्यक्ष टेकबहादुर पुन बताए । स्थास्थ्य चौकी स्थापना भएसँगै  स्थानीयवासीहरु खुशी छाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update