Shittalpati
विश्व कला दिवसको सन्दर्भ

विश्व कला दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । कला र संस्कृतिको प्रवद्र्धन गर्न हरेक वर्ष १५ अप्रिलमा विश्व कला दिवस मनाउने गरिन्छ । यस दिन सर्वसाधारणमा विभिन्न कलाका बारेमा चेतना जगाउने काम पनि गरिन्छ । पहिलो पटक, विश्व कला दिवस १५ अप्रिल २०१२ मा मनाइएको थियो । त्यस यता हरेक वर्ष यो दिवस मनाइँदै आइएको छ । पहिले नेपालमा धार्मिक र सांस्कृतिक मान्यताअनुसार जात्रा र पर्व मात्रै मनाउने चलन थियो । हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवस मनाउने परम्पराले प्रधानता पाइरहेको छ । राजनीति तथा भाषा साहित्यका अग्रणी व्यक्तित्वहरूको जयन्ती पनि धुमधामले मनाइन्छ तर विडम्बना, कलासंस्कृतिको प्रचार–प्रसार संवद्र्धनका पक्षमा ठूलो योगदान गर्ने कलासाधकलाई सम्झने संस्कृति विकास भएको छैन ।         

सदियौंदेखिका ललितकला विधाका स्रष्टाहरूबारे अध्ययन अनुसन्धान समेत भएको देखिदैन । जसका कारण कला संस्कृति नै हराउँदै जान थालेका छन् । यो अत्यन्त दुःखको कुरा हो । वास्तवमा चित्रकला हुन् वा मूर्तिकला नयाँ पुस्तामाझ जीवित राख्न सक्ने माध्यम हुन् । नेपालको ऐतिहासिकतासँगै बदलिँदो सांस्कृतिक परिवर्तन देखाउने थलो पनि चित्रकला र मूर्तिकला नै हो । ति कला नेपाली समाजलाई आमजनमानसमा परिचित गर्नेमात्र होइन अन्तर्राष्ट्रिय समुदायमाझ चिनिने सशक्त माध्यम पनि हुन् । यस्ता चित्रकला र मूर्तिकला प्रस्फुटन गर्ने कलाकारहरुको आकर्षण दिनप्रतिदिन बढिरहेकै छ । तर उनीहरुले निर्माण गरेका कलाका धरोहर जोगाउन भने मुस्किल बनेको छ । यतिसम्म कि कलाकारका बारेमा कसैले जान्न खोजे, कति मूर्तिकार र चित्रकारहरु नेपालमा छन् भन्ने बारेमा सरकारसँग तथ्यांक समेत छैन । ऐतिहासिक कला र ति कलाकारहरुको संरक्षण गर्ने दिशामा सरकारले ध्यान दिनुपर्छ । यसो भयो भने मात्र हरेक वर्ष कला दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ । अन्यथा दिवस औपचारिकतामै सिमित बन्ने निश्चित छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update